शासन परिवर्तनको लागि युद्ध होइन ,चेतावनी र विश्व सुरक्षित बनाउन गरिएको साहसी कदम हो : ट्रम्प प्रशासन

इनेप्लिज २०८२ असार ८ गते १४:५३ मा प्रकाशित

इरानी आणविक संरचनामाथिको अमेरिकी हवाई आक्रमण “शासन परिवर्तनको लागि होइन” भन्दै रक्षा सचिव पेट हेकसेथले स्पष्ट परेका छन् ।

शनिबार राति गरिएको “मिडनाइट ह्यामर” अर्थात् मध्यरात आक्रमण अभियान नामक सैन्य कारवाहीबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हेकसेथले आक्रमणको दायरा जानीजानी सीमित राखिएको र अमेरिकाले तनाव बढाउने कुनै इच्छा नराखेको बताए।

उपराष्ट्रपति जेडी भान्सले पनि एनबीसीको ‘मीट द प्रेस’ नामक पत्रकार कार्यक्रममा हेकसेथको भनाइ दोहोर्‍याउँदै भने, “हामी इरानसँग होइन, इरानको आणविक कार्यक्रमसँग युद्ध गरिरहेका छौं।”

फक्स न्यूजका ब्रेट बाएरले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट प्राप्त विवरण प्रस्तुत गर्दै भने, “यो आक्रमण अत्यन्त सटीक र सन्देशमूलक थियो।” उनका अनुसार अमेरिकी सेनाले पानीमुनिबाट प्रक्षेपित क्षेप्यास्त्र र विमानबाट खसालिएका बमसहित कुल ७५ प्रहार गरेको थियो।

बाएरले थपे, “सन्देश स्पष्ट छ — इरानको सैन्य क्षमता तुलनात्मक रूपमा कमजोर छ, र यदि उसले प्रतिघात गर्ने प्रयास गर्छ भने परिणाम गम्भीर हुनेछ।”

यसबीच, इजरायली संयुक्त राष्ट्रसंघका राजदूत डेनी ड्यानोनले भने, “दशकौसम्म अन्तर्राष्ट्रिय नियमलाई बेवास्ता गर्दै आएको इरान अहिले उल्टो दोष थोपर्न खोज्दैछ। अमेरिकाले संसारलाई सुरक्षित बनाउन साहसिक कदम चालेकोमा विश्वले आभार प्रकट गर्नुपर्छ।” यद्यपि, चीन र रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अमेरिका र इजरायलको आलोचना गर्दै प्रस्ताव पेश गरिसकेका छन्।

उपराष्ट्रपति भान्सले राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षासम्बन्धी टोलीको खुलेर प्रशंसा गर्दै भने, “शनिबार रातिको कारवाही अमेरिकी सेनाको तयारी र क्षमता प्रमाणित गर्ने अद्वितीय उदाहरण हो।”

*यो अभियानले अमेरिका केवल युद्धको पक्षमा छैन भन्ने मात्र होइन, यदि आवश्यक परेमा निर्णायक कदम चाल्न सक्ने राष्ट्र पनि हो भन्ने देखाएको छ।

प्रतिक्रिया