अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा अनेसासमा विगत लामो समयदेखि सक्रिय छन् । अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, केन्द्रीय कार्यसमितिको अध्यक्ष, बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष हुँदै वर्तमानमा बोर्ड अफ ट्रस्टीको सभापति हुन् । विश्वकर्माका शव्दसुमन कविता संग्रह, तमसुक कथा संग्रह र क्वारेन्टाइन उपन्यास प्रकाशित छन् भने महिनौ दिन लगाएर अवैधानिक तबरले अमेरिका आइपुगेका हजारौं नेपाली युवाहरूको कहालिलाग्दो लस्करको कथाको रूपमा हालै प्रकाशित पाताल उपन्यास चर्चामा छ ।
हरेकदुई वर्षमा हुने अनेसास केन्द्रीय कार्यसमितिको निर्वाचन अनुरुप २०२४ -२०२६ का लागि यही जुलाई पहिलो साता सम्पन्न हुन गइरहेको छ । उक्त निर्वाचन र अनेसासका गतिविधिमा केन्द्रित रहेर उहाँसंग इनेपलिज डटकमका सम्पादक विजय थापासंग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा केही जानकारी दिनु न ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भाषा, साहित्य, कला तथा संस्कृतिको माध्यमबाट नेपालबाहिर रहेका नेपालीहरूलाई जोड्ने उद्धेश्यका साथ सन् १९९१ मा स्थापित साहित्यिक, सामाजिक, गैरराजनीतिक, धर्मनिरपेक्ष संस्था हो । हाल विश्वका पचासभन्दा बढी देशहरूमा करिब तीनहजार आजीवन र ट्रस्टी सदस्यहरू, एकसयबीस ट्रस्टीहरू, एकसय च्याप्टरहरू रहेका छन् भने बोर्ड अफ ट्रस्टी, केन्द्रीय कार्यसमिति र च्याप्टर अनेसासका मिसन, भिजन तथा उद्धेश्यका साथ विभिन्न कार्यहरू गर्दै आइरहेका छन् । नेपाल बाहिर रहेको एक पुरानो र ठूलो संस्थाको रुपमा अनेसासले नेपाली भाषा तथा साहित्यको संरक्षण, सम्बर्धनको क्षेत्रमा विशेष भूमिका निर्वाह गर्दै आएको छ ।
अनेसासले हालसम्म के कस्ता कामहरु गर्दै आएको छ ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्र्तदृष्टि लगायतका साहित्यिक कृतिहरु प्रकाशन, उत्कृष्ट पुस्तक पुरस्कार, प्रतियोगिताहरूको आयोजना, स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सभा सम्मेलनहरूको आयोजना, पाठशालाहरू संचालन, बाल कार्यक्रम, दिवसहरू मनाउने, अशक्त साहित्यकारहरूलाई सहयोग गर्ने, नेपाली साहित्यका कृतिहरु अनुवाद गर्ने लगायतका विभिन्न सभा समारोह आयोजना, कृतिहरू विमोचन, स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।
अनेसास केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रष्टीका बीचमा के भिन्नता छ, प्रष्ट पारिदिनु हुन्छ कि ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विधान २०२१ (सातौं सशोधनसहित) बमोजिम अनेसासका तीन मुख्य निकायहरू छन्, बोर्ड अफ ट्रस्टी, केन्द्रीय कार्यसमिति र च्याप्टर । यिनका छुट्टाछुट्टै काम, कर्तव्य र अधिकारहरू छन् । च्याप्टरहरुले अनेसासको स्थानीय निकायस्तरका कार्यहरू