अध्यावधिक गरिएको :वासिङ्टन डीसीमा इजरायली दूतावासका कर्मचारीको हत्या: ‘गाजाका लागि गरे’ भन्ने ३१ वर्षीय युवकमाथि आतंक र घृणा अपराधको अभियोग

इनेप्लिज २०८२ जेठ १० गते ०:५८ मा प्रकाशित

वासिङ्टन डीसी — अमेरिकाको राजधानीमा रहेको क्यापिटल यहूदी संग्रहालयबाहिर दुई इजरायली दूतावासका कर्मचारीको गोली हानी हत्या गरेको आरोपमा इलियास रोड्रिगेज नाम गरेका ३१ वर्षीय शिकागो निवासीमाथि दुईवटा प्रथम श्रेणीको हत्या, विदेशी अधिकारीको हत्या, हतियारको प्रयोगद्वारा हत्या, र हिंसात्मक अपराधमा गोली प्रहार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

घटनास्थलबाट प्रहरीले २१ वटा चलाइएको गोली र एकवटा ९ एमएम बन्दुक बरामद गरेको छ। अदालत कागजात अनुसार उक्त हतियार इलियास रोड्रिगेजले मार्च २०२० मा इलिनोइबाट खरिद गरेका थिए। उनले मे २० मा शिकागोबाट वासिङ्टन डीसी उडान भर्दा आफ्ना झोलामा हतियार भएको घोषणा पनि गरेका थिए।

साक्षी र प्रहरीले बताएअनुसार घटनाको बेलामा रोड्रिगेजले “फ्री प्यालेस्टाइन” स्वतन्त्र प्यालेस्टाइन भन्दै चिच्याएका थिए । अधिकारीलाई “मैले गाजाका लागि गरे” भनेका थिए।

अन्तरिम अमेरिकी अभियोजन अधिकारी जिनिन पिरोका अनुसार यो घटनालाई आतंककारी हमला र यहूदी समुदायविरुद्धको घृणा अपराध दुवै रूपमा छानबिन गरिँदैछ। पिरोले भनिन्, “राजधानीमा यहूदीविरुद्धको घृणा सह्य हुने छैन।”

मृतक ३० बर्षिय यारोन लिस्चिन्स्की र २६ बर्षिय साराह लिन मिलग्रिम दुबै इजरायली दूतावासमा कार्यरत थिए । दुवै प्रेमी- प्रेमिका थिए भने चाँडै बिबाह बन्धनको तयारीमा थिए ।

एफबीआईले रोड्रिगेजको अन्तर्जाल (इन्टरनेट) गतिविधि, यात्रा र घटनासँग सम्बन्धित म्यानिफेस्टो(घोषणापत्र)को छानबिन गरिरहेको छ। उनि आज अदालतमा उपस्थित भएका थिए । प्रारम्भिक सुनुवाइमा रोड्रिगेजले कुनै दाबी नगरेका र उनलाई हिरासतमा राखिएको छ। अर्को सुनुवाइ जुन १८ मा तोकिएको छ।

यो हत्यापछि यहूदी महासंघ र ४२ अन्य संस्थाहरूले अमेरिकाभर यहूदी समुदायको सुरक्षाका लागि सुरक्षा प्रवर्द्धन गर्न आह्वान गरेका छन्।

यो घटना अमेरिकी राजधानीमै यहूदीविरुद्ध भएको हिंसात्मक आक्रमणको गम्भीर संकेत हो, जसले अमेरिका भित्र बढ्दो धार्मिक घृणा र अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभावलाई उजागर गरेको छ।

प्रतिक्रिया