श्रावणको शास्त्रीय मान्यता र उत्पति :
श्रावण महिना धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाका प्राकृतिक विशेषता हुन् । मानवजीवन र प्रकृतिबीच घनिष्ट सम्बन्ध भएकाले सबै मानवका लागि यस महिनाको महत्व छ । त्यसमा पनि कृषिनिर्भर जीवन भएका र सनातन धर्मावलम्बी हामी नेपालीलाई श्रावण महिनाको महत्व बढी नै रहेको छ । नक्षत्र र पूर्णिमाको योगका आधारमा हाम्रा महिनाका नाम रहेका छन् । श्रवण नक्षत्रयुक्त पूर्णिमा हुने भएकाले यस महिनाको नाम श्रावण रहेको हो । दिन, वार, तिथि, पक्ष, महिना, ऋतु आदि समयचक्रको निर्धारण सूर्य र चन्द्रमाले गर्ने भएकाले महिना पनि सूर्य र चन्द्रअनुसार दुई किसिमका हुन्छन् । सूर्यका आधारमा हुने महिना सौर महिना हो भने चन्द्रमाका आधारमा हुने महिना चान्द्र महिना हो । सूर्यले एउटा राशिमा विचरण गर्ने अवधि एक सौर महिना हो । यसैलाई हामी वैशाख, जेठ आदि महिना भन्दछौँ । श्रावणमा सूर्य कर्कट राशिमा विचरण गर्दछन् । त्यसैले सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति वा कर्कट संक्रान्ति भनिन्छ । नेपाली समाजमा यही सौरमासअनुसारको श्रावण महिनालाई महत्व दिइन्छ ।
हामीकहाँ विशेष गरी महिलाहरूले व्रत उपासना गर्ने तर पुरुषहरू खासै सहभागी नहुने गरेको पाइन्छ । व्यावहारिक सजिलो–अप्ठेरो एउटा कुरा होला तर शास्त्रीय मर्यादा के हो भने विवाहित व्यक्ति धार्मिक क्रियाकलापमा सहभागी हुँदा दम्पतीसँगै सहभागी हुनुपर्छ, अन्यथा पूरा फल पाइँदैन । श्रावण कृष्णप्रतिपदादेखि श्रावण शुक्लपूर्णिमासम्म चन्द्रमाका आधारमा हुने श्रावण महिना हो । धार्मिक सांस्कृतिक प्रयोजनका लागि यही चान्द्र महिनालाई मान्यता दिइन्छ ।
स्कन्दपुराण अन्तर्गतको श्रावण माहात्म्यमा श्रावण महिनामा पर्ने प्रत्येक वार र तिथिको महत्व बताइएको छ र अन्य महिनामा गरेको भन्दा श्रावण महिनामा गरेका शुभकर्मको बढी फल प्राप्त हुने कुरा बताइएको छ । श्रावण महिनामा एक दिन भए पनि व्रत गर्नाले ठुलो पुण्य प्राप्त हुने कुरा स्कन्द पुराणमा उल्लेख छ । सनातन धर्मावलम्बी समाजमा श्रावण महिना धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मानिन्छ । हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिवोपासनाको महिना भएकाले यसको महत्व बढेको हो । पुराण र धर्मशास्त्रमा बताएजस्तै सबै नियम पालन
गर्न नसकिए पनि कम्तीमा श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा आम सनातनीहरूमा रहेकै छ । गङ्गास्नान गरी शिवजीलाई गङ्गाजल चढाउने बोलबमको परम्परापनि धेरैजसो श्रद्धालुहरूले गर्दै आएका छन् ।
श्रावण महिनामा शिवआराधनाको महत्व किन बढी रहन्छ ?
