डा. चन्द्र गिरी द्वारा लिखित यात्रा संस्मरण ‘संसारको सेरोफेरो’अमेरिकामा लोकार्पण भएको छ। सनिबार संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनामा आयोजित एक भब्य कार्यक्रममा परिवारका सदस्यहरु नाती जोरान गिरीखान, छोरा आश्वत चन्द्र गिरी, छोरी मेधावी गिरी, र श्रीमती तेजस्वी गिरी, र कार्यक्रमका अध्यक्ष इश्वर देवकोटा, र प्रमुख अतिथि डा निलम कार्की निहारिकाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
संसारको सेरोफेरो’मा डा. गिरीले ६ वटा महादेशका ३६ यात्रा संस्मरणहरूलाई रोमाञ्चक र मनोरम तरिकाले प्रस्तुत गरेका छन्। भूगोलको विविधता, संस्कृति, र प्रकृतिको अनुपम छटाले यो पुस्तकलाई अन्य यात्रा संस्मरणहरूभन्दा विशेष बनाएको छ। पाठकहरूले लेखकका आकर्षक र घतलाग्दा अनुभवहरू मात्र पढ्ने होइन, ती ठाउँहरूको धर्म, संस्कृति, जीवनशैली, खानपान, ऐतिहासिक पृष्ठभूमि, र वर्तमान अवस्थाको समग्र जानकारी पनि प्राप्त गर्छन्। यसले पुस्तकलाई केवल यात्रा विवरण मात्र नभई एउटा ज्ञानवर्धक सामग्री बनाएको छ। यो पुस्तक पुस्तक साहित्य पोस्टले प्रकाशन र वितरण गरेको छ।
लोकार्पित पुस्तकबारे बोल्दै, प्रमुख अतिथि तथा मदन पुरस्कार विजेता डा. नीलम कार्की निहारिकाले जागिरको सिलसिलामा देश-विदेश घुमे पनि, पाठकहरूलाई ‘संसारको सेरोफेरो’ पस्किनुभएकोमा लेखकलाई धन्यवाद दिँदै, पुस्तकभरि झल्किने इमान्दारिता लेखनको शक्ति भएको र त्यसलाई जारी राख्न आग्रह गर्नुभयो।
एपलाचियन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. दिनेश पौडेलले पुस्तकको विषयमा भौगोलिक दृष्टिकोणबाट आफ्ना गम्भीर विचारहरू प्रस्तुत गर्नुभयो।
साहित्यिक श्रस्टाहरु पेशल पोखरेल, मनोज प्रधान, र शिव पलासले पुस्तकको बारेमा आफ्ना धारणाहरु व्यक्त गर्नुभयो।
आयोजकको तर्फबाट शिखर दुलाल, डा. विकास शाक्य र मेघाले सुभकामना ब्यक्त गर्नुभयो।
नेपाल टक्सका अनन्त नेपालले बाचन गर्नु भएको ‘अडियो पुस्तक’ को केहि अंश सुनाएर कार्यक्रमलाई थप रोचक बनाइएको थियो।
कार्यक्रमको अन्तमा ख्यातिप्राप्त गायक मोहन भुषाल, बसन्त खड्का र अशोक अर्यालले गीत गएर माहोल तताउनु भएको थियो।
लोकार्पण कार्यक्रमको आयोजना आरम्भ नेपाली पुस्तकालय नर्थ क्यारोलाना , नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यरोलाइनाले संयुक्त रुपमा गरेका थिए।
इश्वर देबकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेधावी गिरीले स्वागत मन्तव्य र तेजस्वी गिरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने डा. ऋषि बस्ताकोटीले लेखकको परिचय सहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया