संघीय आप्रवासन कानूनको अवहेलनाको आरोपमा अमेरिकी न्याय बिभागले न्यू जर्सीका चार शहरविरुद्ध मुद्दा दायर गरेको छ। नेवार्क , जर्सी सिटी, प्याटरसन र होबोकेनलाई लक्षित गर्दै बिभागले ती शहरका ‘स्यान्क्चुअरी नीति’ अर्थात् शरण नीतिहरूले संघीय आप्रवासन कानून तथा अधिकारीहरूमाथि ‘सीधा प्रहार’ गरेको आरोप लगाएको छ।
मुद्दामा भनिएको छ,ती शहरहरूले अवैध आप्रवासीहरूलाई स्थानीय हिरासतमा राख्दा संघीय अधिकारीहरूलाई पहुँच नदिई संघीय कानुनको कार्यान्वयन रोक्ने काम गरेका छन्। साथै, स्थानीय अधिकारीहरूलाई ती आप्रवासीहरूलाई संघीय गुप्तचरहरूलाई हस्तान्तरण गर्न रोक लगाइएको छ, र संघीय आप्रवासन निकायलाई आवश्यक जानकारी दिन समेत निषेध गरिएको छ।
मुद्दामा भनिएको छ, “यी नीतिहरूको स्पष्ट उद्देश्य र प्रभाव संघीय आप्रवासन कार्यान्वयनलाई बाधा पुर्याउनु हो। यसले अमेरिकी संविधानको सर्वोच्चता खण्डको स्पष्ट उल्लंघन गर्छ।”
यो मुद्दा नेवार्कका नगर प्रमुख रस बाराकालाई आइसिइ हिरासत केन्द्रबाहिर पक्राउ गरिएको घटनापछि आएको हो। साथै, डेमोक्र्याट सांसद ला मोनिका म्याकइभरमाथि पनि संघीय अभियोग लगाइएको छ।
यसअघि न्याय मन्त्रालयले न्यूयोर्कको रोचेस्टर शहर र न्यूयोर्क, इलिनोइ तथा कोलोराडो राज्यविरुद्ध पनि यस्तै मुद्दा दायर गरिसकेको छ।
प्रतिक्रिया