दु:खद मृत्यु: अमेरिकी हिरासतमा रहेका हैटीकी महिलाको फ्लोरिडाको आप्रवासन हिरासत केन्द्रमा निधन

इनेप्लिज २०८२ वैशाख १७ गते १:३० मा प्रकाशित

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आसिइ) को हिरासतमा रहेकी ४४ वर्षीया हैटीकी महिला मारी आञ्जे ब्लेजको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

आसिइको अनुसार अप्रिल २५ को साँझ ८:३५ बजे दक्षिण फ्लोरिडाको पोम्पानो बिचस्थित ब्रोवार्ड ट्रान्सजिसनल सेन्टरमा ब्लेजको चिकित्सकद्वारा मृत घोषणा गरिएको थियो। मृत्युको कारण अझै अनुसन्धान अन्तर्गत रहेको जनाइएको छ।

अधिकारहरूका अनुसार ब्लेजले अनिश्चित मितिमा अमेरिका बिना कानुनी प्रवेश गरेकी थिइन्। फेब्रुअरी १२ मा अमेरिकी भन्सार र सीमाशुल्क (सिबिपी) अधिकारीहरूले उनलाई अमेरिकी भर्जिन टापूको सेन्ट क्रोइक्सस्थित हेन्री ई. रोह्लसेन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्रेका थिए। उनी त्यहाँबाट नर्थ क्यारोलिनाको शार्लट जाने तयारीमा थिइन्।

त्यसै दिन, उनको नाममा सिबिपिले निष्काशन सूचना जारी गर्दै वैध आप्रवासन प्रवेशाज्ञा (भिसा )नभएको भन्दै उनलाई अमेरिका निकाला गर्ने प्रक्रिया सुरु गर्‍यो।

फेब्रुअरी १४ मा उनलाई पहिलो पटक पुर्टो रिकोको हिरासत पठाइयो। त्यसपछि उनलाई लुजीयानामा सारियो । अन्तत अप्रिल ५ मा दक्षिण फ्लोरिडाको हिरासतमा स्थानान्तरण गरियो।

आइसिइले मृत्युपछि अमेरिकी गृह सुरक्षा बिभाग, निरीक्षक महाशाखा, र पेशागत जिम्मेवारी कार्यालयलाई जानकारी दिएको जनाएको छ। मायामीस्थित हैटी दुताबासलाई पनि औपचारिक रूपमा सूचित गरिएको हो।

संघीय नीति अनुसार हिरासतमा कसैको मृत्यु भएमा २ कार्य दिनभित्र संघीय संसद, मानव अधिकार समूहहरू, र सञ्चार माध्यमलाई जानकारी दिनुपर्नेछ। साथै ९० दिनभित्र विस्तृत अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नु कानुनी रूपमा अनिवार्य छ।

आइसिइले सबै कैदीहरूलाई हिरासत अवधिभर पर्याप्त स्वास्थ्य सेवा, २४ घण्टा आपतकालीन सेवा समेत प्रदान गरिने दाबी गरेको छ। यो घटना आप्रवासन नीति, हिरासतको अवस्था, र मानवीय सुरक्षा सम्बन्धी गम्भीर बहसको विषय बन्न पुगेको छ।

प्रतिक्रिया