नेपाली साहित्यका विविध विधामा निरन्तर कलम चलाइरहने व्यक्ति हुन् श्रमिक बराल । वि.सं. २०४४ सालदेखि श्रमिक बरालको नामबाट साहित्यका विविध विधामा कलम चलाउँदै आएका बरालको वास्तविक नाम खगराज बराल हो । शिक्षा, प्रशासन तथा साहित्य क्षेत्रमा नियमित कलम चलाइरहने बरालका झण्डै दुई दर्जन जति पुस्तक र एक सयभन्दा बढी लेख प्रकाशित छन् । उनको नाम शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पनि परिचित छ । नेपाल सरकारको निजामती सेवातर्फको शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा प्रवेश गरी विशिष्ट श्रेणीको सचिव पदमा पुगी विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयको सफल नेतृत्व गरेका बराल नेपाली साहित्यमा सिद्धहस्त लेखकका रूपमा आएका छन् । नेपालको विद्यालय तहको पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा ३ का विद्यार्थीहरूले ‘हाम्रो नेपाली किताब’को पहिलो पाठ ‘असल बन’ शीर्षकको श्रमिक बरालको कविता एक दशकसम्म पढेका थिए । त्यस कविताका लेखक पनि बराल नै थिए । निजामती सेवाबाट सेवा निवृत्त भएपछि हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानअन्तर्गतको प्रज्ञा–प्रतिष्ठान सेवा आयोगको अध्यक्षको पदमा २०७८ असारदेखि कार्यरत छन् ।
श्रमिक बरालका नामबाट ‘श्रमिक बरालका फुटकर रचनाहरू’ (कविता र कथा) २०७८, ‘आँगनीको फूल’ २०७६, ‘सानीको बर्थ डे’ २०७५, ‘श्रमिक बरालका गीतहरू’ २०७३, ‘मौन आकाश’ २०७१, ‘अविरल गङ्गा’ २०६७, ‘म त सधैँ एक्लै परेँ’, २०६२ प्रकाशित भएका छन् । उनको खगराज बरालका नामबाट ‘सिकाउने शैली’ (गैह्रआख्यान) २०७५, ‘सिकाइ र सहयोग’ (गैह्रआख्यान) २०७६, ‘स्यानी’ (उपन्यास) २०७७, ‘मालामा नउनिएका फूलहरू’ (गैह्रआख्यान) २०७८ र ‘‘प्रतिरूप’ (उपन्यास) २०८१ प्रकाशित छन् । शिक्षक व्यवस्थापनमा विद्यावारिधि गरेका बरालका शिक्षा क्षेत्रसँग सम्बन्धित झण्डै एक दर्जन पुस्तक छन् । ‘शिक्षा विकासका नवीन आयामहरू’ (२०६७), ‘केही शैक्षिक मुद्दाहरू’ (२०६८), ‘शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ (२०६९), शैक्षिक विचरण’ (२०७०), ‘केही शैक्षिक प्रबन्ध’ (२०७१), ‘शैक्षिक दृष्टार्थ’ (२०७३), ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’ (२०७४), ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ (२०७५), ‘दर्शन, शिक्षा र आचरण’ (२०७८), ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’ (२०७९) र ‘शिक्षा चिन्तन’ २०८१, बरालका प्रकाशित छन् । श्रमिक बरालका नामबाट गीत, कविता, कथा, लघुकथा, समालोचना जस्ता विधामा कलम चलाउने खगराज बराल गैह्रआख्यान र आख्यान लगायत विभिन्न विषयमा पनि उति नै सशक्त रूपमा कलम चलाउँछन् ।
