लुजियाना न्यू अर्लिन्स झ्यालखानाबाट भागेका १० कैदीमध्ये ३ थप पक्राउ, २ अझै फरार — प्रहरी र सुरक्षामा गम्भीर चूक

इनेप्लिज २०८२ जेठ १४ गते ९:५५ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्सको एक कारागारबाट मे १६ मा भागेका १० कैदीमध्ये थप ३ जना पक्राउ परेका छन् भने अझै २ जना फरार छन्। लुइजिना राज्यकी महान्यायाधिवक्ता लिज मुरिलले सोमबार उक्त जानकारी दिएकी हुन्।

कैदी लेन्टन भानब्युरेनलाई बाटन रूजमा पक्राउ गरिएको हो। लियो टेट र जर्मेन डोनाल्ड भने टेक्ससको वाल्कर काउन्टीमा पक्राउ गरेको मुरिलले बताइन्।

भानब्युरेनलाई अपराधी भएर हतियार बोकेको, र गैरकानुनी रूपमा हतियार राखेको आरोपमा कैद गरिएको थियो। टेटमाथि चोरी, हतियार राख्ने र दोस्रो दर्जाको हत्या प्रयासको इतिहास छ। डोनाल्डले दोस्रो दर्जाको हत्या, आक्रामक आक्रमण, र हतियार राखेको आरोप खेपिरहेका छन्।

यी तीनैजनालाई अब कारागारबाट भागेको अतिरिक्त अभियोग लाग्नेछ। जेल तोडेको दिन कैदीहरूले राति १२:२२ बजे कोठाको ढोका जबरजस्ती खोलेर भित्ताको शौचालय पछाडि प्वाल पारेका थिए। त्यसपछि १ बजे तिर बाहिरिएका थिए ।

तर यो घटना बिहान ८:३० बजेसम्म अधिकारीहरुलाई थाहा थिएन । भागेका ठाउँमा कुनै सुरक्षा अधिकारी खटाइएको थिएन। घटनामा हालसम्म १३ जना पक्राउ परिसकेका छन्, जसमा एक मर्मत कर्मचारीले शौचालयमा पानी बन्द गरिदिएको आरोप लगाईएको छ ।

प्रतिक्रिया