कांग्रेस महाधिवेशन पहिले देश दौडाहामा नेतृ डिला सङ्ग्रौला

इनेप्लिज २०८२ असार २ गते ९:५६ मा प्रकाशित

लमजुङ – विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिर भित्र हुनुपर्छ । तर, विधानमै भएको १ वर्ष थप गर्ने व्यवस्थाले यो मितिमा महाधिवेशन नहुने पक्का भए पनि पार्टीका नेताहरूले आन्तरिक तयारी भने सुरु गरिसकेका छन् । महाधिवेशन २०८३ मङ्सिर भित्र गराउन शीर्ष नेताहरू तयार रहेको बुझिएको छ । यस क्रममा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्त पछिल्लो समय पार्टीको १५औँ महाधिवेशनको तयारी सुरु भएको बताउँछिन् । अहिले नै कुन पदमा महाधिवेशनमा प्रतिस्पर्धा गर्ने छिनोफानो नभए पनि जिल्ला जिल्ला पुगेर आफ्नो माहौल बनाउन उनी सक्रिय रहेकी छन् ।

देशभरका विभिन्न जिल्लामा सङ्गठन सुदृढीकरण र महाधिवेशनको तयारीलाई तीव्रता दिन कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी अध्यक्ष समेत रहेकी साथीहरूसँगै भ्रमणलाई निरन्तरता दिएकी छन् । पछिल्लो समय विशेष गरी गण्डकी प्रदेशका मनाङ, लमजुङ, गोर्खा लगायतका जिल्लाहरूमा पुगेर स्थानीय कांग्रेस कार्यकर्ताहरूसँग छलफल र अन्तरक्रिया गरेकी उनले आफ्नो यात्रा केवल महाधिवेशनको तयारीमा मात्र नभई नेपाली कांग्रेसको वैचारिक दिशा र सङ्गठनात्मक गतिशीलतामा नयाँ ऊर्जा भर्ने प्रयासको रूपमा बुझ्न आग्रह गरिन् ।

गण्डकी प्रदेशको भौगोलिक र सांस्कृतिक विविधताले नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन विशेष भूमिका खेल्छ । सङ्ग्रौलाले हालै कांग्रेस नेता तथा पूर्व मन्त्री एन पी साउद, गोविन्द बहादुर शाह, अब्दुल सतार तथा चम्पा खड्का सहित मनाङ, लमजुङ, गोर्खा र धादिङ जिल्लाहरूमा पुगेर स्थानीय नेताहरू, कार्यकर्ताहरू र समुदायसँग अन्तरक्रिया गरिन् । यी क्षेत्रहरूमा उनले महाधिवेशनको तयारी, सङ्गठन विस्तार र स्थानीय मुद्दाहरूमा केन्द्रित भई विभिन्न कार्यक्रममा सहभागिता जनाइन् ।

नेपालको दुर्गम हिमाली जिल्ला मनाङमा उनले स्थानीय कार्यकर्ताहरूसँग भेटघाट गरी सङ्गठनको अवस्थाबारे छलफल गरिन् । उनले मनाङको पर्यटन, जलवायु परिवर्तन र स्थानीय विकासका मुद्दाहरूलाई सम्बोधन गर्दै कांग्रेसको नीतिलाई स्थानीय स्तरमा प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरेकी थिइन् ।

लमजुङ नेपाली कांग्रेसको बलियो आधार क्षेत्र मानिन्छ। यहाँ उनले पार्टीको आगामी महाधिवेशनलाई लिएर कार्यकर्ताहरूसँग गहन छलफल गरिन् । उनले विशेष गरी युवा र महिला कार्यकर्ताहरूलाई सङ्गठनमा सक्रिय बनाउन जोड दिइन् । उनले भनिन्, ‘पार्टीको भविष्य युवा र महिलाको काँधमा छ । हामीले उनीहरूलाई नेतृत्वमा ल्याउनुपर्छ, ताकि कांग्रेसले नयाँ पुस्ताको आकाङ्क्षा पूरा गर्न सकियोस् ।’

उनको भ्रमणको मुख्य उद्देश्य मध्ये एक हो—स्थानीय स्तरमा कार्यकर्ताहरूको मनोबल बढाउनु र उनीहरूलाई महाधिवेशनको महत्त्वबारे सचेत गराउनु । गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा उनले पार्टीको सैद्धान्तिक आधार, लोकतान्त्रिक समाजवाद र समावेशी नेतृत्वको आवश्यकताबारे जोड दिइन् । उनले भनिन्, ‘हाम्रो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन, यो पार्टीको वैचारिक र सङ्गठनात्मक पुनर्जीवनको अवसर पनि हो ।’

डा. सङ्ग्रौलाले आफ्नो भ्रमणका क्रममा स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिइन् । मनाङमा उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र पर्यटन विकासको सम्भावनाबारे छलफल गरिन् । लमजुङ र गोर्खामा उनले कृषि, साना उद्यम र बेरोजगारीका मुद्दालाई उठाइन् । यी मुद्दाहरूलाई सम्बोधन गर्न कांग्रेसले स्थानीय स्तरमा प्रभावकारी नीति बनाउनुपर्ने उनको जोड छ ।

गण्डकी भ्रमणका क्रममा उनले महिला र दलित समुदायका कार्यकर्ताहरूसँग विशेष छलफल गरिन् । उनले पार्टीको नेतृत्वमा महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्ने मागलाई पुनः दोहोर्‍याइन् । यो उनको पुरानो अडान हो, जसलाई उनले १४औँ महाधिवेशनको समयमा पनि जोडदार रूपमा उठाएकी थिइन् ।

उनले पार्टीमा सिद्धान्त, सङ्गठन र नेतृत्वबिच तालमेलको अभावले सङ्गठन कमजोर भएको तर्क गर्दै भनिन् ‘नेतृत्वले नीति र सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ। हामीले केवल सत्ताको खेलमा मात्र ध्यान दिनु हुँदैन, बरु जनताको विश्वास जित्ने नीति र नेतृत्व निर्माण गर्नुपर्छ ।’ उनको यो भनाइले कार्यकर्ताहरू उत्साहित भएको स्थानीय नेताले बताएका छन् ।

सङ्ग्रौलाले साथीहरूसहित अन्य प्रदेशमा पनि आफ्नो अभियान जारी रहने बताएकी छन्।

प्रतिक्रिया