बिश्वप्रकासको प्रचण्डलाई प्रश्न  अरुले अध्यादेश ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूलबाटो हुन्छ 

बेद प्रसाद घिमिरे २०८१ माघ २७ गते १५:१२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अरुले अध्यादेश ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूलबाटो हुन्छ भन्दै प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसले विषय र परिस्थिति अनुसार निर्णय गर्ने गरेको सुनाए ।

‘हिजो प्रतिपक्षमा छँदा वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री भएका बेला जुन अध्यादेशका विरुद्ध संवैधानिक परिषद् भत्कने गरी आएको अध्यादेशको कांग्रेसले विरोध गरेको सम्झना छ,’ उनले भने, ‘कुनै अध्यादेशलाई विरोध नगरेको र शान्त ढंगले सघाएको कुरा देशलाई कमै सम्झना छ ।’

उनले गत २८ वैशाखमा कांग्रेस प्रतिपक्षमा हुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले ल्याएको लगानी सम्मेलनसम्बन्धी अध्यादेशलाई कांग्रेसले समर्थन गरेको बताए । उनले अहिले आएको भूमिसम्बन्धी अध्यादेशका सम्बन्धमा विवादास्पद विषय भए प्रतिस्थापन विधेयकबाट सच्याउने गरी जानुपर्ने बताए ।

‘कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो ? कांग्रेस र एमाले मिलेर बनाउँदा कसरी अप्राकृतिक भयो ? गठबन्धनको सरकार बन्नु भनेको समयको, गणितीय बाध्यता हो । सबै प्राकृतिक भनेर हामी पनि दाबी गरिरहेका छैनौँ,’ उनले भने ।

प्रतिक्रिया