इजरायलले गाजा क्षेत्रमा मध्यरातमा आक्रमण गर्दै दर्जनौँ प्यालेस्टिनीहरूलाई हत्या गरेको सिएनएनले जनाएको छ । गत मंगलबार युद्धविराम भंग भएपछि इजरायलले पुनः आक्रमण थालेको छ ।
गाजा अधिकारीहरूका अनुसार पछिल्ला आक्रमणहरूमा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। मंगलबारदेखि निरन्तर बमबारी हुँदै आएको छ भने सयौँ मानिसहरुको ज्यान गएको छ।
इजरायलले युद्धविराम तोडिएको दोष हमासलाई लगाएको छ । इजरायलला अनुसार हमासले संशोधित युद्धविराम सर्तहरू स्वीकार गर्न अस्वीकार गरेको जनाएको छ । तर, हमासले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई एकतर्फी रूपमा युद्धविराम भंग गरेको आरोप लगाएको छ।
युद्धविराम अवधिमा गाजा केही समयका लागि शान्त भएको र मानवीय सहायता प्रवाह गर्न सहज भएको थियो । उक्त समयमा कैयौँ बन्धकहरूको रिहा भएको थियो।
बुधबार इजरायली सेनाले गाजामा “लक्षित स्थल कारबाही” सुरु गरेको दाबी गरेको छ। इजरायली रक्षा बल(आइडिएफ)का अनुसार यो आक्रमणले सुरक्षा क्षेत्र विस्तार गर्ने र गाजाको उत्तर र दक्षिणबीच आंशिक सुरक्षा क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ।
इजरायली सेनाले नेट्जारिम करिडोर भनिने भूभागको नियन्त्रण विस्तार गरेको बताएको छ, जुन गाजा सहरलाई दक्षिणी गाजाबाट छुट्याउने एक महत्वपूर्ण क्षेत्र हो।
हमासले यो आक्रमणलाई युद्धविराम सम्झौताविरुद्धको “नयाँ र खतरनाक उल्लङ्घन” भन्दै विरोध गरेको छ। संगठनले जनवरीमा इजरायलसँग भएको युद्धविराम सम्झौताप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएको छ।
गाजामा इजरायली युद्धका कारण हालसम्म झण्डै ५०,००० प्यालेस्टिनी मारिएका छन्, जसमा अधिकांश महिला र बालबालिका छन्। युद्ध पुनः सुरु भएसँगै मृतकको सङ्ख्या बढ्दै गएको छ।
गाजाको नागरिक प्रतिरक्षा निकायले भोकमरीको चेतावनी दिएको छ। इजरायलले तीन हप्तादेखि मानवीय सहायता रोक्दा गाजाको अवस्था अझै खराब बन्दै गएको छ।
प्रतिक्रिया