युक्रेनी राष्ट्रपति भोलोदिमिर ज़ेलेन्स्कीले सोमबार फेरि अमेरिकालाई रूसमाथि अझ कडा दबाब बनाउन आग्रह गरेका छन् । ३ वर्षदेखि जारी मस्कोको आक्रमण अन्त्य गर्न शान्ति वार्ता अघि बढ्न सकोस् भन्दै उनले उक्त आग्रह अमेरिकालाई गरेका हुन् ।
युद्धको बीचमा युक्रेन र रुस दुवैले व्यापक मानव रहित यान (ड्रोन )आक्रमण जारी राखेका छन्। युक्रेनका अनुसार पछिल्ला केही दिनमा रुसले ९०० भन्दा बढी मानव रहित यान (ड्रोन ) र क्षेप्यास्त्र (मिसाइल )प्रयोग गरिसकेको छ।
“यसमा कुनै सैन्य तर्क छैन, यो पुटिनको राजनीतिक निर्णय हो — युद्ध जारी राख्ने, मानवीय जीवन नष्ट गर्ने,” ज़ेलेन्स्कीले टेलिग्राममा लेखे।
उनले नयाँ र कडा प्रतिबन्धहरूको माग गर्दै भने, “संयुक्त राज्य अमेरिका, युरोप र सम्पूर्ण शान्तिकामी विश्वले कडा प्रतिबन्ध लगाउनु नै रूसलाई युद्ध रोक्न र सम्मान गर्न बाध्य पार्ने उपाय हो।”
ज़ेलेन्स्कीले पुटिनलाई “कूटनीतिक छलकपट गरिरहेको” आरोप लगाउँदै भने, “उनी केवल खेल खेलिरहेका छन्। अब यो व्यवहार बदलिनुपर्छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग युक्रेनको सम्बन्ध तनावपूर्ण भइरहँदा ज़ेलेन्स्कीले पुटिनलाई वार्तामा बाधकको रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। ट्रम्प आफैंले हालै पुटिनलाई “पूर्ण रूपमा पागल” भनेका थिए र ज़ेलेन्स्कीलाई पनि “समस्या सिर्जना गर्ने” आरोप लगाएका थिए।
युक्रेनले ३० दिनको युद्धविराम प्रस्ताव गरेको छ, तर मस्कोले यसलाई अस्वीकार गरिसकेको छ। पुटिनले ट्रम्पलाई दूरवाणी (फोन)गरेर वार्ताका लागि “स्मरणपत्र” तयार पारिरहेको बताएका थिए, तर ज़ेलेन्स्कीले शंका व्यक्त गर्दै भने, “उनीहरू वार्ताको कुरा गर्छन्, तर लगातार आक्रमण जारी राख्छन्।”
यसैबीच युक्रेनले रूसी ६० वटा मानव रहित यान (ड्रोन)मध्ये ४३ खसालेको दाबी गरेको छ भने, रुसले ९९ वटा युक्रेनी मानव रहित यान (ड्रोन )नष्ट गरेको बताएको छ।
प्रतिक्रिया