दुबईमा चिसो मौसमसंगै वनभोजको लहर

–लालबहादुर ढेंगा, दुबई, युएई २०८१ मंसिर ९ गते १८:२५ मा प्रकाशित

दुबई । वैदेशिक रोजगारदाताहरुका लागि खाडी मुलुकहरुमध्ये युएई पहिलो रोजाईमा पर्दछ । युएईस्थित लगभग ६ लाखको हाराहारिमा नेपाली कामदारहरु कार्यरत रहेको अनुमान सजिलैसंग गरिन्छ । यति धेरै नेपालीहरु कार्यरत भएका कारण हरेक पर्वहरु धुमधांमसंग मनाउने प्रचलनमा ल्याईएको प्रत्येक्ष देखिन्छ । महिलाहरुको महान पर्व हरितालिका तीज सकिए लगत्तै दशैं र तिहारको बिदाईपछि चिसो मौसमले पाईला टेकिसकेको अवस्था छ । जस्मा विभिन्न संघ संस्थाहरुको वनभोज कार्यक्रमको चहलपहल बढ्न थालेको पाईन्छ । खासगरी दुबईमा हुने कार्यक्रमहरुमध्ये तीज र वनभोज कार्यक्रमले प्रथम स्थान पाएको भेटिएको छ । किन कि यो दुईवटा कार्यक्रमको आफ्नो अलगै बिशेषता रहेका छन् ।

युएईमा खासगरी जुन महिनादेखि सेप्टेम्बर महिनासम्म निकै गर्मी हुने गर्दछ । अक्टोबर महिना सकिएपछि नोभेम्बर महिनाबाट हल्का चिसो मौसमको आगमनसंगै विभिन्न संघ संस्थाहरु वनभोज कार्यक्रमतिर हानिएको पाईन्छ । दुबई सहरको रमझमदेखि टाढा एकान्त ठाउंमा हुने वनभोज कार्यक्रममा धेरैले सहभागिता जनाउने गर्दछन् । किन कि सधै एकैनासको माहौलबाट फरक खालको माहौलमा रम्न र घुम्नलाई नौलो किसिमको रमाईलो अनुभूति गरेको देखिन्छ । वनभोज कार्यक्रमले जनमानसमा अलगै खालको छाप राख्न सफल भएको छ । सबै खाले दुःख र पीडालाई भुलेर बसमा जादा र आउदाको नाचगानदेखि नेपालको जस्तै पहाडको अवलोकंनले झनै सुनमा सुगन्ध थपेको हुन्छ । आफ्नो घर परिवारबाट टाढा रहेर दैनिक ड्यूटीमै सिमित भएका दाजुभाई तथा दिदीबहिनीहरुका लागि अर्को महिना डिसेम्बरको पहिलो हप्तादेखि मसाफी फुजेराहमा वनभोज कार्यक्रम सम्पन्न हुने भएको छ ।

आगामी ८ डिसेम्बर २०२३ आईतबारका दिन मसाफी फुजेराहमा परदेशीको लोक चौतारी युएईद्धारा अंग्रेजी नयां बर्ष २०२५ को शुभकामना आदानप्रदानका साथ वनभोज कार्यक्रम सम्पन्न गरिने भएको छ । यस्तैगरी १५ डिसेम्बरका दिन नेपाल मगर संघ शाखा युएईको दुबई क्षेत्रीय समिति र २२ डिसेम्बरका दिन गल्याङ नगर समाज युएईले सम्पन्न गर्ने भएको छ । सालको अन्तिम महिना डिसेम्बर सकिना साथ २६ जनवरी २०२५ मा स्याङ्जा सहयोग समाज युएईको १४औं बार्षिकोत्सवका साथ वनभोज कार्यक्रम गरिने जानकारीमा आएको छ । तर, सबै वनभोज कार्यक्रम भने सधै गरिने पूरानै ठाउं फुजेराहको मसाफी पिकनिक स्पोटमा गरिने तय गरिएको छ । त्यसका लागि बस बरदुबईको मेट्रो पार्कदेखि छुट्ने समय तालिका राखेको छ । कार्यक्रम मिति फरक भएका कारण आयोजकहरुले आ–आफ्नै तरिकाबाट प्रचारप्रसारमा लागेको पाईन्छ ।

वनभोज कार्यक्रमको मुख्य आकर्षण नेपाली विभिन्न परिकारका स्वादसंगै नौमति पंञ्चेबाजाका साथ विविध लोक भाकामा नाचगान हुने छन् । अन्य सांगीतिक कार्यक्रमहरु सधै हुने अवस्थामा वनभोज कार्यक्रम भने चिसो मौसममा हुने भएका कारण यो मौकालाई सदुयोपक गर्दै सबैजना जानका लागि उत्साहित देखिन्छन् । यो समाचार तैयार गर्दासम्म ४ वटा कार्यक्रम मात्र सार्वजनिक भएको छ भने अझै धेरै कार्यक्रमहरुको रुपरेखा आउन बांकी नै छ । सबै वनभोज कार्यक्रममा उपस्थित हुनका लागि यो समाचारलाई आधार मानेर आयोजकले निमन्त्रणा समेत गरेको छ ।

–लालबहादुर ढेंगा, दुबई, युएई

प्रतिक्रिया