गर्ने निकाय हो भने केन्द्रीय कार्यसमितिले अनेसासको भिजन, मिसन तथा उद्धेश्य पूरा गर्न संस्थाको दैनिक गतिविधिहरू सञ्चालन गर्ने, बोर्ड अफ ट्रस्टीबाट स्वीकृत गतिविधिहरू संचालन गर्ने, साहित्यिक–गैर साहित्यिक निकायहरूसंग समन्वय राख्ने, च्याप्टरहरुसंग समन्वय गर्ने, वेभसाइट व्यवस्थापन गर्ने, संस्था नवीकरण गर्दछ । त्यस्तै बोर्ड अफ ट्रस्टी संस्थाको सर्वोच्च निकाय हो । यसले संस्थाको भिजन, मिसन, उद्धेश्य पूरा गर्न केन्द्रीय कार्यसमितिबाट प्रस्तुत कार्ययोजना अनुमोदन गर्ने, संस्थाको विधानबमोजिम दीर्यकालीन योजनाहरू तर्जुमा गर्ने, उत्कृष्ट पुस्तक पुरस्कार कोष स्थापना गरि पुरस्कार प्रदान गर्ने, अनेसास प्रज्ञा प्रतिष्ठान समिति गठन गरी प्राज्ञिक क्षेत्रका कार्यहरू गर्ने, संस्थालाई आर्थिक जोखिमबाट बचाउने र संस्थाको गरिमालाई बचाइ राख्ने कामहरु गर्दछ ।
केही संस्थाहरू टुटफुट र छिन्न भिन्न भएको देखिन्छ । अनेसासको ट्रस्टी भएकै कारण अनेसास जिवन्त रहेको र पुस्तक पुरस्कार विगत लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको । संस्थालाई जिवन्त राख्न, केन्द्रीय कार्यसमितिले काम गर्न नसकेको अवस्थामा पनि संस्थाका नियमित र कानूनी दायित्वबाट बचाइराख्न पनि ट्रस्टीले अविच्छिन्न रुपमा भूमिका निर्वाह गरिरहेको हुन्छ ।
केन्द्रीय कार्यसमितिको आगामी कार्यकालका लागि निर्वाचन कहिले हुँदैछ, बताइदिनुहुन्छ कि ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति (२०२४–२०२६) को निर्वाचन स्वतन्त्र, निस्पक्ष र धाँधलीरहित सम्पन्न गर्न अनेसास ट्रस्टी तथा पत्रकार गुणराज लुइटेलको संयोजकत्वमा ट्रस्टी डा. चुडामणि खनाल र आइटी विज्ञ कविता घिमिरे रहनुभएको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ । सो अनुरुप उम्मेदवारी दर्ता गर्ने समय जुन २२ देखि २६ रहेको छ भने निर्वाचन जुलाई ६ र ७ मा अनलाइनबाट हुने छ । विस्तृत जानकारीका लागि संस्थाको वेभसाइट www.inls.orgहेर्नुहुन अनुरोध गरिन्छ ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने आधार के देख्नुहुन्छ ?
प्रथमतः निर्वाचन समितिमा समाजमा लामो समयदेखि विभिन्न क्षेत्रमा योगदान गर्दै आउनुभएका प्रतिष्ठित, अनुभवी व्यक्तिहरू हुनुहुन्छ । दोस्रो, निर्वाचन आयुक्तहरूले विगतका धेरै निर्वाचनहरू निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गरिसक्नु भएको छ । तेस्रो, निर्वाचन भोटिङ सफ्टवेयरका माध्यमबाट गरिन्छ । यसका अतिरिक्त अनेसासका सदस्यहरू बौद्धिक व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरूलाई थाहा छ, कस्तो नेतृत्व चयन गर्ने, निर्वाचन कसरी सफल बनाउन सकिन्छ । साथै सबै सदस्यहरू संयमित भएर निर्वाचन सफल पार्न सबैसंग अनुरोध पनि गर्दछौं ।
आगामी कार्यकालको लागि नेतृत्वको अवस्था कस्तो देख्नुहुन्छ ?