लेखनमा निरन्तरता दिइरहने बरालको यस वर्ष ‘‘प्रतिरूप’ शीर्षकको उपन्यास प्रकाशित भएको छ । यस लेखमा ‘‘प्रतिरूप’ उपन्यासको समीक्षा गर्ने प्रयास गरिएको छ । यो पुस्तक साङ्ग्रिला बुक्स प्रा.लि. ले २०८१ मा प्रकाशनमा ल्याएको हो ।
डा. खगराज बरालद्वारा लिखित ‘‘प्रतिरूप’ सामाजिक परिवेशमा आधारित उपन्यास हो । ग्रामीण जनजीवनका विविध पक्षहरूलाई उपन्यासमार्फत उजागर गर्ने क्रममा लेखक बरालले उपन्यासको सुरुमा पहाडी भूगोलमा शिक्षादीक्षा लिनका लागि भोगेको कठिनाइलाई प्रस्तुत गरेका छन् । ग्रामीण पहाडी क्षेत्रमा प्राथमिक शिक्षा, माध्यमिक शिक्षा तथा उच्च शिक्षा (क्याम्पसस्तरको शिक्षा) प्राप्त गर्नका लागि भोगिएको भौगोलिक कठिनाइ, आर्थिक अवस्था तथा अन्य अपठ्यारा तथा चुनौतीहरूलाई यथार्थ रूपमा प्रस्तुत गरिएको छ । ग्रामीण क्षेत्रमा भएर पनि कठिनाइ अपठ्यारा र चुनौतीका बिच आफ्नो अध्ययनलाई अगाडि बढाएका एक पात्र हुन् नवीन । नवीन यस उपन्यासका केन्द्रीय पात्र पनि हुन् । उनले प्राथमिक शिक्षा गाउँको चन्द्रावती प्राथमिक विद्यालय, लेखानी (उदयपुर) मा लिए भने जनता कालिका निम्न माध्यमिक विद्यालय छब्बिसेबाट निम्नमाध्यमिक तहको पढाइ पूरा गरे । यतिले मात्र उनको पढ्ने इच्छा पूरा हुँदैनन्थ्यो । यसका लागि घरबाट टाढाको स्कुलमा पढ्न जानुपर्थ्यो तर पनि नवीनको पढ्ने इच्छालाई घर परिवारको सहयोगले गर्दा सहज हुन गयो र पढ्ने वातावरण बन्यो । त्यसपछि कक्षा नौ र दश अध्ययन गर्नका लागि त्रिवेणी माध्यमिक विद्यालय कटारीमा भर्ना भए र त्यहीबाट एसएलसी परीक्षा उत्तीर्ण गरे । त्यसपछि, उच्च शिक्षा (ओभरसियर) अध्ययन गर्नका निमित्त पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस गएको र पढाइ पूरा गरेपछि जागिर खाने सिलसिलामा मर्चवार लिफ्ट इरिगेसन प्रोजेक्ट भैरहवामा जागिर खान गएको र जागिरे जीवन सुरु गर्दासम्म नवीनले गर्नुपरेको दुःख सङ्घर्षको पाटोलाई उपन्यासको सुरुका अङ्कमा उल्लेख गरिएको छ ।
जागिरको क्रममा भैरहवामा एक दिन घुम्न निस्केको समयमा एउटा रिक्सा दुर्घटनामा पर्छ, त्यसमा सवार एक महिला रिक्साबाट लड्न पुग्छिन् । उनी अचेत अवस्था रहेकी हुन्छिन् तर त्यहाँ उपस्थित कसैले पनि उनलाई अस्पताल लैजाने आँट गर्दैनन् । भोलि कानुनको झमेलामा किन पर्ने भनेर हो वा किन हो कोही अगाडि नबढेको अवस्थामा नवीनले ती महिलालाई अस्पताल लैजान्छन् र उपचार गराउँछन् ।
