हरिहरपुरगढी गाउँपालिकामा तरबुजा खेतीबाट कृषक शुकदेव राईले गरे मनग्य आम्दानी

रुद्रबहादुर खड्का २०८२ जेठ ६ गते १०:१४ मा प्रकाशित

५ जेष्ठ २०८२

हरिहरपुरगढी गाउँपालिकामा बसोबास गर्ने कृषक शुकदेव राई उमेरले ५६ वर्ष भएका छन् । उनले केही वर्ष देखि पालिका स्तरको बजार, सिन्धुली बजार तथा काठमाडौंको दरबारमार्गमा रहेको रैथाने कृषि बजारमा आफ्नो जागरण कृषक सममूहले उत्पादन गरेका अन्य तरकारी तथा फलफूल जस्तै तरबुजा बेच्ने गरेका छन् । चार बिगाहा जमिनमा रोपेको तरबुजाको उत्पादन कस्तो हुने होला, यो फलले सिन्धुलीका बजार लगायत अन्यत्रको बजारमा स्थान पाउला वा नपाउला भन्ने पिर कृषक राईलाई लाग्दथ्यो । तर तरबुजा गाडी चढेर काठमाडौं स्थित दरबारमार्गका चोक गल्लीमा सजिलै बिक्रि हुनसक्छ भन्ने कुरा त उनको सोचाइ भन्दा पृथक कुरा थियो ।

कृषक राई व्यावसायिक रुपमा कृषि पेसामा लागेको चार वर्ष भएको छ । हरिहरपुरगढी गाउँपालिका अन्तर्गत स्थानीय सरकार आए पछि उनले प्रत्यक्ष रुपमा कृषि कार्यमा जोडिने मौका मिले पछि बाह्रै महिना सिजन अनुसारको कृषि व्यवसाय गर्दै आइरहेका छन् । उनका घर परिवार अहिले आ-आफ्नो पेसा व्यवसायमा सक्रिय छन् ।कृषक शुकदेव श्रीमान श्रीमतीको जीवनयापनमा यही कृषि पेसाबाट मनग्य आम्दानी भएको बताउँछन् ।कृषक राई संलग्न रहनुभएको जागरण कृषि समुहमा १२ जना सदस्य छन् । शुकदेव समूहका सचिव हुन् ।यो सिजनमा अहिलेसम्म चार लाख जतिको तरबुजा बिक्रीवितरण भएको उनी बताउँछन् ।कृषिमा व्यावसायिक हुन हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखाले तालिम,बिउ,कृषि औजार देखि उत्पादन गरेका वस्तु बजारसम्म बिक्रीवितरण गर्न सहयोग गरेको छ ।


जागरण कृषि समूहले उत्पादन गरेका तरबुजा बिक्रीवितरणको लागि पालिका अध्यक्ष बज्रध्वज वाइबा,उपाध्यक्ष चेकबहादुर थिङ,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकारा लगायत कर्मचारीहरु प्रत्यक्ष रुपमा उपस्थित छन् ।सरस्वती जातको तरबुजा दरबारमार्ग लगायत अन्य ठाउँको कृषि रैथाने बाली बजारमा बिक्रि गर्दा खेरि धेरै ग्राहकको रोजाइमा परेको देखिन्छ ।कृषि शाखाका प्रमुख प्रवेश देवकोटाका अनुसार हरिहरपुरगढी गाउँपालिकामा चार बिगाहा जमिनमा खेति गरिएको छ ।गत वर्षहरुमा तरबुजाको विरुवा वितरण गरिएको थियो ।तर उत्पादन कति भएको थियो भन्ने एकिन नहुँदा यस वर्ष भने जागरण कृषि समूहलाई तरबुजा खेतीको लागि अगाडि सारिएको हो ।वागमती प्रदेश सरकार हेटौडाबाट ससर्त अनुदान ६ लाख प्राप्त भएको थियो भने गाउँपालिकाले कार्यक्रम संचालन गर्न १२ लाख सहयोग गरेको प्रमुख देवकोटा बताउँछन् ।

१० हजार किलो जति तरबुजा बिक्रि भैसकेकोले र अरु ४० हजार किलो जति जमिनमा रहेको देवकोटा बताउँछन् । जागरण कृषक समूहले गरेको तरबुजा खेति पालिकाको कृषि कार्यक्रममा रहेको छ ।खेतीको लागि आवश्यक पर्ने कृषि सामग्री पालिकाले उपलव्ध गराउंदै आएको छ । पालिकाले आँप, एभोकाड़ो, विभिन्न जातका बेमौसमी तरकारी खेतीमा सहयोग गरेको छ भने परीक्षणको लागि तरबुजा खेति पालिकाले गर्दै आइरहेको छ । अध्यक्ष बज्रध्वज वाइबाले गाउँबाट युवाहरु बाहिरिन थालेको अवस्थामा व्यवसायी कृषिलाई प्राथमिकतामा राखेको बताए । उनले यस्ता खालका कार्यक्रमले कृषि पेसामा आकर्षण बढेको र पालिकाले जति सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । जागरण कृषक समूह हरिहरपुरगढी गाउँ पालिकामा व्यावसायिक कृषिको लागि एक सफल उदाहरण बनेको छ ।

प्रतिक्रिया