अनेसासको यो सत्रौं कार्यकाल हो । यस अवधिमा विभिन्न नेतृत्वहरूले योगदान गरिसकेका छन् । हालसम्मको प्रतिस्पर्धी हेर्दा आगामी कार्यकाल पनि सफल रहने आशा देखिएको छ । अध्यक्षका दुवै प्रत्यासी सर्वज्ञ वाग्ले र विमला निरौला संस्थामा लामो समयदेखि संलग्न हुनुहुन्छ । दुवैलाई संस्थाको विधान, कार्यशैली, संगठन, गतिविधि र यसको भिजन, मिसन जानकारी छ । यसका अतिरिक्त अन्य पदमा उम्मेदवार हुन इच्छुकहरू पनि उस्तै सक्रिय र अनुभवी हुनुहुन्छ ।
धेरै सदस्यहरुको चाहना साहित्यिक संस्थामा निर्वाचन नगरि निर्विरोध भइदिएको भए उत्तम हुन्थ्यो नि भन्ने थियो, निर्विरोध हुन सक्दैन यसपटक ?
यहाँले राख्नुभएको सही हो । निर्वाचन निर्विरोध रुपमा हुन सके त सुन्दर हुने थियो नि । तर हाम्रो संस्कारमा त्यस्तो हुन अलिक संभव छैन । सबैलाई पदमा पुग्ने र केही योगदान गर्ने रहर सबैको हुँदो रहेछ । एकले अर्कोलाई पद छोड्न नसक्ने । सदस्यहरूले संस्थामा योगदान गर्ने चाहना राख्नु स्वाभाविकै हो । फेरि निर्वाचन एक प्रजातान्त्रिक प्रणाली भएकोले पनि निर्वाचन प्रक्रियाबाट आफ्ना सदस्यहरूबाट चुनिएर आउनु उत्तम प्रक्रिया हो । त्यसमा पनि निर्वाचनमा कसैलाई नउठ्न भन्न व्यक्तिगत स्वतन्त्रतामा हनन हुन जान्छ भन्ने लाग्छ मलाई । संस्थामा योगदान गर्छु भनेर कटिवद्धता देखाउनु संस्थाको गौरव पनि त हो नि ।
विगतका निर्वाचनमा धेरैजना सदस्यहरुले भोट दिनबाट बन्चित भएको गुनासो छ नि ?
विगतमा त्यस्ता समस्या र गुनासाहरू अनाएका होइनन् । सदस्यता विवरण अपडेट गर्न छुटेका, इमेल परिर्वतन भएर जानकारी नदिएका, व्यालेट जंक मेलमा भएका आदि कारण छुट हुन गएका हुन् । इमेल परिर्वतन भएका अथवा विगतमा छुट हुन पुगेका सदस्यहरूको विवरण पठाउन सम्बन्धित च्याप्टरहरूलाई सुसुचित गरिएको छ । यसपटक सबै सदस्यहरूले मतदान गर्न पाउने छन् भन्ने आशा लिएका छौं ।
निर्वाचनका सम्बन्धमा केही थप गर्न चाहनुहुन्छ कि ?
निर्वाचन एक प्रजातान्त्रिक अभ्यासको हो । निर्वाचनमा गाली गलौज नगरिकन संयमित हुन, निर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गराउन निर्वाचन समितिलाई मद्धत गर्नुहुन सम्पूर्ण आजीवन, ट्रस्टी सदस्यहरू, साहित्यकार महानुभावहरू, उम्मेदवारहरूमा अनुरोध गर्दछौं । यसका अतिरिक्त संस्थाप्रति गलत, भ्रमपूर्ण अफवाह फैलाउने ढंगले गलत सूचनाहरू सम्प्रेषण नगर्न, तथा अरूको मानप्रतिष्ठामा आघात पुग्ने गरी र संस्थाको गरिमामा आघात पुग्ने गरी नलेखिदिनुहुन सम्पूर्ण सदस्यहरू, पत्रकारहरू तथा उम्मेदवारहरूमा हार्दिक अनरोध गर्दछौं ।
प्रतिक्रिया