होसमा आएपछि ती महिलाले नवीनतिर हेरेर एक्कासी ‘प्रबिन’ भन्न पुग्छिन् । ती महिलाले एक नवयुवकलाई किन प्रबिन भनेर सम्बोधन गरिन् भन्ने कुरा खुल्दैन । सादय ती महिलाका आफ्ना परिवारमा प्रबिन नामको कुनै व्यक्ति हुनुपर्छ भन्ने लाग्छ । तर, उनको छोरा रहेनछन्, एक छोरी रहिछन् । ती महिलाको नाम काली रहेछ । आफ्नै नामसँग मिल्ने गरी उनले भैरहवामा ‘जयकाली भोजनालय’ नामको खाजा तथा खाना खुवाउने पसल खोलेर सानोतिनो व्यापार गरेर बसेकी महिला रहिछन् । त्यसपछि नवीन नियमित त्यही भोजनालयमा खाना, चिया तथा खाजा खान थाले ।
नवीनले कालीलाई आमाको रूपमा देख्न थाले भने कालीकी छोरी अस्मितालाई बहिनीको रूपमा । समयसँगै नवीन जागिरबाट राजीनामा गरेर वि.ई. इन्जिनियरिङ पढ्नका लागि काठमाडौँ जाने र जानुपूर्व एकपटक घर (उदयपुर) जाने तयारी गर्छन् र कालीसँग बिदाइ भेट गर्न कालीको भोजनालयमा जान्छन् । अस्मिताको पढाइ र कालीले गोरखनाथ मन्दिरमा प्रार्थनाका समयमा व्यक्त गरेका भावनाले नवीनको मानसिकतामा कालीप्रति जिज्ञासा उठेको हुन्छ । त्यही जिज्ञासाको जवाफमा नवीनले कालीको परिचय पाउँछन् । यसरी सामान्य जिज्ञासाको प्रतिउत्तर दिने क्रममा कालीले आफ्नो जीवनमा घटेका घटनाक्रम जब नवीनलाई बताउन थाल्छिन्, कालीको जीवन कथा सुरु भएपछि उपन्यासले नयाँ मोड लिएको छ ।
यस उपन्यसकी मुख्य पात्र काली हुन् । उनका बाबुआमाले कुल धर्म परम्पराअनुसार नै उनको मागी विवाह गरिरदएका थिए । विवाहपछि काली र उनका श्रीमान् प्रबिन ससुराली जाने क्रममा बाटामा कुराकानी हुँदा आफू भारतको मेघालयको कोइलाखानीमा काम गर्न गएको र अब विवाहपछि पनि एक पटक पुगेर आउने र त्यसपछि नजाने भनी कालीलाई बताएका थिए । भरखरै विवाह बन्धनमा बाँधिएका काली र प्रविणबिच पिरती बस्न थालेको थियो । प्रविणको हाँसोप्रति भुतुक्क हुने कालीले भनेकी छन् ‘प्रविणले हाँसेर बोलेपछि नाई भन्न कसैले पनि सक्दैन होला ।’
विवाह पछाडि उनीहरूको मायाप्रेम उत्कर्षमा पुगेको थियो । उनीहरूका बिचमा मायापिरतीका कुराकानी अगाडि बढिरहेका थिए । घरबाट ससुराली जाँदा बाटो हिड्ने क्रममा खोला तर्नुपर्ने थियो । वर्षाको खोला बढेर आएको थियो । आफूले मात्र कालीलाई खोला तार्न सकिने हिम्मत प्रविणमा देखिएन । आफू मात्र तर्न जबरजस्ती गर्दा प्रविणलाई खोलाले बगायो र केही तलबाट उनको उद्धार भयो । त्यसैले प्रविणले खोला तर्न खेतमा काम गर्ने खेतालाहरूको सहयोग लिएँ र दुवै जना खोला तरे । त्यसै बेला कालीको मनमा चिसो पस्यो र “जाबो खोल तार्न नसक्नेले के जिन्दगी तार्लान् ?” भन्ने कुरा मनमनै भनिन् । वास्तवमा कालीको शङ्का सही भयो, उपन्यासको अन्त्यमा प्रविणले कालीको जिन्दगी तार्न सकेनन् । केही समयपछि भारतको कोइलाखानी गएका प्रबिन कहिल्यै नफर्किने गरी उतै अस्ताएको खबर काली समक्ष आयो ।
