काठमाडौँ,रुद्रबहादुर खडका
पूर्वप्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको रुपान्तरमा पार्टी एकतालाई अगाडि बढाएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको प्रष्ट पार्नु भयो ।
“सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहानु भएको छ, उहाँ पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ”, अध्यक्ष प्रचण्डले उल्लेख गर्नु भयो, “गंगानारायण श्रेष्ठले दूरगामी राजनीतिक महत्वको प्रयास भएको बताउँदै उहाँले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो ।
आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरूलाई नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताउनुभयो ।
नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाई सदस्यले अनुमोदन गरेर एकतामा आएको श्रेष्ठले स्पष्ट पार्नुभयो ।
महासचिव देव गुरूङले समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराउनुभयो । उहाँले जनवादी केन्द्रीयताको मान्यता अनुरूप पार्टी अगाडि बढ्ने जानकारी गराउनुभयो । दुई पार्टीबीच पार्टी समायोजनपश्चात गंगानारण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिनुभयो ।
प्रतिक्रिया