युक्रेनी मानव रहित यान(ड्रोन)हरूले लगातार दोस्रो रात मस्कोमा आक्रमण गरेका छन् । रूसले ९ मे को विजय दिवस मनाउने तयारी गरिरहेको समयमा य्पो आक्रमण भएको हो ।
आइतबार र सोमबार राति गरिएको आक्रमणले राजधानी मस्कोमा खलबली मच्चाएको छ। मस्कोका नगर प्रमुख सेर्गेई सोब्यानिनका अनुसार सोमबार राति मात्रै १९ वटा युक्रेनी मानव रहित यान (ड्रोन)हरू मस्कोतर्फ आउँदै गर्दा खसालिएको थियो। आइतवार पनि चारवटा मानव रहित यान खसालिएको थियो।
हालसम्म कुनै हताहत वा गम्भीर क्षतिको जानकारी छैन, तर मानव रहित यानको भग्नावशेष प्रमुख सडकहरूमा खसेको जनाइएको छ। मस्कोका चारवटा विमानस्थलमा उडानहरू पनि अस्थायी रूपमा रोकिएको थियो।
रूसी रक्षा मन्त्रालयका अनुसार देशभर सोमबार राति १०५ ड्रोन (मानव रहित यान )मध्ये अधिकांश खसालिएको छ।
युक्रेनले लगातार मानव रहित यान आक्रमणलाई तीव्र बनाएको छ, जुन विजय दिवसको तयारी भइरहेका बेला भइरहेको हो। प्रमुख कार्यक्रम मस्कोको सैनिक परेड हो । जहाँ राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को, भेनेजुएलाका निकोलस माडुरो र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाजस्ता नेताहरू सहभागी हुनेछन्।
क्राइमियामा भने सुरक्षा चिन्ताका कारण विजय दिवसको परेड रद्द गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको ८ देखि ११ मे सम्मको एकपक्षीय युद्धविराम प्रस्तावलाई “नाटक” भन्दै अस्वीकार गरेका छन् । र ३० दिने पूर्ण युद्धविरामको माग गरेका छन्।
जेलेन्स्कीले भने, “हामी मस्कोको सुरक्षाको जिम्मा लिन सक्दैनौं। रूसले नै आफ्ना चालबाजीहरू गरेर दोष हामी माथि लगाउन सक्छ।”
यसैबीच, रूसले युक्रेनको खार्किभमा मानव रहित यान (ड्रोन) आक्रमण गर्दा कम्तीमा ५० जना घाइते भएको युक्रेनी सेनाले जनाएको छ । जसमा एक ११ वर्षे बालक पनि परेका छन्।
प्रतिक्रिया