अमेरिकाको कनेक्टिकटको बिशाल बजारमा गोलीकाण्ड: कम्तीमा ५ जना घाइते, एक संदिग्ध नियन्त्रणमा

इनेप्लिज २०८२ जेठ १५ गते ११:१५ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यको वाटरबरीस्थित ब्रास मिल सेन्टर मल अर्थात् बिशाल बजारमा मंगलबार साँझ भएको गोलीकाण्डमा कम्तीमा पाँच जना घाइते भएका छन्।

वाटरबरी प्रहरीका अनुसार घटना साँझ ४:४० बजे दुई व्यक्तिबीचको विवादबाट सुरु भएको थियो, जुन पछि हिंसात्मक झडपमा परिणत भयो। सिबिएसन्यूजका अनुसार एक व्यक्तिले गोली चलाएपछि बिशाल बजारमा आतंक मच्चियो । किनमेल गरिरहेका मानिसहरू भागेर पसलभित्र लुकेका थिए ।

घाइतेमध्ये सबै वयस्क हुन् र अस्पताल पुर्‍याइएको छ। प्रहरी प्रमुख फर्नान्डो स्पाग्नोलोले भने, “यो घटना जथाभावी नभएर आपसी विवादका कारण भएको हो।”

एकजना संदिग्ध प्रहरीको नियन्त्रणमा छन्, तर उनीमाथि हालसम्म मुद्दा चलाइएको छैन। प्रहरीका अनुसार हमलाकारीसँग अर्ध स्वचालित बन्दुक थियो । उनले सम्भावित साथीसँगै मिलेर हमला गरिएको हुनसक्ने आशंका गरिएको छ।

साक्षी जाभोन टर्नरले भने, “म जेसी पेनी नजिकै थिएँ, एक जना युवती गोली लागेर ढलेकी थिइन्, र धेरै रगत बगिरहेको थियो। म सबैलाई चिच्याएर सुरक्षित बाहिर जान भनें।”

घटनापछि प्रहरीले मलको प्रत्येक पसलमा गई डरले लुकेका नागरिकलाई सुरक्षित बाहिर ल्यायो। गभर्नर नेड लमोन्टले यसलाई “एक दुखद सामूहिक गोलीकाण्ड” भनी टिप्पणी गर्दै पीडितप्रति समवेदना प्रकट गरे।

हाल अनुसन्धान जारी छ भने एफबिआई र एटिएफले स्थानीय प्रहरीले सहयोग गरिरहेका छन्। वाटरवरी कनेक्टिकटको राजधानी हार्टफोर्डदेखि ३० माइल दक्षिण-पश्चिममा पर्छ।

प्रतिक्रिया