अध्यावधिक गरिएको :सान डिएगो विमान दुर्घटना: आवासीय क्षेत्रमा सानो बिमान खस्दा २ जनाको मृत्यु, दर्जनौ विस्थापित

इनेप्लिज २०८२ जेठ ९ गते २२:५२ मा प्रकाशित

सान डिएगो, मे २२ — सान डिएगोको मुर्फी क्यानियन क्षेत्रमा बिहीबार बिहान एउटा सानो निजी विमान खस्दा कम्तीमा २ जनाको मृत्यु र ८ जना घाइते भएका छन्। विमान खस्नुअघि ठूलो विस्फोट र आगोले करिब १० वटा भवन र दर्जनौं गाडी क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

दुर्घटनामा ज्यान गुमाउने सबै जना विमानभित्रकै रहेको पुष्टि गरिएको छ। सेस्ना ५५० नामक सानो जेट विमानमा ६ जना थिए। विमान वाचिटा क्यान्ससबाट सान डिएगोको मोन्टगोमेरीगिब्स कार्यकारी विमानस्थलतर्फ आउँदै थियो र अवतरणको केही क्षण अघि बिहान ३:४५ मा खसेको थियो।

धुवाँको कारण ५ जना अस्पताल भर्ना गरिएका छन् भने एक जना झ्यालबाट निस्कने क्रममा घाइते भए। बाँकी २ जनालाई हल्का चोटपटक लागेको थियो।

अत्यन्तै घना कुहिरोका कारण बिमानचालकले हवाई यातायात नियन्त्रणसँग मौसमको जानकारी मागेका थिए, तर नजिकको हवाई केन्द्र बन्द रहेकाले उनको अनुरोधमा स्पष्ट जानकारी नदिइएको श्रवण (अडियो)बाट खुलेको छ।

विमानले अवतरण अघि करिब ५०० फिट उचाइमा रहेको र करिब २ माइल टाढा विद्युत प्रसारण खम्बामा ठोक्किएपछि दुर्घटना भएको राष्ट्रिय यातायात सुरक्षित समितिले जनाएको छ।

दुर्घटनाका कारण १०० भन्दा बढी मानिस विस्थापित भएका छन्। आगोका कारण केही बिद्यालयहरू पनि बन्द गरिएको छ। सान डिएगोका नगर प्रमुख टोड ग्लोरियाले भने, “यो हाम्रो शहरका सैन्य परिवारहरूमाथि परेको ठूलो पीडा हो, हामी उनीहरूको साथमा छौं।”

“धुवाँ, आगो र विस्फोटबीच उद्धारमा जुटेका अग्निनियन्त्रक र प्रहरीको साहस अविश्वसनीय थियो,” प्रहरी प्रमुख स्कट वालले भने।

प्रतिक्रिया