किताब

सुरभि रेग्मी २०८१ मंसिर २० गते २३:२३ मा प्रकाशित

बन्द आलमारीको शिशाबाहिरबाट अतृप्त आँखाहरूले किताबहरू चिहाउँछन्,
टुक्राटुक्रामा बाँडिएका आँखाहरू किताबको एक झलक लिन आतुर छन्,
ती आँखाहरूले अब महिनौ कुनै किताबहरूको चित्र
साँच्ने छैनन् ।

कुनै मनोरम साँझको आराधनामा संङ्लिन्थे
ती आँखाका विकारहरू तर
अक्सर अचेल कम्प्युटर स्क्रिनतिर निगाह लाउँदै
गुज्रिन्छन् समयका हिस्साहरु।
निकै बेचैन छन् ती आँखा
जसलाई अचेल सपनामै डुलिराख्ने आदत परेको छ
सपना त यस्तो ओझेल पो हो
जसले किताबी रणभुल्लमा अल्मल्याई रहेछन् आँखाहरुलाई।

तारिफ एक जरीया न हो
जसले आँखाहरूमा दीप जलाउँछन्
मानौं अब ती नयनहरुले गृहस्थबास त्यागेछन्
जुन सम्बन्धहरु उनले सुनाउँथिन्
ती सबै उदास भएर किताबका पानाका अतीत बनेछन्
कुनै पनि पानाहरु पल्टाउँदा मुटुको क्रन्दन सुन्छु म।
मुटु पनि कति पग्लदो हो
जसलाई सम्झाउने कोही सारथी नै छैन

मस्तिष्कमा कैले पानीका थोपा बनी ती शब्दहरू बर्सन्छन् तर पनि
मेरो उदासीन रूपले होला ती शब्दहरु पातहरू खसेका बन्जर रुख जस्ता लाग्छन्
जसको अब कसैलाई पर्वाह छैन।

शब्दहरुको झंकार सुनेर शब्दप्रेमीले
अश्रूका धारा बगाइरहेछन्
जुन आँखाका डिलबाट खसेर उसका ओठलाई
सुम्सुम्याइरहेछन्
वाह! क्या लवजमा माधुर्य भरिएको
तर पातबिना रुखका हाँगालाई सितको ओसले रुझाएको
हुन्छ जसरी शब्दहरु
चिसिएका छन्।
सम्बन्धहरु सबै तहसनहस छन्।
जब म हरेक नया पाना पल्टाउँछु
धेरै शब्दका अर्थहरू बदलिएका हुँदा रहेछन् जसरी
ती सुख्खा रुखहरुमा लटरम्मै फल्ने फलहरू
आज कम रसिला लाग्छन्।

घोडाका तबेला आज माटाका टुक्रिएका भाँडाहरूसरी छरपष्ट छन्
ती फुटेका टुक्राहरुले मेरो पैताला बिजाइराकाछन्।
र पाना पल्टाउँदै मैले शब्दको तिखोपनको स्वाद चाख्न खोज्छु।

आँखा खोल्दा मैले आफ्नो किताबको डिजिटल पाना एक क्लिकमा पल्टाइहाल्छु।
मेरो अगाडि झरेका पात, किताबका च्यात्तिएको पाना र सम्बन्धहरुको त्यान्द्रो टुटेको थियो।
थोत्रा पानाहरु सँगालेर किताब जुटाउनु सजिलो कहा होला र!
तर पनि सम्झनाहरुलाई मैले कैले कैले कविताका श्लोक बनाएर छातीमा टास्छु
त कैले आफ्नो काखमा खेल्ने चञ्चल बालकझै सुम्सुम्याउँछु र उसको निधार आशीर्वादले धपक्कै बाल्छु।

एक न एक दिन यो किताबका कविताहरू वाचन गरेर तिम्रो मन जित्नेछु म।

(यो कविता गुलजारका १० चर्चित कवितामध्यको एउटा बाट अनुवाद गरिएको हो।)

प्रतिक्रिया