श्रावण महिना शिवजीको प्रिय महिना हो । हरिशयनी एकादशीदेखि भगवान् विष्णु योगनिद्रामा शयन गर्ने
भएकाले यसबेला भगवान् शङ्करले नै सृष्टिको पालन गर्ने भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मान्यता रहेको छ ।
स्कन्दपुराणअन्तर्गत शिव र सनत्कुमारको संवादको प्रसङ्गमा श्रावण महिनाको महिमा बताउँदै यो महिना
शिवजीको सबैभन्दा प्रिय महिना भएको कुरा बताइएको छ । त्यहाँ आएको कथनअनुसार दक्षप्रजापतिका घरमा
आयोजना भएको यज्ञमा तिरस्कृत सतीदेवीले यज्ञकुण्डमा प्रवेश गरेर आफ्नो देह त्याग गरिन् । प्राण त्याग्नुअघि
उनले अर्को जन्ममा पनि शिवजीलाई नै पति पाऊँ भन्ने कामना गरेकी थिइन् । अर्को जन्ममा हिमालय र
मेनकाबाट पार्वतीका रूपमा जन्मेकी उनले शिवजीलाई पति पाउने कामना गरेर श्रावण महिनाभरि निराहार
रही कठोर तपस्या गरिन् । फलतः उनले शिवजीलाई पतिका रूपमा प्राप्त गरिन् र आफ्नो कामना पूरा गरेरै
छोडिन् । त्यसैले श्रावण महिना शिवजीका लागि प्रिय भएको हो । यस कथा सस्वस्थानी वर्तकथामा पनि
उल्लेख गरिएको छ।
स्कन्दपुराणअन्तर्गत शिव र सनत्कुमारको संवादको प्रसङ्गमा श्रावण महिनाको महिमा बताउँदै यो महिना
शिवजीको सबैभन्दा प्रिय महिना भएको कुरा बताइएको छ ।
अर्को प्रसङ्गअनुसार मृकण्डु र मरुद्वतीका पुत्र मार्कण्डेय १६ वर्षको आयु पाएर जन्मेका थिए । पितामाताबाट
आफू अल्पायु भएको कुरा थाहा पाएपछि उनले सप्तऋषिको सहयोगले ब्रह्माजीबाट महामृत्युञ्जय मन्त्र प्राप्त गरे र
यही मन्त्र जप गर्दै श्रावण महिनाभरि कठोर व्रत गरी शिवजीको आराधना गरे । फलस्वरूप उनले शिवजीको
प्रसन्नताबाट मृत्युलाई जिते र चिरञ्जीवी हुने वर प्राप्त गरे । त्यसैले यो महिना साधना पूर्ण हुने र मृत्युलाई समेत
जित्न सकिने शुभ महिनाका रूपमा मानिन गयो ।
अर्को पौराणिक प्रसङ्गअनुसार देवता र दानव मिलेर समुद्र मन्थन गर्दा हलाहल विष निस्क्यो । विषको
प्रभावले संसार भस्म हुन लागेको देखेर देवताहरूले शिवजीको प्रार्थना गरे र शिवजीले त्यो हलाहल विषलाई
आफ्नो कण्ठमा धारण गर्नुभयो । विषले भगवान् शङ्करको कण्ठ जलेर निलो भएको देखेर सबै देवताहरूले
शङ्करजीलाई जल अर्पण गरे । विषको प्रभाव शान्त हुँदै गयो । भगवान् शङ्कर नीलकण्ठ बन्नुभयो । यो
घटना श्रावण महिनामा भएको थियो । त्यसैले श्रावण महिनामा शिवजीलाई गङ्गाजलले अभिषेक गर्दा उहाँ
प्रसन्न हुनुहुन्छ ।
यी सबै पौराणिक प्रसङ्गहरूको निष्कर्ष श्रावण महिना भगवान् शङ्करको आराधना गर्ने उपयुक्त महिना हो भन्ने हो । समाजशास्त्री, मानवशास्त्री, धर्मशास्त्री, ज्योतिष, वैज्ञानिक सबैले आआफ्ना युक्ति र प्रमाणले श्रावण महिना शुद्ध आहारविहार गर्ने, मन शुद्ध गर्ने र भगवानको आराधना गर्ने समय हो भनेर पुष्टि गर्दछन् ।
शिवोपासनाको दिन सोमवार नै किन ?
