हाईप्रोफाईल बलात्कारका घटनाहरुमा नेपाली समाज

शुसिल थापा २०८१ जेठ २४ गते २२:३७ मा प्रकाशित

नेपाली समाजमा बलात्कार जस्तो गम्भिर विषयलाई सामान्य रुपमा हेरिने र अझै समाज वा राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुवाट पिडकको पक्षमा सहानुभूती प्रदान गर्ने प्रवृतीले प्रश्रय पाएको देखिन्छ । अझै पिडितलाई हानी पुग्नेगरी पिडकको पक्षमा महिमा गाउने र अपराध वा घटनालाई सामान्यकरण गर्ने प्रयास भएको पाईन्छ । नेपालमा तत्कालिन समयमा भएका केहि घटनाहरुलाई केलाउने हो भने, सेलिव्रेटीका नाममा वा त्यसको वलमा यस्ता घटनाहरुलाई प्रश्रय दिईनुले हाम्रो समाज अराजक वन्दै गएको भान हुन्छ । कानुनलाई आफ्नो पक्षमा पार्नकालागी हर प्रकारका प्रयत्न गरीनु र पिडितलाई कमजोर वनाउन अनेकन लाल्छनाहरु लगाईनुले त बलत्कृत महिलाको सुरक्षित हुन पाउने अधिकारलाई पूर्ण रुपमा हनन गरेको छ भन्ने लाग्छ । बलात्कार एक निकृष्ट प्रकारको अपराध हो भन्ने जानेर पनि, किन हाम्रो समाज निर्दयी रुपमा शक्ति र सेलिव्रेटी भएको आडमा यस्तो जघन्य अपराधलाई सहानुभुती प्रदान गर्दैछ । यो एक सोचनिय विषय हो ।

बलात्कार एक प्रकारको यौनिक हिंसा हो, जहाँ कुनै व्यक्तिको सहमति विना उसको साथ बलपूर्वक सम्भोग वा अन्य प्रकारका यौन कृयाकलाप गरिन्छ । आजको दुनियाँमा बलात्कारलाई कानुनि रुपमा अपराध मानिएको छ, तर पनि यस्ता घटनाहरु विकशित मुलुक देखी अल्पविकशित मुलुकहरुमा समेत कुनै न कुनै रुपमा घटिनै रहेका छन । बलात्कारको सिकार महिला वा पुरुष जो पनि हुन सक्दछन, तर प्रायजसो अवस्थामा महिलाहरु यस प्रकारको घटनावाट पिडित भएको पाईन्छ । अझै नावालिकहरु यस प्रकारका घटनावाट पिडित भएको देखिन्छ । नावालीकहरु मानसिक रुपमा यस्ता घटनाहरुलाई वुझ्न सक्ने भै सकेका हूँदैनन । साथै उनीहरुलाई अपराधकर्मीले डर, धम्की वा लोभ देखाएर वसमा राख्न सफल हुन्छ । जसले गर्दा अपराधीहरु कानुनी दायरामा आउने सम्भावना कम रहन्छ । यस प्रकारको घटनाहरुले पीडितहरुमा शारीरिक, भावनात्मक र मनोवैज्ञानिक प्रभाव गहिरो र दिर्घकालिन हुन सक्छ । यसले पीडितलाई लामो समय सम्म आघात, चिन्ता र मानसिक स्वास्थ्यमा नकारात्मक समस्याहरु सिर्जना गर्दछ । जव कोही बलात्कारको शिकार हुन्छ, उसलाई उचित कानुनी, चिकित्सकिय तथा परामर्शिय सेवाको जरुरी हुन्छ । साथसाथै अपराधमा संलग्न हुनेहरुलाई कानुनी दण्ड प्रदान गर्नु पनि त्यतिकै महत्वपूर्ण विषय हो । तर किन हाम्रो समाज अपराधको निष्पक्ष छानविनको सवालमा कमजोर छ र भावनाको खेती गरेर अपराधीलाई खुला गर्न लालाईत देखिन्छ ।

