काठमाडौं, १३ जेठ । राजनीतिक विश्लेषक मुमाराम खनालले अहिलेको व्यवस्था गणतन्त्र राजावादीहरुले भन्दापनि गणतन्त्रवादीहरुले सिध्याउने काम गरिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘गणतन्त्र त राजावादीहरुले सध्याउनै परेन नि, आँफै अहिलेका दलहरुले सिध्याईरहेका छन् । कम्युनिष्टहरुको त सुरुवातको दिनदेखि नै यो व्यवस्थामाथिको आक्रामण हो । अब कांग्रेसले त झन बढि सक्काईराखेको छ । अनि किन राजावादी चाहियो त ? आँफै सक्काईसकेका छन् त ।’
हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले राजावादीहरुको कारण भने गणतन्त्र समाप्त नहुने दाबी गरे । उनले लोकतन्त्र र गणतन्त्रका हिमायतीहरु नै आज बदनाम भएको आरोप लगाए । उनले आज सम्पूर्ण राज्य तस्करहरुको ग्याङ्मा परिणत भएको पनि गम्भीर आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं नियन्त्रणमा लिन भनेर एमाले पँक्तिलाई दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
उनले भने,‘प्रधानमन्त्रीको कुर्सीबाट त्यति गैरजिम्मेवारीपूर्ण कुरा नेपालको प्रधानमन्त्रीले बोल्छ भन्ने कुरा कल्पनापनि गर्न नसकिने कुरा हो । केपी ओली चाहीँ प्रधानमन्त्री र एउटा नेता बन्न नालायक हो भन्ने कुरा त्यसैले प्रमाणित गर्छ । प्रधानमन्त्रीको कुर्सीमा आँफै छ, अनि आँफैले हिंसा र मुठभेडको लागि आह्वान गर्ने ? कसैले पनि आन्दोलन गर्छ भने त्यो आन्दोलनलाई डिल गर्ने हाम्रा निकायहरु छन् । प्रधानमन्त्रीले आँफैले बोलेर त्यसको प्रतिकार गर्नुपर्छ ?’भिडियो
प्रतिक्रिया