महिनाका दृष्टिले श्रावण, तिथिका दृष्टिले प्रदोष र वारका दृष्टिले सोमवार शिवजीको उपासना गर्ने विशेष अवसर हुन् । सोमवार चन्द्रमासँग सम्बन्धित वार हो । चन्द्रमाको अर्को नाम सोम पनि हो । पौराणिक आख्यानअनुसार दक्षप्रजापतिका श्रापले क्षयग्रस्त चन्द्रमाले श्रापबाट मुक्ति पाउनका लागि मृत्युञ्जय मन्त्र जप गर्दै भगवान् शिवजीको आराधना गरे । शिवजी प्रसन्न भएर दक्षप्रजापतिको वचन पनि रहने चन्द्रमाको इच्छा पनि पूरा हुने गरी वरदान दिनुभयो । चन्द्रमाले कृष्णपक्षमा प्रत्येक दिन एकएक कला घट्दै गएर औँशीमा क्षीण हुने र शुक्लपक्षमा प्रत्येक दिन कला बढ्दै गएर पूर्णिमामा पूर्णचन्द्र हुने वरदान पाए । शिवभक्त चन्द्रमाले आराध्य देव शिवजीको ज्योतिर्लिङ्ग स्थापना गरे । द्वादश ज्योतिर्लिङ्गमध्ये सोमनाथ चन्द्रमाले नै स्थापना गरेका हुन् । त्यसैले सोमवार शिवजीको प्रिय वार हो ।
स्कन्दपुराणको ब्रह्मोत्तरखण्डमा आएको प्रसङ्गअनुसार चित्रवर्माकी छोरी सीमन्तिनी चौध वर्षमा विधवा हुनुपर्ने भाग्य लिएर जन्मेकी थिइन् । यो कुरा थाहा पाएपछि उनले याज्ञवल्क्यकी पत्नी मैत्रेयीका उपदेशले सोमवार व्रत गरी शिवपार्वतीको आराधना गरिन् र शिवपार्वतीका प्रसादले अटल सौभाग्य प्राप्त गरिन् । त्यसैले सौभाग्य प्राप्तिका लागि सोमवार व्रत गर्ने र शिवपार्वतीको आराधना गर्ने गरिएको हो । अर्को रहस्यको कुरा सोमवारको व्रत विद्याप्राप्तिका लागि पनि गरिन्छ । ‘विद्या महेश्वरादिच्छेत्’, ‘विद्याकामस्तु गिरिशम्’ ( विद्याको कामना गर्नेले शिवजीको आराधना गर्नू ) भन्ने पौराणिक वचनहरूले पनि विद्याका लागि शिवजीको आराधना वाञ्छनीय हुन्छ भन्ने कुरा पुष्टि गर्दछन् ।
सोमवारको व्रत ब्रह्मचारी, गृहस्थ, कन्या, विवाहिता, विधवा, नारी, पुरुष सबैले गर्नुपर्ने व्रत हो भन्ने कुरा ब्रह्मोत्तरखण्डमा आएको छ ।
ज्योतिष शास्त्रअनुसार सोमवारका देवता चन्द्रमा हुन् । चन्द्रमा मनका कारक ग्रह हुन् । शिवजीले चन्द्रमालाई शिरमा मुकुटका रूपमा धारण गर्नुभएको छ । त्यसैले शिवजीको नाम चन्द्रशेखर पनि हो । भगवान्च न्द्रशेखरको आराधना गर्नाले मनलाई आफ्नो नियन्त्रणमा राख्न सकिन्छ । कामदेवलाई भस्म गर्ने भगवान्च न्द्रशेखरको उपासना, सौभाग्यको कामना, मनको नियन्त्रण र मर्यादित कामोपभोग परस्पर सम्बन्धित विषय नै हुन् ।
साउन सम्बन्धी नेपाली मान्यता र परम्परा :