कतिपय बलात्कारका घटनाहरु वहिर आउँदैनन वा कानुनी उपचार सम्म पुग्दैनन । घटना प्रहरी सम्म पुगे पनि धेरै जस्तो अवस्थामा सामान्य घटनाहरुलाई जस्तै मिलाउने प्रयास गरीन्छ । खास गरी पद र पैसामा पहुँच भएकाहरुद्धारा घटाईएका बलात्कारका घटनाहरुलाई त शक्ति र शानका आधारमा सहजिकरण गरीन्छ । नेपालमा भएका तात्कालिन घटनाहरुलाई हेर्दा सेलिव्रेटीहरु कुनै न कुनै रुपमा आफ्नो शक्तिको प्रयोग गर्न सफल भएकै हुन भन्ने लाग्छ । लोकतन्त्रमा अदालतको निर्णयलाई पुर्ण सम्मान गर्नु नै पर्दछ । तर त्यसो भन्दैमा विषयमा चर्चा र विष्लेषण गर्नु नै हुन्न भन्ने छैन ।

नेपालमा भएका तात्कालिन घटनाहरुलाई हेर्दा सेलिव्रेटीहरु कुनै न कुनै रुपमा आफ्नो शक्तिको प्रयोग गर्न सफल भएकै हुन भन्ने लाग्छ ।

पहिलो तथ्य के हो भने, हाम्रा राजनितीक नेतृत्वकर्ताहरु नै अनैतिक छन । राजनैतिक शक्तिका आडमा कुनै राजनैतिक व्यक्ति संलग्न यौनजन्य घटनाहरुमा जनताले देख्ने वा वुझ्ने गरी कानुनी कारवाही भएको त पाईदैन नै । उनीहरु संलग्न भएको राजनैतिक दलले पनि नैतिक रुपमा जिम्मेवार ठहर्याउँदैन, वरु पुरस्कृत गरेर दलको थप जिम्मेवारी प्रदान गर्दछ । यसवाट के प्रष्ट छ, भने राजनैतिक दल र तिनका नेता तथा कार्यकर्ताहरु पनि यस विषयमा गम्भिर छैनन । पुराना हुन वा नयाँ, सवै राजनैतिक दलहरुमा चरित्र निर्माण आजको प्रमुख चुनौति हो । चारित्रीक राजनीतिक दलहरुवाट मात्र सभ्य समाज निर्माणमा सहायता पुग्दछ । देशको जिम्मा लिनेहरु नै बलात्कार जस्तो जघन्य विषयको गाम्भिर्यतालाई वुझ्दैनन भने, समाज कसरी असल वन्ने कल्पना गर्न सकिन्छ । केही दिन अगाडी माओवादीका नेता जनार्दन शर्माले एकजना बलात्कारको आरोपमा जिल्ला अदालतवाट दोषी ठहरीएका र उच्च अदालतवाट सफाई पाएका खेलकुद क्षेत्रका व्यक्तिको पक्षमा खुलेरै फेसवुकमा स्टाटस लेखे, “क्रिकेटर सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद । नेपाली क्रिकेटले नयाँ उचाई हासिल गर्नेछ ।” मैले उनको यो लाईन पढ्दै गर्दा यति मात्र भन्न सक्छु कि उनी जस्तो दरिद्र र भ्रष्ट मानसिकता भएको नेता पाउनु नेपालीको लागी दुर्भाग्य शिवाय केही हैन । यो स्टाटस लेख्दै गर्दा उनले के हेक्का राखेनन भने पिडीत महिला सर्वोच्च अदालत जाने सम्भावना वाँकि नै छ, र अदालतको पूर्ण फैसला समेत आईसकेको छैन साथै लामिछाने एउटा अदालत वाट दोषी करार भएका व्यक्ति हुन । यो एक प्रतिनीधी घटना मात्र हो । यहा अरु कैयौ मानिसहरु होलान जो लामिछानेलाई आफ्नै तरिकाले निर्दोष मान्ने र पिडीत र घटनालाई नकारात्मक प्रभाव पार्न लागी परेका छन ।

