न्यूयोर्कमा सयुक्त तीज भव्यताको साथ सम्पन्न

इनेप्लिज २०८१ भदौ २० गते २३:३४ मा प्रकाशित

नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, बाग्लुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाज समाजसँगको सहकार्यमा संयुक्त तीज दरखाने कार्यक्रम १,५०० भन्दा बढि आमा तथा दिदीबहिनीहरूको सहभागितामा सम्पन्न गरेको छ ।

गत आइतबार सेप्टेम्बर १ तारिख साँझ ६ बजेदेखि १२ बजेसम्म दिव्यधाम मन्दिरमा यो कार्यक्रम सम्पन्न भएको थियो ।न्युयोर्कमा बर्षेनि मनाउँदै आइरहेको अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम यस वर्ष पनि एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजनमा सम्पन्न गरिएको हो । यस वर्षको कार्यक्रम दिदीबहिनीहरूको विशाल सहभागीताले गर्दा ऐतिहासिक बनेको कुरा कार्यक्रम संयोजक लक्ष्मी थापाले बताउनु भयो ।

तीजको नाचगान, दर खुवाउने र शुभकामना आदानप्रदान भएकोले छोटो औपचारिक कार्यक्रमको अध्यक्षता एनआरएनए न्युयोर्क च्याप्टरको कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष छिरिङ शेर्पाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा उपस्थित भई उपवाणिज्यदूत श्रीमती संगीता न्यौपानेले कार्यक्रमा उपस्थित सबै आमा तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्नु भएको थियो।औपचारिक कार्यक्रम महिला सचिव गीता अधिकारीले चलाउनु भएको थियो भने यस तीज कार्यक्रमको आर्थिक संयोजकमा कोषाध्यक्ष देवेन्द्र लामा रहनुभएको थियो ।

कार्यक्रम संयोजक लक्ष्मी थापाको भनाई अनुसार आमा दिदीबहिनीहरूको बृहत् उपस्थितिले दिव्यधाम मन्दिरको बेसमेंट र मन्दिरको हल भरिभराउ थियो ।

यस कार्यक्रममा हरितालिका तीज नारीहरूको पवित्र पर्वको अवसर पारेर कार्यक्रममा केही सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा भाइबहिनीहरूले नृत्यका साथ समाजको अहिलेको जल्दोबल्दो घटनालाई लिएर जीवन्त अभिनय गरेका थिए ।

प्रतिक्रिया