दुई नगर प्रमुखले संयुक्त रुपमा गरे दुधियाभार मेलाको उद्घाटन

इनेप्लिज २०८१ मंसिर १७ गते २२:०८ मा प्रकाशित

रौतहट

दुई नगरपालिकाको निकट रहेको गढीमाई मेलाको उद्घाटन दुई नगर प्रमुखले संयुक्त रुपमा गरेका छन् । रौतहटको कटहरिया नगरपालिका ६ दुधियाभार बजारमा सोमवारदेखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेलाको उद्घाटन दुई नगर प्रमुखले संयुक्त रुपमा गरेका हुन् । कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकाश साह र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमुनि प्रसाद कल्वारले सोमवार साँझ संयुक्त रुपमा दुधियाभार गढीमाई मेलाको उद्घाटन गर्दै मेलाकोविस्तारको लागि प्रतिबद्धता जनाएका छन् ।

सोमवारदेखि सुरु भएको मेला मंसिर २५ सम्म लाग्ने आयोजकको भनाइ छ । रौतहटको दुधियाभारमा २०४४ सालमा गढीमाई स्थानको स्थापना भएको थियो । २०६१ सालदेखि पञ्चवर्षीय मेला लाग्न थालेको दुधियाभार बजारमा गढीमाई मन्दिरको निर्माण भइसकेको छ । मन्दिर स्थापना भएको ठाउँमा हप्ताको दुई दिन हाटबजार लाग्ने गरेको छ । दुधियाभारको गढीमाई मेला जिल्लाको तेस्रो ठुलो मेलाको रुपमा रहेको आयोजकको दाबी रहेको छ ।

यसै गरी गुजरा नगरपालिका ६ कनकपुरमा पनि नगर प्रमुख सन्तलाल चौधरीले गढीमाई मेलाको उद्घाटन गरेका छन् । कनकपुरस्थित मेलाको उद्घाटनमा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहको पनि उपस्थिति रहेको थियो । बाराको बरियारपुरस्थित महागढीमाई मेलापछि दोस्रो ठुलो मेला रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरस्थित गढीमाई मन्दिरमा लाग्ने गरेको छ । सुन्दरमा यस वर्ष १३औँ मेलाको रुपमा लाग्दै छ । मेलाको उद्घाटन मंगलवारका
दिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको नगर प्रमुख श्यामप्रसाद यादवले जनाएका छन् ।

रौतहटमा एक दर्जनभन्दा बढी ठाउँमा मन्दिर निर्माण गरी गढीमाई मेला लाग्दैछ ।

प्रतिक्रिया