सनातनीबहुल नेपाली समाजमा साउन महिना विशेष महत्वको मानिन्छ । साउन महिनाभरि माछामासु, लसुन–प्याजजस्ता अशुद्ध खाना नखाने, शुद्ध आचरणमा रहने, सोमवार शिवजीको पूजा आराधना र व्रत गर्ने, सम्भव भए घरमा रुद्राभिषेक गर्ने गरेर नेपालीहरू यो महिना बिताउँछन् । यो महिना वर्षका महत्वपूर्ण चाडपर्व सुरु हुने महिना पनि हो । साउने संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमाजस्ता बहुप्रचलित र नेवार समुदायमा प्रचलित गाईजात्रा तथा मिथिलाञ्चलमा प्रचलित मधुश्रावणी यसै महिनामा पर्दछन् । साउने संक्रान्तिका दिन लुतो फालेर वर्षभरिका लागि आरोग्यको कामना गर्दै नयाँ वर्षका पर्व–उत्सवहरूको सुरुआत गर्ने परम्परा हामीकहाँ छ ।
साउन महिनामा हरियो मिश्रित रातो सारी, हरियो चुरा, पहेँलो पोते र मेहेन्दी लगाएर अटल सौभाग्यका लागि भगवान् शङ्करको आराधना गर्ने परम्परा नेपाली महिलामाझ दिनानुदिन प्रिय बन्दै गएको छ । सौभाग्य र दीर्घजीवनका लागि शिवजीको आराधना गर्नुपर्ने कुरा माथि उल्लेख गरेका पौराणिक प्रसङ्गहरूले पनि प्रस्ट पारेकै छन् ।
हरियो मिश्रित रातो सारी, हरियो चुरा, पहेँलो पोते र मेहेन्दी महिलाहरूका सौभाग्य र सौन्दर्यका प्रतीक हुन् ।
यी कुरालाई प्रकृति, कामभावना, पतिपत्नीबीचको आकर्षण, पार्वतीले रुखका हरिया पात र बोक्रा धारण गरेर शिवजीको आराधना गरेको प्रसङ्गसँग पनि जोडेको पाइन्छ । ज्योतिष शास्त्रले आत्मबल, पिता, प्रभाव, आरोग्य, शक्ति, सम्पत्ति आदिको कारक सूर्य ग्रहको अनुकूलताका लागि रातो रङ, विद्या, बन्धु, विवेक, वाणी, व्यापार आदि कुराको कारक ग्रह बुधको अनुकूलताका लागि हरियो रङ र प्रज्ञा, धन, आरोग्य, सन्तान, सुख आदिको कारक ग्रह वृहस्पतिको अनुकूलताका लागि पहेँलो रङ उपयुक्त हुने कुरा बताउँछ । यिनै कुराको प्राप्तिका लागि नेपाली नारीहरूले लगाउने रातो, हरियो र पहेँलो मिश्रित साउने पोसाकलाई शास्त्रहरूले समेत समर्थन गरेको देखिन्छ ।
गृहस्थ जीवन बिताउनेहरू तिर्थ जादा सम्भव हुन्छ भने दुबै दाम्पत्य जानुपर्छ किन ?
हामीकहाँ विशेष गरी महिलाहरूले व्रत उपासना गर्ने तर पुरुषहरू खासै सहभागी नहुने गरेको पाइन्छ । व्यावहारिक सजिलो–अप्ठेरो एउटा कुरा होला तर शास्त्रीय मर्यादा के हो भने विवाहित व्यक्ति धार्मिक क्रियाकलापमा सहभागी हुँदा दम्पतीसँगै सहभागी हुनुपर्छ, अन्यथा पूरा फल पाइँदैन । परिस्थितिले गर्दा भौतिक असमर्थता हो भने पनि मानसिक रूपमा पति–पत्नीको बराबर सहभागिता हुनुपर्छ, दुवै श्रद्धावान् हुनुपर्छ । उर्वर श्रावण महिना, अर्धनारीश्वर महादेवको आराधना र सौभाग्यको कामनाले परस्परका भावनाको सम्मान गर्ने यही सन्देश दिन्छ ।
श्रावन मनाउदा ध्यानदिनु पर्ने महत्त्वपूर्ण कुरा :
