राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले केही आप्रवासीहरूको अदालतमा चलिरहेका मुद्दा समाप्त गरेर उनीहरूलाई छिटो देशनिकाला प्रक्रियामा लैजाने अभियान सुरु गरेको छ।
सरकारी अधिकारी र वकिलहरूका अनुसार, यस अभियान अन्तर्गत आप्रवासीहरूलाई पक्रेर तुरुन्तै हटाउने योजना अघि सारिएको हो।
यसै साता, आप्रवासी वकिलहरू र अभियन्ताहरूले अमेरिकाभरका आप्रवासन अदालत बाहिर आप्रवासीहरू पक्राउ गरिएको बताएका छन्। ती व्यक्तिहरूको मुद्दा सरकारी अनुरोधमा अदालतले हालै समाप्त गरिदिएको थियो, र त्यसपछि आइसिइका टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गृहमन्त्रालयका दुई अधिकारीले सिविएसन्यूजलाई बताए अनुसार ट्रम्प प्रशासनले सबैभन्दा ठूलो देशनिकाला अभियान सुरु गर्ने राष्ट्रपति ट्रम्पको वाचालाई पूरा गर्न यो कदम चालेको हो।
यस अभियानमा आइसिइका सरकारी वकिलहरूले आप्रवासन न्यायाधीशहरूलाई विशेष व्यक्तिहरूका मुद्दा बन्द गर्न अनुरोध गर्छन्, जसपछि एजेन्टहरूले ती व्यक्तिहरूलाई छिटो देशनिकालाको प्रक्रियामा लैजान सक्छन्।
सामान्य आप्रवासन मुद्दाहरू वर्षौं लाग्ने जटिल प्रक्रियामा पर्छन् (हाल ४ मिलियन मुद्दा बाकीं )छन् तर यो प्रक्रिया अन्तर्गत यदि आप्रवासीसँग वैध कागजात छैन र उनीहरू अमेरिका आएका दुई वर्षभन्दा बढी भएको प्रमाण दिन सक्दैनन् भने बिना अदालत सुनुवाइ नै तुरुन्तै देशनिकाला गर्न सकिन्छ।
यस कदमले अमेरिकी आप्रवासन प्रणालीमा व्यापक परिवर्तन ल्याउने ट्रम्प प्रशासनको प्रयासलाई थप बल दिएको छ।
प्रतिक्रिया