बेपत्ता भएकी ममता काफ्ले भट्टका श्रीमान भट्टले भने :कुनै पनि हालतमा ममतालाई खोज्नु मेरो पहिलो एक मात्र प्राथमिकता हो

विजय थापा २०८१ साउन २८ गते ०:३३ मा प्रकाशित

ममता काफ्ले भट्टबारे उनका श्रीमानका भनाई -इनेप्लिजले लिएको बिशेष कुराकानी :

अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट बिगत ११ दिन देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टलाई अझै फेला पारिएको छैन । बेपत्ता भएकी ममता काफ्ले भट्टका श्रीमान नरेश भट्टले इनेप्लिजसँगको कुराकानीमा कुनै पनि हालतमा ममतालाई खोज्नु मेरो पहिलो एक मात्र प्राथमिकता रहेको बताए ।

अर्थात् आफ्नो मुख्य ध्येय ममताको खोजी गर्नु रहेको जनाए । प्रहरी ,आफन्त ,साथीभाई तथा समुदाय पुरै उनको खोजीमा रहेता पनि उनको कुनै जानकारी कसैले प्राप्त नगरि रहेको अवस्थामा भर्जिनियाकै समुदायका सामाजिक अभियन्ता एड्रियन पोखरेलको समन्वयमा ममता काफ्ले भट्ट(नरेश भट्ट)को मनासस स्थित निवासमा ईनेप्लिज प्रतिनिधि त्यहाँ पुगेको थियो ।

ममताका पति नरेश भट्टले एड्रियन पोखरेलको समुपस्थितिमा उनिसँगको सम्बन्ध र थुप्रैकुराहरु सविस्तासँग चर्चा गरे । र ,उनले ईनेप्लिज मार्फत समुदायले जानोस भन्दै ममता हराए देखिका घटनाको बारेमा जानकारी दिए ।

उनले गम्भीर हुदै भने म सबै कुरा सहन तयार छु तर मेरो ध्यान (फोकस)भनेको ममता हो । कुराकानीकै क्रममा उनले मनासस पार्क प्रहरी र नेपाली समुदायलाई सहयोग गर्न तयार रहेको बताए ।

उनले समुदाय संयम रहेर खोजी कार्यलाई अवरोध नहुने गरि सकारात्मक खोजी अभियानमा लाग्न सबैमा आह्वान गरे । उनले यो विषम परिस्थितिमा आफू विक्षिप्त भएको अवस्थामा मुख्य गरि सामाजिक संजाल मार्फत सबैको जवाफ दिन असमर्थ हुने हुँदा ममता बारेमा अपडेट(अध्यावधिक)हुन् चाहना राख्नेले एड्रियन पोखरेल ,आशिष संग्रौला तथा सन्दिप वास्तोला मार्फत सबैकुराहरु जानकारी लिन सकिने बताए । उनले अब उप्रान्त यिनै ३ व्यक्तिहरु मार्फत ममताको बारेमा बुझ्न सकिने र कुराहरु भन्न सकिने सुझाव दिए ।

उनले सामाजिक संजालमा पहिले देखि नै आफू कम प्रयोग गर्ने र यसमा सक्रियता नहुने गरेकोले सामाजिक संजालमा कुनै गतिबिधिमा आफू अध्यावधिक (अपडेट)नहुने जनाए ।

उनलाई श्रीमान तपाई हो तर ५ दिन पछि तपाईहरुकै आफन्त न्यूयोर्क की स्वास्थ्य परिचारिका(नर्स)ले बेपत्ता भएको समाचार सामाजिक संजाल मार्फत जानकारी दिएको भन्ने जिज्ञाशामा उनले सविस्तारमा ईनेप्लिजलाई जानकारी दिए । साथै उनले ममता बेपत्ता भए पछि उनले प्रहरी र आफन्तहरुसँग सूचनाको आदान प्रदान गरेका सामग्री एड्रियन पोखरेलको उपस्थितिमा ईनेप्लिजलाई देखाए ।

ममता हराएको ५ दिन पछि सूचना आएकोमा श्रीमान नरेश भट्ट प्रति अनगिन्ती जिज्ञाशाहरु ,प्रश्नहरुको साथै समुदायहरु चिन्तित रहेको र सामाजिक संजालमा थुप्रै नकारात्मक टिका टिप्पणी समेत आएको सन्दर्भमा जिज्ञाशा राख्दा उनले बिगतमा पनि यसरी उनि कहिलेकाही ममता साथीहरुसँग जाने र घर छोड्ने गरेको बताए ।

