निश्चित लक्ष्य प्राप्त गर्न गरिने पत्रकारिता(मिसन जर्नालिजम)को युग थियो । पत्रकारितामा व्याबसायिकता कसैलाई चाहिएको थिएन । केवल पञ्चायती शासन व्यबस्थाको अन्त गरेर बहुदलीय शासन पद्धति स्थापित गर्नु थियो । त्यो अघोषित लडाई थियो । यो लडाईका लडाकु थिए त्यसबेलाका सञ्चारकर्मी । त्यसको नेतृत्व पंतिमा थिए गोपालप्रसाद थपलिया ।
नेपालको दोलखामा जन्मिएका थपलियाले आफ्नो कर्म थलो पछि चितवनलाई बनाएका थिए । पञ्चायती शासकलाई राजसंस्थाको आड थियो । पञ्चायतको विरोध गर्दा राजाकै विरोध गरेको मानिन्थ्यो र राजकाज, राज्य विप्लवजस्ता मुद्धाको सजायँ सुनाएर जेल नेल भोग्नु पर्दथ्यो । पञ्च र राजा एक अर्काका पर्याय थिए । सेनाका कमाण्डर राजा थिए । पुलिस प्रशासन पञ्चहरु चलाउथे । पञ्चहरुलाई मन परेन भने या त जेल हाल्थे वा मौका पर्दा इनकाउन्टरमै पारिदिन्थे र अनाहकमा ज्यानै समेत लिन्थे । यस्तो एउटा कालो युगका योद्धा थिए गोपाल थपलिया ।
यी एउटा साहसी कलमजीविको इतिश्रि लेख्न तम्सिए अर्का बुद्धिजीवि ज्योतिलाल वन । वनले रनवन डुलेर थपलियाको जीवनलाई एउटै पर्दामा हेर्न सकिने गरी सर्लक्क सेतो कागजमा उतारे । चलचित्र जस्तो थपलियाको जीवनलाई एक ठाउँ बसेर हेर्न सकिने भयो । कलमकर्मी वनले झण्डै 3 सय विस पृष्ठकोे पुस्तक तयार पारी बजारमा ल्याएका छन ।
कहिल्यै नझुक्ने योद्धा – गोपालप्रसाद थपलिया नाम दिइएको पुस्तकमा केवल गोपालको जीवन कहानी मात्र छैन, नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको योगदान,तत्कालिन शासन सत्ता र बलिदानी संघर्षका झलकहरु,त्यस बेलाको आर्थिक सामाजिक परिदृष्य पुष्तकमा उल्लिखित छ । पुस्तकले थपलियाको संघर्षको क्रममा शारीरिक यातना पाए पछि त्यसको परिणामस्वरुप कतिपय दीर्घ रोकको शिकार हुन परेको र हाल त्यसको उपचाररत स्थितिको चर्चा गरेको छ । यसमा थपलिया बंशको इतिहास,गोपालको विद्यालय शिक्षा आरंभ,विद्याथी जीवन,सरकारी
सेवा,प्राध्यापन,पत्रकारितामा प्रबेश,त्यस क्रममा प्राप्त उपलब्धि र लक्ष्य प्राप्तिका लागि गरिएका संघर्ष पुस्तकमा समेटिएका छन । पैरबी प्रकाशनले बजारमा ल्याएको यस पुस्तकलाई विवश वस्तीले सम्पादन गरेका छन । त्यसमा थपलियाका समकालिन मित्र केदार न्यौपाने,पुस्तकका लेखक ज्योतिलाल वन,प्रकाशन गृहको तर्फबाट चन्द्र शिवाकोटीको तर्फबाट आ–आफ्नो मन्तव्य पनि राखिएको छ ।
पुस्तकका लेखक वन विक्रम संबत २००९ मा गोरखामा जन्मिएका हुन । प्रगतिशील लेखन क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएका वन नेपालको मजदूर आन्दोलनका पनि एक नेता हुन । उनी नेपाल ट्रेड युनियन महासंघ(जीफन्ट)का संस्थापक मध्येका एक हुन । थुप्रै पुस्तकका लेखक पत्र पत्रिकाका सम्पादक वन अहिले पनि हाम्रा सामाजिक विकृति,विसंगति,वर्गिय विभेद्,शोषण उत्पिडन,समाजका विकृत प्रथा–परम्परा आदिको अध्ययन अनुसन्धान गर्ने र प्रगतिशीलता तर्फ नेपाली समाजलाई डोहोर्र्याउन एक अभियान्ताको रुपमा क्रियाशील छन ।
प्रतिक्रिया