लोग्ने बितेपछि माइत नै बसेकी काली भित्ताकोरेबाट गर्भवती हुन पुग्छिन् । माइतमा बसेकी छोरी, त्यसमा पनि विधवा, गर्भवती भए पछि एक बस ड्राइभरसँग गर्भको बच्चासमेत स्वीकार्ने सर्तमा आमाबाले सामान्य तरिकाले बिहे गरिदिन्छन् । डाइभरसँग विवाह भएपछि उनले भनेकी छन्:, ‘पेटको बच्चा हुर्कदै गएकाले मेरा लागि ऊ भगवान्जस्तै भयो । मैले नामको मात्र होइन लोकका लागि पनि लोग्ने पाएँ । जे भए पनि ड्राइभर मेरा लोग्ने थिए । मलाई मेरा बाआमालाई आपत पर्दा सहयोग गर्ने उनी मनकारी थिए । मेरो पेटको बच्चालाई बाबुको नाम दिन अर्काको पेट बोकेकी आइमाईलाई पत्नीको रूपमा अपनाएर समाजमा बाँच्न सिकाउने उनी महान् मान्छे हुन् । मेरो भित्री मनदेखि नै उनीप्रति माया थियो ।’
कालीले चाहँदा चाहँदै पनि उनको वैवाहिक जीवन सफल हुन सकेन । ड्राइभर लोग्ने पनि हरायो, परिबन्दमा परेर अलग भयो । कालीले अर्को विवाह शङ्करसँग गर्न पुगिन् । तर उनले सोचेजस्तो भएन । छोरीको जन्मदर्ता गराइदिने, उनको र छोरीको नागरिकता बनाइदिने, छोरी पढाउन सहयोग गर्ने लगायतका कार्य गर्न उनका श्रीमान् शङ्कर सफल हुन् सकेनन् । हुन त शङ्कर कालीका साथमा नै रहेँ तर काली र उनकी छोरीको सामाजिक र कानुनी प्रक्रियाहरू पूरा गर्न उनी असमर्थ रहे । यसरी जीवनमा असफलता मात्र प्राप्त गरेकी काली, “मेरो जिन्दगीमा थुप्रै लोग्नेमान्छे आए तर लोग्ने आउन सकेन । मलाई भने लोग्ने चाहिएको थियो” भन्ने निरासाको भाव व्यक्त गर्न पुग्छिन् । कालीको जिन्दगीमा थुप्रै लोग्ने मान्छेहरूसँग सम्बन्ध भएता पनि कुनै पनि लोग्ने मानिससँग उनको स्थायी सम्बन्ध कायम हुन सकेन ।
‘बाहिरका लोग्ने मान्छेका आँखाबाट बच्न म हातमा चुरा, गलामा पोते र सिउँदोमा देखिने गरी सिन्दुर लगाउँथेँ’ भन्ने उनको भनाइबाट पनि एक महिलालाई समाजमा स्वतन्त्र भएर बाँच्न कति कठिन छ भन्ने कुराको आभास पाउन सकिन्छ । उनका मनमा धेरै ठूलो सपना पनि थिएन । एक पटक उनले बाबा गोरखनाथको मन्दिरमा दर्शन गर्न जाने क्रममा बाबा गोरखनाथसँग मनमनै प्रार्थना गर्दै भनेकी थिइन्, “गोरखनाथ बाबा ! बाबुका कारण छोरी अस्मिताले नागरिकता पाइन । अहिलेको मेरो लोग्नेले पनि यसलाई छोरी ठानेन । धोका दियो । नागरिकता नभएपछि पढाइ रोकियो, जागिर खान नपाउने भई, ब्याङ्कमा खाता नखोलिने भयो । यसको उद्दार गरिदिनुहोस् मेरो पिर यही छोरीको हो । हामीले कति दुःख पाउने ? जिन्दगीमा मैले धेरै