भोजपुरी सुपर स्टार खेसारीलालको कार्यक्रममा लाखौँ दर्शक

इनेप्लिज २०८१ मंसिर २० गते २३:०१ मा प्रकाशित

रौतहट

भारतीय भोजपुरी कलाकार तथा चर्चित गायक खेसारीलाल यादवको कार्यक्रममा लाखौँ दर्शक विहीवार रौतहटको सुन्दरपुर पुगेका छन् । भारतीय भोजपुरी सिनेमाका सुपर स्टार तथा गायक खेसारीलाल यादव र नेपाली कलाकार रचना शिवाकोटीको संयुक्त प्रस्तुतिसँगै लाखौँ दर्शक झुम्मिएका छन् । रौतहटको गढीमाई नगरपालिका ४ मा लागेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा विहीवार कलाकार यादव र शिवाकोटीको संयुक्त प्रदर्शन भएको हो । चर्चित गायक तथा नायक यादवले गाएका दर्जनौँ गीतमा नेपाली कलाकार शिवाकोटीले नृत्य गरेकी छिन् । कलाकार यादवको नृत्यले सबैलाई नचाएको छ । कलाकार
यादवले बेलाबेलामा प्रस्तुत गरेका हास्यव्यंग्यले पनि दर्शकलाई निकै मनोरंजन दिएको छ ।

भोजपुरी गायन तथा सिनेमाको कारण यादव विश्वमै चर्चित छन् भने शिवाकोटीले रौतहटका साथै मधेश प्रदेशमा राम्रो कलाकारको पहिचान बनाइसकेकी छिन् । कलाकार यादवको प्रस्तुति हुने भएपछि रौतहटका साथै बारा र सर्लाहीबाट हजारौँ दर्शक सुन्दरपुर पुगेका थिए । यसै गरी भारतको बिहारबाट पनि हजारौँ दर्शक र दर्जनौँ कलाकारहरु सुन्दरपुर पुगेका थिए ।

गत मंसिर १८ मा उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको गढीमाई मेला २६ गतेसम्म लाग्ने आयोजकले जनाएका छन् । गढीमाईका नगर प्रमुख श्याम प्रसाद यादव कलाकार यादवको घरसम्मै पुगेर निमन्त्रणा दिएको र आफू आउन बाध्य भएको कलाकार यादवले सार्वजनिक गरेका छन् ।

कलाकार यादवसँगै शिवाकोटीको पनि निकै प्रशंसा भएको छ । कलाकारको माध्यमले पनि गढीमाई नगरपालिकाको धार्मिक तथा पर्यटकीय प्रवर्धन भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले प्रतिक्रिया दिएका छन् । नेपालको विभिन्न जिल्लाका साथै भारतको विभिन्न जिल्लाबाट पनि श्रद्धालु दर्शकहरु लाखौँको संख्यामा आउनुले पालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन भएको विश्वास पालिकाले लिएको यादवको भनाइ छ ।

रौतहटको दर्जनभन्दा बढी ठाउँमा गढीमाई मेला लागिरहेको भए पनि सबैभन्दा पुरानो सुन्दरमा रहेको मेलालाई मानिएको छ । सुन्दरपुरमा १३औँ पटक मेला लागेको नगर प्रमुख यादवको भनाइ छ । यस वर्षको मेलामा दश लाखभन्दा बढी श्रद्धालु दर्शक मेला भर्न आउने विश्वास आयोजक लिएको मंच व्यवस्थापन समितिका संयोजक महेश साहले जानकारी गराएका छन् ।

कलाकारहरुको प्रस्तुति हेर्न लाखौँ मानिस आएपछि निकै धेरै संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

प्रतिक्रिया