यो हप्ता, हाम्रो अत्यन्त आत्मीय साथी, एक असल व्यक्तित्व, तथा कुसल कृषि वैज्ञानिक डा. कृष्ण पौडेललाई डेंगु संक्रमका कारण गुमाउनु पर्यो, रामपुर कृषि campus मा ISC Ag देखि MSc Ag सम्म ८ वर्ष संगै पढेको साथी, नेपालको पुर्बाञ्चल भ्रमणका क्रममा धनकुटा पर्ख्रिबासस्थित उसको घरमा जाने मौका पनि मिलेको थियो।
एक बिकट ग्रामीण परिबेसको किसान परिवारको छोरो जसले अत्यन्त मेहनत गरेर आफ्नो PhD डिग्रीसम्मको अध्ययन पुरागरी देशको सेवा गर्ने तथा परिवारको सहारा बन्ने बेलामा डेंगुजस्तो रोगका कारणले ज्यान गुमाउनु परको घटना हामी सबै साथीभाईहरुलाई अकल्पनीय पिडाको विषय बन्यो। अझै श्वासप्रश्वासमा गार्हो भएर BPKIHS पुग्दा पनि ICU मा ठाउँ नपाएको भन्ने कुरा सुन्दा त्यो अन्तिम क्षणमा परिवारले खेप्नु परेको त्रासदी त जुनसुकै नेपालीलाई झस्काउने खालको छ ।
हाल म आफै क्यालिफोर्निया राज्यमा लामखुट्टे र लामखुट्टेबाट सर्ने रोगहरू, जस्तै डेंगु, जिका, र वेस्ट नाइल भाइरसको निगरानी र नियन्त्रण विशेषज्ञ भएर काम गरिरहेकोबेला यो समाचारले मलाई विशेष झसंग बनायो। समयमै उपचार गरेमा डेंगुको मृत्यु दर १% भन्दा कम छ। तर त्यो १%को मृत्यु दर पनि तबसम्म सानो लाग्न सक्छ जबसम्म त्यो आफ्नै परिवारमा पर्दैन, जब मानव जीवनको मूल्य उच्च हुन्छ, त्यो १%को मृत्यु दर पनि ठुलो हुन्छ, हामी तेही मर्म का साथ नै यहाँ काम गर्छौं ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु देखा परेको थियो भने, आज २० वर्षमै हाम्रो समाजमा यो गम्भीर समस्या बनीसकेको छ। २०२२ मा मात्रै नेपालमा डेंगुका २८,००० भन्दा बढी केसहरू रिपोर्ट भएका थिए र ३८ जनाले ज्यान गुमाएका थिए। अझै चिन्ताको बिषय त के छ भने, डेंगु रोग सार्ने एडिस इजिप्टाई नामक लामखुट्टे, जसको मूल अफ्रीकामा मानिन्छ, यस लामखुट्टेले अरु रोगहरु जस्तै चिकनगुनिया, पहेँलो ज्वरो र जिका भाइरस पनि सार्न सक्छ, जसमा चिकनगुनियाका एकाध बिरामी नेपालमा पहिले नै पुष्टि भइसकेका छन्। हालको जलवायुमा परिबर्तन, अव्यवस्थित सहरीकरण, साथै विश्वव्यापीकरणसंगै, यी आयातित लामखुट्टे र लामखुट्टेबाट सर्ने रोगका प्रजातिहरूकालागि नेपाल पनि अनुकूलन बनि सकेको छ भने कुनै पनि बेला नयाँ रोगले महामारीको रुप लिन सक्ने सम्भावनालाई नकार्न सकिदैन।
यसरी, नेपालमा आयातित र आक्रामक लामखुट्टेको प्रजाति स्थापित भैसकेको साथै डेंगुको जिवाणु पनि स्थापित भइसकेको सन्दर्भमा, यसको प्रभावकारी रोकथामका लागि नेपाल सरकारको प्रभावकारी कार्ययोजना र व्यापक जनचेतनाको अत्यावश्यकता छ। नेपाल सरकारले लामखुट्टे र यसबाट सर्ने रोगहरूको नियन्त्रणकालागि एक अलग र विशेष नियन्त्रण विभाग स्थापना गरी अविलम्ब कार्य सुरु गर्नुपर्दछ। अहिले लामखुट्टेलाई मानबजातीकालागि सबैभन्दा घातक जीवका रुपमा हेरिन्छ, जसले प्रत्येक वर्ष मलेरिया, डेंगु, जिका, चिकनगुनिया, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरसजस्ता रोगहरूको संक्रमणबाट लाखौको ज्यान लिन्छ। बिस्वसमाजले नै लामखुट्टेलाई मानबको सबै भन्दा ठुलो सत्रु मानेको अवस्थामा, नेपाल जस्तो पर्यटकीय देशले यसमा गम्भीरता पुर्बक सोच्नुपर्ने समय आइसकेको छ।
अन्त्यमा, साथी कृष्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै, कृष्णको परिवार र विशेषगरी ९ वर्षकी छोरी र २ वर्षको छोराको सहयोगका लागि खोलिएको GoFundME account मा सहयोग गरी दिनुहुन सबैमा हृदय देखिनै अनुरोध गर्दछु।
सहयोग गर्न यहाँ थिच्नु होला :
https://www.gofundme.com/f/help-krishna-poudels-family-find-hope-and-healing?utm_campaign=fp
धन्यवाद !
डा. कविता खरेल
भेक्टर निगरानी नियन्त्रण विशेषज्ञ
सान्टा क्लारा वेक्टर कंट्रोल डिस्ट्रिक्ट,
क्यालिफोर्निया, अमेरिका
प्रतिक्रिया