वैदिक सनातनमा नारीहरुलाई लक्ष्मी र देवीको रुपमा सम्मान गरिएको छ । नारीहरुलाई शक्ति प्राप्तिको निमित्त रातो पहिरन शास्त्र, र विज्ञानले समेत प्रमाणित गरेको छ। यो एक शौभाग्यको प्रतीक पनि हो । सधवा नारीलाई रातो सिंन्दुर, पोते र चुराले सर्वशक्ति प्रदान गर्दछ। यो सुखद दाम्पत्य जीवनको प्रतिक पनि हो । रातो पहिरनले मातृशक्तिको शोभा, कान्ति, मति, धृति, सिद्धि, शौभाग्य, सन्तति सम्पूर्ण वृद्धि हुने र श्रीमानको आयुवृद्धि हुने कुरा पनि बताईएको छ ।
यसको विपरीत हरियो चुरा, मेहन्दि, हरिया वस्त्रहरु कस्तो अवस्थामा धारण गरिन्छ यो त हामी सबैलाई थाहा छदै छ होला। यदि थाहा छैन, वास्तविकता बुझ्ने हो भने हरियो पहिरन विधवा पहिरन हो। यदि श्रीमानको कसैको श्रीमान कदकथाचित मृत्यु भयो भने बिवाह सँगै सौभाग्य बनेर आएका चुरा फुटाईन्छ,सिउदोको सिन्दुर पुछिन्छ वा पखालिन्छ र पोते खोलिन्छ ताकि कि सबै सौभाग्यका सामान पतिको मृत्युु सँगै जान्छन र दुभाग्यका सामान प्रयोग गर्नुपर्छ। श्रीमानको १३ दिने काजकिरिया सकिए पछि हरियो , पहेलो र निलो बश्त्र परिने प्रचलन छ।
अर्को कुरा श्रावण महिनामा हरियो चुरा लगाउनुपर्छ भनेर शास्त्रमा कहिं कतै उल्लेख गरिएको चाहिँ छैन। केही व्यक्तिहरू उल्लेख गर्दछनकि विशेषगरी चुरा पोतेका व्यापारीहरु मुस्लिम समुदायका व्यक्तिहरु हुन्छन्। उनिहरु व्यापारीक चातुर्यका माहिर हुन्छन्। त्यसैले अरु रंगका चुरा विक्री भएको र हरियो रंग नेपालमा बिक्री नभएकोले यो भ्रम सृजना गरि अरवौं रुपैयाँ भारत भित्राउने खेलले नेपालमा विगत ५/७ बर्षबाट जरा गाड्न थालेको छ। हरियो रंग हिन्दू संस्कारको निमित्त पवित्र र पूज्य रंगको रुपमा लिईन्न, यो सुख समृद्धिको होइन, पितृको, पीडा, दुख, र वियोग को प्रतिक हो ।
पति जिवित हुंदाहुंदै कुनै पनि पत्नीले हरियो पहिरन गर्नु, हरिया चुरा लगाउनु कस्तो शोभा होला ? गम्भीरतापूर्वक सोचौं त आदारयिय आमा दिदीबहिनीहरु । अबिवाहितको हकमा भने हरियो चुरा र बस्त्र लगाउदा कुनै अशुभ मानिदैन किनकी उनीहरूको सौभाग्य खुल्न बाकी नै रहन्छ। हामी कागले कान लग्यो भनेरकागको पछि पछि नदुगुरौं कान छामौं। आफ्नो पहिरन र भाग्यको शोभा नबिगारौं। संस्कार र स्कृतिको जगेर्ना गरौं ,समाजमा विकृति र विसंगति नभरौं शान्ति भरौं र शान्ति मै मरौं।
भाग्यमानी नारीको शोभा रंग रातै हो यसमा दुई मत छैन, विधवा पहिरनमा म कस्ती देखिन्छु भनेर अनुभव गर्नु कत्तिको बुद्धिमानी हो बिचार गरौं !!
शास्त्र मानुहुन्छ या मान्नु हुन्न त्यो तपाईको इच्छा र स्वतन्त्रता कुरा हो तर यदि मान्नुहुन्छ भने अल्पज्ञान र भुलगतमा अब देखि चाहिँ शास्त्रीय अशुभ कार्य चाहिँ नगर्नुहोला ।
धन्यवाद
सबैको जय होस
सबैको मंगल होस
सबैको कल्याण होस
सबैको शुभ होस
✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक
प्रतिक्रिया