दोस्रो, हामी भावनामा वहकिन्छौं । जस्तो की, सन्दीप राष्ट्रका गहना हुन, उनले राष्ट्रलाई विश्वमा चिनाउँछन, आदी । तर, अर्को महत्वपूर्ण तथ्य के भुल्छौ भने, उनले हाम्रो भावनाको वलमा अपराध गरेका पनि हुन सक्छन । कुनै पद, पैसा वा नामका आधारमा कसैले पनि अपराधमा छुट पाउँनु हुँदैन । घटनाको निष्पक्ष छानविन र दोषीमाथी कारवाही हुनै पर्दछ, चाहे त्यो मान्छे जतिनै शक्तिशाली किन नहोस । अझै राष्ट्रका गहना कहलाउनेहरुले त आफुलाई उदाहरणीय रुपमा प्रस्तुत गर्नै पर्छ । सन्दीप हुन वा पल हुन, कसैलाई पनी सेलिब्रेटी भएका आडमा अपराध गर्ने छुट छैन । नेपालीको भावनामा खेल्दै आफ्नो अपराधलाई केही दिन त छोप्न सकिएला तर यसको नतिजा भविश्यमा कतै न कतै देखिने नै छ । मानौ, सन्दीप क्रिकेट खेल्न अमेरीका गए र त्यहाँ उनलाई बलात्कारको आरोपमा मुद्धा लगाइयो भने के होला । उनको छवी विश्वका अन्य खेलाडीका सामु यसै पनि गिरेकै हुनेछ, साथसाथै, उनीमाथी अहिलेकै आरोपमा अन्य देशमा पनि मुद्धा लाग्न सक्ला । त्यसैले भावनाले मात्र संसार चन्दैन, र यथार्थमा पिडितको नजरवाट घटनालाई हेरिनु पर्दछ भन्ने लाग्छ ।

अर्को भन्नै पर्ने हुन्छ की, हामी कानुनलाई भिडको पछाडी लगाउने प्रयासमा छौ । कुनै अपराधको कसुर लागेको वा सजायँ तोकीएको वा सजायँ भोगेर निस्केको मान्छेलाई अविर जात्रा गरेर, कस्तो खालको समाजको उदाहरण दिंदैछौ । अपराधीलाई महान वनाउने कार्यले पिडितलाई अझै पिडा दिइरहेको त हुन्छ नै, यस प्रकारको गतिविधीले अन्य अपराधीक मानसिकताका मानिसहरुलाई पनी प्रोत्साहन गरीरहेको हुन्छ । यसर्थ, असल नागरीकको दायित्व भनेको कानुनलाई निर्धक्क रुपमा काम गर्ने वातावरण वनाउनु नै हो । एक पटक हाम्रा छोरीचेलीहरुलाई बलात्कारको पिडितका रुपमा सोचौ त । के हामीलाई सहन हुन्छ । आफूलाई पर्दा हारगुहार गर्ने तर अरुलाई फरक ढंगले हेर्ने चरित्रमा सुधार आउनै पर्दछ । खास गरी हाई प्रोफाइल बलात्कारका घटनाहरुमा अपराधकर्मीले मुक्ति पाउने सम्भावना वढि हुने हुनाले नागरीक समाज सजग हुनै पर्दछ ।

अमेरीकामा सन २०१८, मे महिनामा हार्भि वाईन्सटिन नाम गरेका एक शक्तिसाली फिल्म निर्माता जो बलात्कार तथा यौनहिंसामा संलग्न भएको आरोपमा पक्राउ परे । सुरुमा वाईन्सटिनलाई दुई जना महिलाहरुमाथी यौन अपराध गरेको आरोप लागेको थियो । पछि अन्य महिलाहरु पनि अगाडी आए र आफुहरुमाथी पनि वाईन्सटिनले यौन शोषण गरेको आरोप लगाए । सन २०२० को फेब्रुवरीमा उनि माथी लगाईएको आरोपहरु प्रमाणीत भयो र उनी दोषी करार भए । उनलाई २३ वर्षको कारागार सजायँ तोकियो । जव उनी जस्तो शक्तिशाली व्यक्तिमाथी कारवाही भयो, त्यस घटनाले अन्य यौन शोषणमा परेका महिलाहरुले पनी आफ्नो गुनासो लिएर न्यायकालागी अगाडी आए । यसै घटनासंग जोडिएर मिटु अभियान नै अगाडी वढ्यो । यसले के वुझिन्छ भने, अमेरीका जस्तो विकशित देशमा पनि यौन हिंसामा परेका महिलाहरु सहजै वाहिर आउन डराउँछन वा न्यायालय सम्म पुग्न सक्दैनन, खास गरी हाई प्रोफाईलका मान्छेको संलग्नता भएको अवस्थामा । यो एक गम्भिर विषय हो । हाम्रो जस्तो समाज, जहाँ न्यायको समेत किनवेच हुन्छ भनिन्छ, त्यहाँ त झनै पिडितहरु वाहिर आउने सम्भावना कमजोर हुन्छ । अहिले नेपालका अदालतहरुवाट आएका केही बलात्कार र यौनहिंसा संग सम्वन्धित निर्णयहरुले अदालत नै विवादित वनेको अवस्था समेत छ ।

अनलाईन खवरको जेठ ६ गते प्रकाशित समाचारमा भनिएको छ, जिल्ला अदालतमा बहस हुँदा लामिछाने र उनका पक्षवाट पिडीत महिलालाई डिमोरलाईज गर्ने प्रयास भएको थियो । पिडीतलाई पिडकले फोन वा म्यासेज गरेर कानुन विपरित विभिन्न प्रलोभन देखाउँथे । यो पढेर मलाई अझै दुख के लाग्यो भने, एउटा पिडित महिला जव कानुनको सहारामा अदालत पुगेको हुन्छ, उसलाई आरोपीत अपराधीले व्यक्तिगत रुपमा कसरी सम्पर्क गर्ने अधिकार प्राप्त गर्यो । यदि लामिछानेले अपराध गरेका थिएनन भने किन उनले पिडित महिलालाई पटक पटक प्रभावमा पार्न खोजे, यो एउटा सोचनिय विषय हो । यहाँ एउटा भाष्य के पनि निर्माण भएको छ भने, संगै हिंड्ने, अनि बलात्कार भयो वा यौन हिंसा भयो भन्ने भनेर पिडित महिलालाई नै दोष देखाईन्छ । तर बुझ्नु पर्ने कुरा के छ भने, सन्दीप वा पल शाह जो सुकै हुन । उनीहरु प्रभाव भएका मानिसहरु हुन, र यस्ता मान्छेहरुसंग सामान्य नागरीक नजिक हुन चाहान्छ । उनीहरुको काम वा फेममा फलोअर्सहरु मानसिक रुपमा नजिक हुन्छन । त्यही फेम र नेमको आडमा सेलिव्रेटीहरु अपराध वा हिंसा गर्ने अवसर निर्माण गर्दछन । अर्को वुझ्नु पर्ने कुरा के हो भने, जो समाजको सेलिब्रेटी हुन्छ, उसमा दायित्व पनि हुन्छ । के सहि हो र के गलत हो भन्ने छुट्याउने जिम्मेवारी उसको नै हो । सेलिब्रटीको खोलमा हुने अपराध र यौन हिंसा अत्यन्त डरलाग्दो छ । तसर्थ न्यायका लागी आवाज उठाउनु र निष्पक्ष छानविनकोलागी दवाव सिर्जना गर्नु हामी सचेत नागरीकको दायित्व हो ।

प्रतिक्रिया