पाप गरेँ । मलाई माफी दिनुहोस् ।” वास्तवमा गोरखनाथ बाबाले पनि कालीका सपना पूरा गर्न सकेनन् । यसरी एउटी आमाले आफ्नो सन्तानका लागि गरेको प्रार्थना मर्मस्पर्शी र कारुणिक देखिन्छ । आफ्नो सन्तानको भविष्य राम्रो होला भन्ने उद्देश्यले नै कालीले थुप्रै लोग्ने मान्छेसँग सङ्गत गर्नु गरेको र जीवनमा यतिका घुम्तीहरू पार गर्नुपरेको अवस्थाको चित्रण उपन्यासमा पाइन्छ ।
वास्तवमा काली शङ्करसँग भने आशावादी थिइन् । यिनले चाहिँ केही गरिदेलान् भन्ने भरोसा पनि थियो उनमा । तर शङ्करको विवशताका अगाडि उनका भरोसाहरू पूरा हुन नपाएता पनि उनको सद्भाव भने शङ्करप्रति प्रकट हुन्थ्यो । आफ्नो नागरिकता, छोरीको जन्मदर्ता र नागरिकता बनाई दिन नसकेता पनि कालीलाई शङ्करले नगरिदिएको भन्ने चाहिँ लागेन । उनी भन्थिन् ‘म छोरी पढाउन चाहन्थे । शङ्करले न मेरो नागरिकता निकालिदिए, न हाम्रो विवाह दर्ता भयो, न त छोरीको जन्म दर्ता नै गर्न सके ।’ शङ्कर लोग्नेमान्छे भए पनि लोग्ने जस्तो हिम्मतवाला थिएनन्, उनी निकै सोझा थिए । लोग्ने मान्छेले संसार जित्छ तर स्वास्नीसँग हार्छ भन्थे तर शङ्कर स्वास्नीसँग पनि हार्न पाएनन् । शङ्करप्रति उनको सद्भाव रहेको थियो । यसरी एउटा नारीले समाजमा आफू र आफ्नो सन्तानका लागि गर्नु परेको सङ्घर्ष, पार गर्नु परेका विभिन्न घुम्तीहरूका बारेमा उपन्यासमा मर्मस्पर्शी किसिमले उल्लेख गरिएको छ ।
यस उपन्यासले तिसदेखि चालिसको दशकको समाजको अवस्थालाई सुसूचित गर्ने प्रयास गरेको छ । जस्तै, श्रम गर्ने सिलसिलामा भारतको कोइला खानीमा काम गर्दाको पीडा उल्लेख गरिएको छ । उपन्यासको एक ठाउँमा भनिएको छः कोइला खानी भने पनि ती कोइला खानी नभएर ज्यानमारा धराप हुन् । कोइला खानीमा काम गर्दा खानीभित्र पसेपछि केही सोच्नै सकिन्न । भित्रको अँध्यारामा कोइला खोज्दाखोज्दै आफ्नै जीवन पनि अँध्यारो भइसेकेको पत्तै नहुने भन्नेबाट जीवन नै जोखिममा पारेर श्रमिकहरूले जिजीविषाका लागि काम गर्नुपर्छ भन्ने कुराको उदाहरण यस उपन्यासमा पाइन्छ ।
काली उपन्यासको प्रमुख पात्र हो । कालीको जीवन कथा पाठकलाई सुनाउनका लागि उपन्यासकारले विभिन्न सन्दर्भ मिलाएरा नवीन पात्रको सिर्जना गरे जस्तो लाग्छ । कालीका जीवनमा थुप्रै लोग्नेमान्छेले सङ्गत गर्न पुगे । बाआमाले उसको विवाह सामाजिक रीतिरिवाजअनुसार नै केटा खोजेर गरिदिएका थिएँ । तर विवाह भएको छोटो समयमा नै उसको लोग्नेको मुत्यु भयो । लोग्नको मृत्यु भएपश्चात् भने परिबन्द र परिवेशले उसको जीवनमा भिन्न भिन्न लोग्नेमान्छेको आगमन भयो । कालीको चरित्रहीन स्वभावका कारणले ती लोग्नेमान्छेहरू उसँग जोडिन आएका भने थिएनन् । समाजमा सामाजिक मूल्य र मान्यताको सीमाभित्र रहेर बाँच्नका लागि काली ती लोग्नेमान्छेसँग जोडिन पुगेकी थिइन् । उपन्यासको कतै पनि कालीको चरित्रमा प्रश्न गर्ने स्थान देखिँदैन ।