उनले लोग्ने स्वास्नी बीच कहिलेकाही असमझदारी रहने र उनले हामी दुई बीच सम्बन्ध चिसिएको स्वीकार गरे । पति नरेशले आफ्नी पत्नी ममता कहिलेकाही घर नआउने र घर छोडेर २-३ हप्ता सम्म साथीकहाँ बस्ने कुरा जानकारी दिए । तर ममतालाई आफन्त र शुभचिन्तकहरुले मनाएर पुन घरमा ल्याई दिने गरेको एड्रियन पोखरेल र इनेप्लिजका प्रतिनिधिलाई बताए ।

उनले अगाडी भने बिगतमा नरेश भट्टका छोरी जन्मदा आमाबुवालाई अमेरिका बोलाउंदा पनि अलिक सम्बन्ध चिसिएको र सन् २०२४ मा पनि केही समयको लागि उनि छुट्टिएर बसेको बताए । ममताले स्वयम सासुआमालाई बोलाएकी थिइन् तर पछि सम्बन्धमा खटपट हुन् गयो ,उनले भने । बुवाआमा नेपाल उडे पछि हामी बीच चिसिएको सम्बन्धलाई सुधार ल्याउन दुवै बीच सहमत समेत भएको थियो ।

उनले इनेप्लिजसँग कुराकानी गर्ने क्रममा गत मे २०२४ देखि हामी बीच सम्बन्ध राम्रो भएको बताउदै छोरीलाई हेर्नु पर्ने भएकोले दुवैजना ३- ३ दिन काम गर्ने समेत तालिका बनाएका थियौ र यसरी दैनिकी चलिरहेको थियो । आफू सोमबार देखि बुधबार र ममता बिहिबार देखि शनिबार कर्तब्य (ड्युटी)मा जाने सिलसिला जारी थियो । ममताले आफन्त र साथीभाईहरुलाई सम्बन्ध राम्रो हुदै गरेको समेत बताउने गरेकी थिइन् ,उनले भने ।

जुलाई ३१ राती के भयो: अगस्त १ का दिन के के भयो :

ममताका पति नरेश भट्टले सधै झैँ जुलाई ३१ का दिन रात्री भोजन खाना खाएर छोरीलाई लिएर माथि गए । उनले दुवै जना काममा जाने दिन छोरीलाई खलबल (डिस्टर्ब )हुन्छ भन्दै सरक्क हल्ला नगरी जाने गरेको बताए । यसरी नै आफू पनि जाने गरेको बताए ।

तर अगस्त १ का दिन ममता काम गर्ने ईमप्लोयर्स (रोजगारदाता)अर्थात् अस्पतालले उनि काममा नपुगे पछि प्रहरीलाई खबर गरेको उनले बताए । तर कति बजे प्रहरीलाई खबर गरेको आफूलाई थाहा नभएको र राती ढिलो सम्म ममता नआए पछि मनासस नजिक रहेको उनको साथीको घर बाहिर नरेशले हेरेर आएको जनाए । त्यस पछि उनले १-२ जनालाई ममताको बारेमा सोधखोज गर्दा उत्तर नपाएकोले उनले बिगतमा कहिलेकाही ममता घर नआउने भएकोले त्यसलाई सामान्य लिएको बताए ।

तर अगस्त २ मा के भयो : प्रहरी घरमै किन आयो :

अगस्त १ पछि अर्थात् अगस्त २ का दिन उनको घरमै प्रहरी आए । नरेशले बिगतमा पनि ममताले पहिले २ पटक घर छोडेर गएको सबै इतिहास प्रहरीलाई बताएका थिए । प्रहरीकै सुझाव र सल्लाह अनुसार सबै तिर १-२ दिन सोध खोज गर्न आग्रह गरेका थिए । नरेशले मनासस पार्क प्रहरी विभागका प्रहरीसंग पनि कुरा गरेको समेत बताए ।

त्यस पछि प्रहरीले अब एफआई आर अर्थात् प्रहरीलाई ममता बेपत्ता भएको सूचना दिनु पर्छ भने अनुसार अगस्त ४ का दिन प्रहरीहरु घरमै आएको र उनीहरुले हराएको सूचना दर्ता गराएका थिए । प्रहरीहरुले नरेशले छोरीलाई हेर्नु पर्ने भएकोले उनीहरु घरमै आएका थिए ।

अगस्त ५ का दिन न्यूयोर्ककी स्वास्थ्य परिचारिका (नर्स)ले सुनिता भण्डारीसंग किन अर्कै संस्थाबाट बेपत्ता भएको ५ दिन पछि सूचना निकालिन ? किन नरेशले स्वयम निकालेनन ?

