दुई देशका कलाकारहरुको प्रस्तुतिमा झुम्मिए लाखौँ दर्शक

इनेप्लिज २०८१ फागुन १५ गते ११:२५ मा प्रकाशित

रौतहट÷नेपाल र भारतका दर्जनौँ कलाकारहरुको प्रस्तुति रहेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा लाखौँ दर्शक झुम्मिएका छन् । रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी महोत्सवको चौथो दिन बुधवार अबेर साँझसम्म नेपाल र भारतका चर्चित दर्जनौँ कलाकारहरुको प्रस्तुतिमा भएको सांस्कृितक कार्यक्रममा नेपाल र भारतका लाखौँ दर्शकले मधानी महोत्सवको बारेमा जानकारी प्राप्त गर्दै मनोरञ्जन पनि लिएका छन् ।

कार्यक्रममा भारतीय भोजपुरी सिनेमाका लेखक, निर्माता तथा पूर्वमन्त्रीसमेत रहेका कलाकार बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुति रहेको थियो । रितेश पाण्डेले आफ्ना गीतहरु गाउँदा लाखौँ दर्शक झुम्मिएका थिए ।

भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट भाइरल गर्लको रुपमा परिचित भएर भारतीय हिन्दी चलचित्रमा पनि स्थान पाउन सफल मोनालिसासहित मिंटुवा भोजपुरिया, अनु चौधरी, गौरभनारायण राई, सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति आर्या पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राईसहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको गायन तथा नृत्यको एकल तथा सामूहिक प्रस्तुतिमा लाखौँ दर्शकहरु झुम्मिएका थिए ।

मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा २०७६ देखि मधानी महोत्सवको आयोजना गर्दै आएको छ । मौलापुरको पतौराधामस्थित पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसार तथा स्थानीय मौलिक यज्ञको रुपमा रहेको मधानीलाई प्रबद्र्धन गर्न नगरपालिकाले हरेक वर्ष नेपाल र भारतका चर्चित कलाकारहरुलाई सम्मान गर्दै प्रस्तुति गराउने गरेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने मूल उद्देश्यसहित नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय कार्यक्रमअन्तर्गत मधानी महोत्सव गर्दै आएको छ ।


नेपाल र भारतबाट कलाकार तथा दर्शक दुवैको उपस्थितिले दुई देशको सम्बन्धलाई सांस्कृतिक र जनस्तरमा बलियो बनाउन सहयोग पुगेको नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ । नगर प्रमुख साह भन्छिन् – ‘यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउने विश्वास छ । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’ । प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षणसमेत हुने गरेको नगर प्रमुख साहले जनाएकी छन् ।

सांस्कृतिक कार्यक्रममा नेपालको सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका साथै भारतको सीतामढी र पूर्वी चम्पारण जिल्लाबाट लाखौँ दर्शक आएका थिए ।

प्रतिक्रिया