उपन्यासमा प्रशस्त रूपमा नेपालको विविधतामा एकता र एकतामा विविधिता पाइन्छ । नेपाल विविध भाषा, धर्म र संस्कृति भएको देश पनि हो । उपन्यासकारले सानैमा विवाह गर्ने र ठूलो भएपछि पुनः लिन जाने (गौना) जस्ता पुराना चलन लगायतका समसामयिक पक्षहरूका बारेमा पनि उपन्यासमार्फत नयाँ पुस्तालाई जानकारी प्रदान गर्न कोसिस गरेको पाइन्छ । उपन्यासभित्र प्रशस्तै रीतिरिवाज, संस्कृति, संस्कार, विश्वास तथा अन्धविश्वास भेटिन्छः बिरालले बाटो काट्दा गाडी रोकिनु, मधेशतिरको सादी र गौना (गवन) अभ्यास, पहाडी परिवेशको विवाह संस्कार, आपतविपत्मा गरिने विधवा विवाह, परिवारभित्र हुने सौतेनी व्यवहार आदिका बारेमा उपन्यासमा चर्चा गरिएको छ ।
उपन्यासमा समाजशास्त्रीय र मनोवैज्ञानिक प्रसङ्ग पनि ठाउँ ठाउँमा चियामा चिनी घुले जस्तै भएर आएका छन्: युवा पुस्तामा परिपूरक लिङ्गप्रति आकर्षण हुने हर्मोनल प्रेम, विधवा नारीको कठिन जीवनचर्या, बाबुको ठेगान नभएका सन्तानको नागरिकताको सवाल, आमाको नाममा सन्तानले नागरिकता नपाउने अवस्था, क्याम्पस तथा कलेजमा हुने विद्यार्थी राजनीति र त्यसले विद्यार्थीको पठनपाठनमा पार्ने असर, कोइला खानीमा काम गर्ने मजदूरका जोखिमपूर्ण जीवन र तिनीहरूको विवशता, मुग्लाने नेपालीहरूको बेहाल अवस्था, मधेशमा गरिबीका साथै शिक्षा, स्वास्थ्य र विकासका आयाममा पिछडिएको अवस्था, सिमानामा सुरक्षाकर्मी तथा भन्सारबाट हुने कुशासन, घर छोडेपछि परिवारलाई बिर्सने परदेशीको मनोभाव, औषधि उपचपार गर्ने क्रममा डाक्टरले निभाउने धर्म, खासी जातिको मातृसत्ता परिपाटी, कठिन परिस्थितिमा पनि समायोजन हुन सक्ने नारी जातिको प्रवृत्ति, मध्यम वर्गीय जनजीवनको विवशता, राजमार्गका हुने दुर्घटना र त्यसले ल्याएका असहज परिस्थिति जस्ता विविध पक्षहरूलाई उपन्यासमार्फत समाजलाई जानकारी प्रदान गरिएको छ ।
वास्तवमा भन्ने हो भने नवीन नै कारण यो उपन्यास अगाडि बढेको देखिन्छ । यदि कालीको रिक्सा दुर्घटनामा नवीन नजोडिएको भए नवीनसँग कालीको भेट हुने थिएन । नवीन नभेटिएको भए कालीको जीवन कथा सुनिने थिएन । विगतमा काली जस्ता सयौँ कालीका कथा अव्यक्त भएर शून्यमा हराएका छन् । नेपाली समाजमा सयौँ कालीका घटना सुन्ने र सुनाउने दुवैको अभाव छ । कालीको रिक्सा दुर्घटना भएपछि मात्र नवीन र कालीको भेट भएको देखिन्छ । त्यसपछिको चिनजानबाट दुवैले एक अर्कालाई सम्मान र आदर भावले हेर्ने गरेका कारणले कालीको जीवनगाथा बताउने वातावरण सिर्जना भएको स्थिति उपन्यासमा देखा पर्दछ । यदि नवीनले कालीलाई उसको बारेमा नसोधेको भए र कालीले पनि आफ्नो जीवन कथा नबताएको भए सायद उपन्यास अगाडि बढ्ने स्थिति सिर्जना हुने थिएन । यस्तो अवस्थामा उपन्यासले कथा बताउने बाटो कसरी तय गर्थ्यो होला भन्ने विषय सोचनीय छ ।
निष्कर्षमा भन्ने हो भने कालीको जिन्दगीले कहिल्यै सिधा बाटो समाउन सकेन, अप्ठ्यारै अप्ठ्यारा बाटाको सामना गर्नु पर्यो । उनको जीवन चरम निराश भएको अवस्थामा समेत कत्ति पनि विचलित नभई कसैको भर नपरिकन भोजनालय सञ्चालन गरेर आफू र छोरीको बाँच्ने चहानालाई पूरा गर्नेतर्फ दृढतकासाथ लागि परेको अवस्थाबाट वास्तवमा काली एक निडर र साहसी पत्रका रूपमा यस उपन्यासमा देखापरेकी छन् ।
डा. खगराज बरालद्वारा लिखित ‘‘प्रतिरूप’ ’ हाल बजारमा चर्चामा छ । नेपाली समाजमा एक महिलाले म पनि यही समाजको सदस्य हो नि भनेर आफूलाई प्रमाणित गर्नका लागि उसले गरेका सङ्घर्षको यथार्थ चित्रण यस उपन्यासमा पाइन्छ । कुल ११ भागमा लेखिएको यस उपन्यासमा एउटा निम्न मध्यमवर्गीय परिवारमा हुर्केकी तर वैवाहिक जीवनमा कहिल्यै सफलता हासिल गर्न नसकेको कारणले समाजमा जीउनका लागि एक महिलाले गरेको सङ्घर्षको कथा नै यस उपन्यासमा मूल कथाको रूपमा आएको छ । साथै, मेघालयको मातृसत्ताको अभ्यास गर्ने खासी जातिकी महिलाको सङ्घर्षको कथा र आफ्नाका खातिर परिवार, समाज, संस्कार, धर्म, संस्कृति र अन्त्यमा देशसमेत छोडेर नेपालको पहाडी भूभागमा आएर सङ्घर्ष गर्ने मारिया अर्थात मैयाँको कथा पनि उपन्यासमा उल्लेख छ । मैयाँको जीवनको भोगाइ पनि पीडादायक छ, उनको स्तुतियोग्य सङ्घर्ष छ ।
डा. खगराज बरालद्वारा लिखित ‘‘प्रतिरूप’ मूलतः एक नारीले सामाजिक, कानुनी लडाई लड्दा भोग्नु परेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ । उपन्यासका सबै विषयवस्तु थाहा पाउन त उपन्यासको साङ्गोपाङ्गो पढ्नु नै पर्ने हुन्छ । उपन्यास सङ्ग्रहणीय छ, पठनीय छ, विशेष अवस्थामा उपहार दिन योग्य छ, पठन संस्कृति बढावाका लागि उपयोगी छ । उपन्यास सरल, सुबोध्य र व्यास शैलीमा लेखिएको छ । उपन्यास पढ्न थालेपछि नसकुन्जेल पुस्तक छोड्न मन लाग्दैन । लेखक बरालबाट यस्तै यस्तै रोचक, जानकारीमूलक र सिर्जनात्मक उपन्यासको अपेक्षा गर्नुपर्छ ।
पुस्तकः ‘‘प्रतिरूप’
विधाः उपन्यास
लेखकः डा. खगराज बराल
संस्करणः पहिलो (२०८१)
प्रकाशनः साङ्ग्रिला बुक्स प्रा. लि.
पृष्ठः २३८
मूल्यः ४९५/–
प्रतिक्रिया