युद्धको ज्वाला फैलाउन चाहदैन इरान, तर इजरायलको हमलाको ‘उचित’ जवाफ दिने राष्ट्रपति पेजेस्कियनको घोषणा

इनेप्लिज २०८२ असार २ गते १८:४० मा प्रकाशित

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले सोमबार आफ्नो देश इजरायलसँग ‘युद्धको घेरा विस्तार गर्न’ नचाहेको तर कुनै पनि आक्रमणको ‘उचित’ जवाफ दिने बताएका छन्।

इरानको सरकारी समाचार निकायका अनुसार, राष्ट्रपति पेजेस्कियनले सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगको दूरवार्ताका क्रममा उक्त टिप्पणी गरेका हुन्।

राष्ट्रपति पेजेस्कियनले इजरायली ‘आक्रामकता’ले इरानमा नागरिक, वैज्ञानिक र सैन्य नेताहरूको ज्यान लिएको बताए। 

उनले जोड दिए, “इरानले यो युद्ध सुरु गरेको होइन, तर उसले आक्रमणको स्तर अनुसार जवाफ दिनेछ।”

उनले संयुक्त राज्य अमेरिकासँगको आणविक वार्तामा इरानको सहभागिता ‘क्षेत्रीय देशहरूमाथि यहुदी शासनको हमला रोकिने कुरामा मात्र निर्भर गर्दछ’ भनी पनि स्पष्ट पारे।

टर्कीको सरकारी समाचार निकायका अनुसार एर्दोगानले पेजेस्कियनलाई टर्की द्वन्द्व कम गर्न र आणविक वार्तामा फर्कन सहयोग गर्न ‘सहजकर्ताको भूमिका खेल्न’ तयार रहेको बताएका छन्।

इरान र इजरायलबीचको तनाव पछिल्लो समयमा निकै बढेको छ। दुई देशले एकअर्का विरुद्ध विभिन्न आरोप–प्रत्यारोप लगाउँदै आएका छन्। 

प्रतिक्रिया