संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटिकनमा भेट गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन साँच्चै शान्ति चाहन्छन् कि छैनन् भन्नेमा प्रश्न उठाएका छन्। यो भेट शनिबार पोप फ्रान्सिसको अन्तिम संस्कार सुरु हुनु केही मिनेटअघि सेन्ट पिटर बासिलिकाको मुटुमा भएको हो।
गत फेब्रुअरीमा वाशिङ्टन डिसीमा भएको असफल भेटपछि ट्रम्प र जेलेन्स्की बीचको यो पहिलो प्रत्यक्ष संवाद हो । त्यसभेटमा अमेरिकी अधिकारीहरूले जेलेन्स्कीलाई अमेरिकाको सहयोगको लागि कृतज्ञता व्यक्त नगरेको भन्दै आलोचना गरेका थिए । र, अस्थायी रूपमा हतियार आपूर्ति तथा गुप्तचर जानकारी समेत रोकिएको थियो।
हाल ह्वाइट हाउसले युक्रेनमा शान्ति सम्झौता गर्न प्रयास तीव्र पारेको छ। भेटघाटको तस्वीरहरूमा ट्रम्प र जेलेन्स्की समय खर्च नगरी सिधै कुराकानीमा देखा परेका छन्। जेलेन्स्कीले सामाजिक सञ्जालमा “उत्कृष्ट भेट” भन्दै पूर्ण युद्धविराम र स्थायी शान्तिका लागि छलफल भएको उल्लेख गरे।
भेट करिब १५ मिनेटसम्म चलेको र दुवै पक्षले संवाद जारी राख्ने सहमति गरेको जनाइएको छ। ट्रम्पले रोम फर्किएपछि आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पुटिनको व्यवहारप्रति आशंका जनाउँदै नयाँ प्रतिबन्धको चेतावनी दिए। उनले भने, “यदि पुटिन शान्ति चाहन्थे भने उनले हालैका दिनहरूमा युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र प्रहार गर्नु आवश्यक थिएन।”
भेट अघोषित रूपमा गिर्जाघर नजिकै सम्पन्न भएको थियो। यो ट्रम्पको हालैको कार्यकालमा पहिलो युरोप भ्रमण पनि हो।
प्रतिक्रिया