अमेरिकी विदेश सचिव रुबियोको घोषणा: चिनियाँ विद्यार्थीहरूका प्रवेशाज्ञा (भिसा )रद्द गर्ने तयारी, थप जाँच कडाई गरिने

इनेप्लिज २०८२ जेठ १६ गते १:५८ मा प्रकाशित

अमेरिकी विदेश सचिव मार्को रुबियोले चिनियाँ विद्यार्थीहरूमाथि कठोर कदम चाल्दै उनीहरूको प्रवेशाज्ञा (भिसा)“आक्रामक रूपमा रद्द गरिने” घोषणा गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विदेशी विद्यार्थीहरूमाथि जारी निगरानीलाई अझ कडा बनाउने नीति अनुरूप यो कदम चालिएको हो।

रुबियोले उक्त घोषणा एक्समा प्रकाशित (पोस्ट) गर्दै र अमेरिकी विदेश बिभाग मन्त्रालयले बुधबार साँझ जारी गरेको ” अमेरिकाको प्राथमिकता अमेरिकामै, चीनलाई होइन – नयाँ प्रवेशाज्ञा नीति घोषणा” शीर्षकको विज्ञप्तिमा गरेका हुन्।

विदेश बिभागको विज्ञप्तिमा भनिएको छ : “राष्ट्रपति ट्रम्पको नेतृत्वमा, अमेरिकी विदेश बिभागले गृह सुरक्षा विभागसँग मिलेर चिनियाँ विद्यार्थीहरूका प्रवेशाज्ञा (भिसा )रद्द गर्नेछ — विशेषगरी चिनियाँ कम्युनिस्ट दलसँग सम्बन्धित वा संवेदनशील विषयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूका। साथै, चीन र हङकङबाट आउने भविष्यका सबै प्रवेशाज्ञा (भिसा) आवेदनमा थप कडा छानबिन गरिनेछ।”

चीन, भारतपछि अमेरिका आउने दोस्रो ठूलो अन्तर्राष्ट्रिय विद्यार्थी आपूर्ति गर्ने देश हो। २०२३-२४ शैक्षिक वर्षमा करिब २७०,००० चिनियाँ विद्यार्थीहरू अमेरिकामा अध्ययनरत थिए।

प्रतिक्रिया