संवैधानिक विजय: सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको बाइडेन नियुक्‍तहरू हटाउने कदमलाई वैध ठहर

इनेप्लिज २०८२ जेठ १० गते ८:३८ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा दुई डेमोक्र्याटिक नियुक्त अधिकारीहरूलाई संघीय समितिबाट हटाउने निर्णयलाई वैध ठहर गर्दै ट्रम्प प्रशासनलाई कानुनी जित दिलाएको छ।

बिहिबारको फैसलाले राष्ट्रिय श्रम सम्बन्ध समिति बोर्डकी ग्विन विल्कक्स तथा योग्यता प्रणाली संरक्षण समिति (मेरिट सिस्टम्स प्रोटेक्सन बोर्ड )की क्याथी ह्यारिसको पुनर्नियुक्ति अस्थायी रूपमा रोक्ने प्रधान न्यायाधीश जोन रोबर्ट्सको अघिल्लो आदेशलाई पुष्टि गर्‍यो। यी दुई अधिकारीलाई यस वर्ष ट्रम्प प्रशासनले अचानक पदबाट हटाएको थियो।

विल्कक्स र ह्यारिसले वाशिङ्टन डिसीको संघीय अदालतमा पदबाट हटाइएको विषयमा छुट्टाछुट्टै मुद्दा दायर गर्दै आफूहरूको हटाइ “अवैध” भएको दाबी गरेका थिए।

यो मुद्दाको मूल प्रश्न हो—राष्ट्रपतिले “स्वतन्त्र” समितिका सदस्यहरूलाई बिना कारण हटाउन सक्छन् वा सक्दैनन् ? सन् १९३५ को हम्फ्री इग्जीक्युटिभ नामक ऐतिहासिक फैसलाले त्यस्तो हटाइ असंवैधानिक हुने भनेको थियो।

तर यो पटक सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरू ट्रम्पको पक्षमा उभिए। तीनजना उदार न्यायाधीशहरु एलेना केगन, सोनिया सोतोमयोर, र केतान्जी ब्राउन ज्याक्सनले असहमति जनाउँदै भने, “१९५० दशकयता कुनै राष्ट्रपतिले स्वतन्त्र निकायका अधिकारीलाई वैध कारणबिना हटाउने प्रयास गरेका छैनन्।”

यो निर्णयले राष्ट्रपतिको अधिकार बलियो बनाएको छ, तर संस्थागत स्वतन्त्रतामा गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया