१. विषय प्रवेश
ज्ञानगुनका कुरा पत्रिका नै नभए पनि सम्भवतः नियमित प्रकाशन हो । नियमित वा अनियमित हुन सक्छ तर निरन्तरको प्रकाशन हो । ३८ वर्षदेखि नेपाली वाङ्मयको सेवामा समर्पित भनिएको ‘ज्ञानगुनका कुरा’ को २३२ औँ भाग ‘शान्तदास मानन्धर स्मृति अङ्क १’ को रुपमा प्रकाशित छ । यसका प्रधान – सम्पादक हुन् – शेषराज शिवाकोटी । यसको प्रकाशन गरेको छ ‘ज्ञानगुन प्रकाशन’ले । यस प्रकाशनले विभिन्न कृतिहरु प्रकाशित गर्दै आएको छ । मुख्यतः प्रगतिशील कृति प्रकाशनमा ज्ञानगुन प्रकाशनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । शान्तदास मानन्धरको देहावसान भएपछि उनीसित सम्बन्धित भएर लेखिएका स्मृतिहरुको संगालोको रुपमा प्रकाशित पुस्तिकाको चर्चा गर्दै तिनीहरुकै आधारमा उनलाई चिनाउने प्रयास गरिएको छ ।
२. शान्तदास मानन्धरको विषयमा
वि.सं. १९९१ जेठको दशमी तिथिमा काठमाडौँको झोंछेमा चिनियाँ मानन्धर (नेमनारायण मानन्धर) र मथुरी मानन्धरको सन्तानको रुपमा शान्तदास मानन्धरको जन्म भएको थियो । विचारक, लेखक तथा सम्पादक शान्तदास मानन्धरको विषयमा नौ जना चर्चित लेखकहरुले उनको व्यक्तिगत, लेखकीय तथा सम्पादकीय व्यक्तित्व र योगदानको बारेमा आफ्नो अभिमत प्रकट गरेका छन् ।
प्रसिद्ध प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौलाको पहिलो रचना रहेको छ – ‘उपेक्षित शान्तदास’ । संग्रौला शान्तदासका प्रशंसक हुन् । करिब पचपन्न वर्षसम्म शान्तदास र संग्रौलाको उठबस रहेको छ । संग्रौलाले शान्तदासलाई नेपाली साहित्य, मुख्य गरी बालसाहित्य, अझ प्रगतिशील साहित्य तथा राजनीति क्षेत्रका इमानदार हस्ताक्षरको रुपमा परिचित गराएका छन् । उनकै कारणले आफू पनि बालसाहित्यको क्षेत्रमा कलम चलाएको स्वीकार गर्ने संग्रौलाको दृष्टिमा शान्तदास अतिगोप्यवादी थिए । शान्तदासले देखेको सुन्दर सपना कहिल्यै नमर्ने विचार संग्रौलाले व्यक्त गरेका छन् ।
२०२०÷२१देखि शान्तदाससित सम्बन्ध भएका शेषमणि आचार्य शीर्षकमै यसरी लेख्छन् – ‘संस्मृति–सतिसाल : शान्तदास दाइ’ । दाइ भनेर सम्बोधन गर्ने गरेको बताउने आचार्यले श्यामप्रसाद शर्मा जस्तै उनलाई पनि मानेको स्वीकार गर्छन् । लुसुनका विचार तथा साहित्यको प्रशंसक शान्तदासको संगतमा लागेपछि विभिन्न विद्वानहरुसित भेट्ने, चिनजान गर्ने तथा विचार आदानप्रदान गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन् । नेपाली राजनीतिको कतिपय कालखण्ड तथा विशिष्ट घटनाबारे दृष्टिकोण बनाउन पनि उनले सहयोग गरेको बताउँदै आचार्यले शान्तदासको साहित्यिक अभिरुचि तथा योगदानको पनि खुलेर प्रशंसा गरेका छन् ।
नेपाली बालसाहित्यका एक सम्मानित व्यक्तित्व प्रमोद प्रधान लेख्छन् – ‘बालसाहित्य रत्न शान्तदास’ । बालसाहित्य सिर्जना, सम्पादन तथा प्रकाशन र वितरणको क्षेत्रमा दुई दशकभन्दा बढी समय निरन्तर सक्रिय शान्तदास कृतिहरु उल्लेख गर्दै प्रधानले उनका केही बालकथाको विश्लेषण पनि गरेका छन् । नेपाली बालसाहित्यको इतिहासमा प्रथम चित्रकथाको पुस्तक मानन्धरकै रहेको प्रधानले उल्लेख गरेका छन् । प्रधानले आफ्नो पहलमा नेपाल बालसाहित्य समाजबाट शान्तदासलाई उनको योगदानको सम्मान गर्दै ‘बालसाहित्य रत्न’ उपाधिले विभूषित गरेको उल्लेख गरेका छन् । शान्तदासको योगदान अविस्मरणीय रहेको साहित्यकार प्रधानको ठम्याई छ ।
संकलनभित्र सबैभन्दा लामो आलेख डा. मुकेश चालिसेको छ – ‘निरन्तर जिउँदो चेत भएका शान्तदास’ । डा. चालिसे जीव वैज्ञानिक हुन् र हुन् सिद्धहस्त लेखक पनि । वि.सं. २०२७ मा बर्दियाबाट अध्ययनको लागि काठमाडौँ पुगेका डा. चालिसे विद्यालयीय जीवनदेखि नै शान्तदासतिर आकर्षित भएका थिए । विद्यार्थी जीवनमा नै वामपन्थी विचारप्रति आकर्षित भएर भूमिगत जस्तै रहेर काम गर्दै डा. चालिसे अध्ययन तथा जीवनवृत्तिलाई अगाडि बढाए । विश्वविद्यालयमा अध्यापन गराउँदाको अवस्थामा पनि शान्तदासको सान्निध्यमा रहेका डा. चालिसे र शान्तदासबिच देशको राजनीतिका साथै विदेशको राजनीति र देशमा पर्ने प्रभावका विभिन्न आयामको विषयमा निरन्तर छलफल भइरह्यो । शान्तदासको भौतिक जीवनको अन्तिम क्षणसम्म पनि घनिष्ट र अन्तरंग तथा पारिवारिक रुपमा निकट रहेर डा. चालिसेलाई बुझिरहे, सहयोग गरिरहे । शान्तदासलाई सच्चा नेपाली र कर्मशील तथा इमानले नै चेतनशील नागरिकको पहिचान गराउँछन् डा. चालिसे । यस आलेखले शान्तदासप्रति उच्च श्रद्धा र गर्वको बोध गराएको छ ।
मूर्तिकार रामकृष्ण भण्डारी ‘शान्तदास काकालाई सम्झँदा’ शीर्षकमा उच्च सम्मान गर्दछन् । अत्यन्त चर्चित जनपक्षीय मूर्तिकार कुलमानसिंह भण्डारीका पुत्र रामकृष्ण भण्डारीले शान्तदासबाट पाएको सल्लाह, सहयोग तथा प्रशंसाले आफूलाई योग्य बन्न सकारात्मक ऊर्जा प्रदान गरेको स्वीकार गरेका छन् । शान्तदासले आफ्ना चित्र प्रकाशन गर्ने गरेको बताउँदै उनी भन्छन् – “मलाई हरबखत प्रेमपूर्ण व्यवहार गरी सरसहयोग गरी अघि बढ्न दिशानिर्देश गर्नुहुने मेरा आदरणीय काका ……. । अहिले म आफूलाई साँच्ची नै टुहुरो भएको महसुस गरिरहेको छु ।”
‘डा. अरुण सायमीको स्मृतिमा शान्तदास मानन्धर’ शीर्षकमा रामकृष्ण डंगोलले प्रस्तुत गर्नुभएको लेख निकै घतलाग्दो छ । यस आलेखले नै शान्तदासलाई सामान्य मानिसभन्दा निकै माथि सोच राख्ने देउता समान व्यक्तित्वको परिचय बनाएको छ । हुन त डा. मुकेश चालिसेले पनि शान्तदासलाई मनमोहन अधिकारी प्रधानमन्त्री भएको वेला सहयोगको लागि प्रस्ताव आएको तर अस्वीकार गरेको कुरा उल्लेख गरेका छन् तर “यस्ता पनि नेपाली हुँदा रहेछन् ः शान्तदास मानन्धर” भन्ने शीर्षकमा डा. अरुण सायमीले लेखेको लेखलाई प्रस्तुत गरिएको छ यसमा । डा. सायमीसित तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रस्ताव गर्नुभएको थियो शान्तदासको उपचारको लागि । प्रधानमन्त्रीका निजी चिकित्सक डा. सायमीले मौका मिलाएर प्रधानमन्त्रीको प्रस्ताव शान्तदासका अगाडि राखेछन् तर शान्तदासले आफूले सरकारी खर्चमा विदेशमा उपचार नगराउने बरु सरकारले गरिब जनताको लागि राम्रो काम गरिरहेको भन्दै उक्त राम्रो कामको लागि आफ्नो तर्फबाट सहयोग भएको बताएको उल्लेख गरेका छन् । यसै गरी सबै नेपालीको मुटुको उपचार गर्ने निर्णय सरकारले गर्छ भने आफूलाई स्वीकार भएको तर आफ्नो लागि मात्र त्यस्तो निर्णय उचित नभएको शान्तदासले बताएको भनिएको छ । पैतृक सम्पत्ति बेचेर आफ्नो उपचार गराउने तर सरकारले प्रस्ताव गरी दिन खोजेको सहयोग अस्वीकार गर्ने स्वाभिमानी तथा राष्ट्रवादी शान्तदासको व्यक्तित्व भएको बताइएको छ । डा. सायमी ‘मेरो जीवन – कथा’मा उक्त कुरा उल्लेख गरेको डंगोलले सन्दर्भ दिएका छन् । तत्कालीन एमाले नेता केशव बडालले पनि फोन गरी सरकारको तर्फबाट शान्तदासलाई मुटुको उपचारको लागि सहयोगको प्रस्ताव गरेको तर फोनमै अद्वितीय तर्क दिँदै अस्वीकार गरेको उल्लेख गरिएको छ ।
‘स्मृतिमा शान्तदास मानन्धर’ शीर्षकमा सुशीला शर्मा, ‘मेरो आदरणीय अभिभावक ः शान्तदास मानन्धर’ शीर्षकमा उजला मानन्धर र ‘स्मृतिमा शान्तदास बुबा’ शीर्षकमा नानीमैयाँ अधिकारीले साहित्यकार, दार्शनिक, विचारक, बालसाहित्यकार तथा राष्ट्रवादी व्यक्तित्व शान्तदास मानन्धरप्रति उच्च श्रद्धा व्यक्त गर्दै उनीसित सम्बन्धित भावना पोखेका छन् । शान्तदाससितको निकटता तथा तिनको योगदान र आफूमाथि परेको प्रभावको विश्लेषण गरिएका यी लेखहरुमध्ये नानीमैयाँ अधिकारीले शान्तदास मानन्धरबाट जीवनको तिन क्षेत्रमा प्रेरणा लिनुपर्ने विचार प्रस्तुत गरेकी छन् ।
निष्कर्ष
९० वर्ष भौतिक जीवन बाँचेका शान्तदास मानन्धरको बारेमा लेखिएका फुटकर आलेखहरुको यस संकलनले उनको बारेमा अझ जान्ने जिज्ञासा उत्पन्न गरेको छ । साहित्यको विभिन्न विधामा कलम चलाएका शान्तदासका करिब डेढ दर्जन कृतिहरु प्रकाशित छन् । उनले अनुवाद गरेको ‘गुलिवरको लिलिपुट यात्रा’ र लेखेको ‘चार डाला नाक’ नेपाली बालसाहित्यका अजरअमर कृतिहरु हुन् । सादा जीवन र उच्च विचारका स्वाभिमानी व्यक्तित्व मानन्धरको समग्र जीवनी प्रकाशित हुनुपर्छ । उनको व्यक्तित्व र कृतित्वलाई समग्रमा समेटने गरी दुई प्रकारको कृति प्रकाशन हुनुपर्ने देखिन्छ । पहिलो कृति जीवनी र व्यक्तित्व तथा दोस्रो कृति बालबालिकाका निम्ति पनि ।
ज्ञानगुन प्रकाशनले शान्तदास मानन्धरको बारेमा प्रकाशन गरेको पहिलो संकलन सराहनीय छ । यसको लागि ज्ञानगुन प्रकाशन र शेषराज शिवाकोटीको भुरी भुरी प्रशंसा गरिनुपर्छ । एक देशभक्त, इमानदार, साहित्यकार तथा विचारक शान्तदास मानन्धरलाई यस संकलनले निजी स्वार्थ पन्छाएर बहुजन हिताय र देशको लागि उचित प्रणालीको लागि बालबालिकादेखि बहुसङ्ख्यकको हितमा के कस्तो गर्ने भनी बाटो देखाउने कर्मशील व्यक्तित्व भएको देखाएको छ । उनीसित सिक्नुपर्ने कुरा धेरै छन् । अझ यसरी पनि भन्न सकिन्छ ः शान्तदास मानन्धर श्यामप्रसाद शर्माका कर्मठ सहयोद्धाका साथै थिए आस्थामा अबिरल निष्ठावान् सारथि पनि । शान्तदास मानन्धर स्मृति अंकको अन्य भाग पनि क्रमशः प्रकाशन गर्दै शिवाकोटीले एक असल व्यक्तित्वका सन्देशहरु प्रसार गरेर आम पाठकमा पु¥याउने सत्कार्य गर्ने अपेक्षा राख्न सकिन्छ । र समग्रमा, यस संकलनका आधारमा शान्तदासलाई सबैले पढ्नुपर्ने एक महान् व्यक्तित्व मान्न सकिन्छ र यस संकलनलाई पनि एक पढ्नै पर्ने पुस्तिका मान्नुपर्छ ।
पत्रकार/लेखक
प्रतिक्रिया