नरेशका अनुसार उनले प्रहरीमा दर्ता गराए पछि सुनिता भण्डारीसंगको समन्वयमा आफैले तस्बिरहरु पठाएको र उनकै सहमतिमा सुनिता भण्डारीले प्रकाशित गरेको बताए । उनलाई आफ्नी पत्नी बेपत्ता हुँदा पनि किन आफूले प्रकाशित नगरेको भन्ने जिज्ञाशामा आफू अमेरिकी सेनाको संवेदनशील बिभागमा काम गर्ने कर्मचारीको साथै प्रारम्भ देखि नै सामाजिक संजालमा क्रियाशील नभएको कारण आफूले प्रकाशित नगरेको र उनि बेपत्ता भए देखि छोरीको देखभालमा केन्द्रित रहनु परेको समेत बताए । त्यसको बदलामा सुनिता भण्डारीले यसमा पहल गरि ईनेप्लिज मार्फत पहिलो समाचार गएको बताए ।

उनले ममता बेपत्ता भएको धेरै दिनमा सामाजिक संजालमा व्यक्तिगत( प्राइभेट)मात्र कि नराख्नु भएको किन सार्वजनिक (पब्लिक)नगरेको भन्ने जिज्ञाशामा आफूलाई यसबारे थाहा नभएको बताए । ईनेप्लिजका प्रतिनिधि र एड्रियन पोखरेलले त्यतिनै खेर उनको सामाजिक संजाल(फेसबुक) जाँच गर्दा उनले अज्ञानतावस(सेटिङ्ग)मा नमिलाएको देखिएकोले तत्काल एड्रियनले उनको सामाजिक संजाल अब देखि सार्वजनिक (पब्लिक) देखिने बनाई दिएका छन् ।

साथै उनि सेनामा कार्यरत भएकोले एड्रियन पोखरेल र इनेप्लिजलाई सेनाका माथिल्लो निकायबाट उनले लेखेको बारेमा उनलाई ध्यानाकर्षण समेत गरेको संदेश (टेक्स)समेत देखाए ।

अन्तर्वार्ताको क्रममा उनि दिन भरि छोरीको रेखदेखमा समय बिताउने गरिएको र उनि भए पछि छोरीले आमा नखोज्ने देखियो । जन्मे देखि नै नरेश र ममताले काममा जाँदा मिलाएर रेखदेख गर्ने गरेकोले छोरीले आमा अर्थात् ममताको सम्झना गर्दै नरुने बताए । नरेशले आमाको भूमिका निर्वाह गरि रहेको देखियो । उनीसंगै टेलीभिजन(दूरदर्शन)मा बच्चालाई मन पर्ने कार्यक्रम लगाए पछि रमाउने देखिएको साक्षीको रुपमा एड्रियन पोखरेल र ईनेप्लिजका प्रतिनिधि (विजय थापा )भएका छन् । उनले नै खाना खुवाउने ,सुताउने र डाइपर (थाङ्गना )फेर्ने काम निरन्तर गरि रहेका छन् ।

मनासस पार्क प्रहरीले के गर्दैछ ? उनि सँग कतिको सम्पर्कमा रहन्छन ?

नरेशका अनुसार हरेक दिन दुई पटक प्रहरीहरु उनको घरमा आउने क्रम जारी छ । र ,शनिबार र आइतबार प्रहरी नआएको तर अगस्त १२ सोमबारका दिन आफू मनासस पार्क प्रहरी चौकी जाने बताए । प्रहरीले आफ्नो काम निरन्तर गरि रहेको र आफूले पूर्ण सहयोग गरि रहेको बताए ।

को हुन् नरेश भट्ट :

नरेश भट्ट हाल अमेरिकी आरक्षित (रिजर्भ)सेनामा कार्यरत छन् । सन् २०१७ मा अमेरिकी सेनामा प्रवेश गरेका उनि अफगानिस्तान दुई पटक गएका छन् । नेपालमा उनि औषधी बिक्रि प्रतिनिधि (एमआर)मेडिकल सेल्स रिप्रिजेनटेटिभको रुपमा काम गर्थे ।

समुदायलाई अनुरोध : हाल उनको मुद्धा प्रहरीको अनुसन्धानको रहेको र सामाजिक संजालमा क्रियाशील हुन् माथिबाटै निषेध रहेकोले सामाजिक संजालमा आफ्नो न्युनतम उपस्थिति रहने ईनेप्लिज मार्फत सबैलाई जानकारी दिए ।

समुदाय प्रति कृतज्ञता : उनले समुदायले उत्साहजनक रुपमा ममता प्रति देखाउनु भएको माया ,सद्भाव ,सहयोग ,सोध ,खोज र समर्थनको लागि कृतज्ञ रहेको जनाए । आभार व्यक्त गर्न चाहेको बताए । म कसैसंग टाडा छैन ,छोरी आफैले हेर्नु पर्ने बाध्यता रहेकोले सामाजिक संजाल मार्फत व्यक्तिगत उत्तर दिन सम्भव नभएकोले यसलाई अन्यथा नलिन नरेशले सबैलाई अनुरोध गरेका छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया