लघु कथा – विचरो चन्द्रे 

इनेप्लिज २०८१ जेठ ९ गते १०:२२ मा प्रकाशित

साँझ डल्केछी, खुट्टा लरवराउदै भित्र छिरेको चन्द्रेले सुन्दरीको छेउमा पुगेर,हान्ने गोरुले सिङ्ग तेर्साएर आए जस्तो गर्दै ” के…. प..का..इ…स हँ …बु…ढी ? कहिल्यै मलाई मन पर्ने पकाउँदिनस् ! तैंले मलाई हेपिसकिस्,” भन्यो ।

रातोदिन रक्सी धोकेर आफ्नो जीउ थिलथिलो पर्ने गरि पिटेको सम्झदै सुन्दरीले काखीमा च्यापेको डालोले थकेल्दै, ” कुकुरको मुत धोकेर स्वास्नी भकुर्ने स्वाँठलाई चौरासी ब्यञ्जन टक्रयाउनु पर्यो । लाज पचाएर स्वाँङ्ग पार्दै छेउ छेउ टाँसीदै छौ ? लाज सरम छैन,छोराछोरी जवान हुन लागे । अझै खुट्टा बङ्याउँदै हिड्दै छौ ! यस्तालाई मैले के पकाएर खानदिनु परो ?

भट्टिकोले घिचाएकोले अगाएनौं ? दुनियाँसगँ नारिएर हिडेको विर्सेर अहिले मसँग टाँसिन्छौं,छैन खानासाना ! जाउ बाहिर, पिडितिर ! सुत्ने हो कि ! तेर्सिने हो मलाई मतलव छैन।” भन्दै बाहिर धकेल्दी ।

" बु...डी.. जे भएनी सुत्न ..त .. तैसँग पर्यो ..नि.. ! यस्तो नगर न प्यारी !  ती.... ती.. तिम्रो साथ नभए मलाई निद्रा पर्दैन । ...के गरौं ?  म जहाँ गएनि, जो...स..... सँग नारिए ....नि ...आ...आखिर तिम्रो पोइ मै हुँ । " 

भन्दै गन्थनाउदै सुन्दरीको फरियाभरी छाद्यो । छादेको लुगासँगै सुन्दरीले चन्द्रेलाई एक बाल्टीन चिसोपानी खन्याइ दि ।
“आछु..छु .. किन यस्तो गर्या हँ ?” भन्दै चन्द्रे जीउ सुमसुम्याउदै थियोे । सुन्दरीले हतारिदै भित्र पसी र ढोका थुनी र आग्लो लगाइ दि ।
जाँडले फिटान चन्द्रे, पछाडी फर्केर आफ्नु छेउको भित्तालाई समातेर य…सो.. नगर न प्यारी, म त तिम्रै… ह… हो भ…भन्या भनेर छामछाम छुमछुम पार्दै,मेरी प्यारी भन्दै भित्तालाई नै म्वाई खान थाल्यो ।

सुन्दरीले ढोका खोली,हातको डोरी चन्द्रेले समातेको थाम नेर राखेर चन्द्रेलाई च्याप समातेर त्यै थाममा पाता फर्काएर बाँध्न खोज्दै थि । चन्द्रेले , ” म तेरो लोग्ने हो बुझिस् ।” भन्दै सुन्दरीलाई लात्ती दन्कायो । चन्द्रेको लात्तीले थुचुक्कै भएकी सुन्दरी थाम समात्दै उठी र भित्र छिरेको दुई चार मिनेट पछि छोरो र छोरी च्यापेर तँलाई अब छोड्दिन बुझिस । भन्दै प्रहरी चौकीतिर लागि !

सीता ओझा
वि स २०७८/०३/ ०५

प्रतिक्रिया