इरानी राष्ट्रपति चढेको दुर्घटनाग्रस्त उदग्रबिमान (हेलिकप्टर )अझै फेला परेन ,नौ जना सवार रहेको पुष्ठी

इनेप्लिज २०८१ जेठ ७ गते ०:५४ मा प्रकाशित

इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको दुर्घटनाग्रस्त उदग्रबिमान (हेलिकप्टर )अझै फेला परेको छैन भने व्यापक खोजी जारी राखिएको सिएनएनले जनाएको छ । आइतवार उत्तरपश्चिम इरानमा दुर्घटनाग्रस्त भएको उदग्रबिमानमा नौ जना सवारहरु रहेको इरानको तस्निम समाचारले बताएको छ।

इरानी राष्ट्रपति इब्राहिम रैसी,विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान र अन्य अधिकारीहरू सवार उदग्रबिमान आइतवार दुर्घटनामा परेपछि इरानको विदेश मन्त्रालयले खोज र उद्धार कार्यमा सहयोग गर्न इच्छुक धेरै राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रशंसा गरेको छ।

समर्थन व्यक्त गर्ने नेताहरूमा इराक, पाकिस्तान र भारतका नेताहरू रहेका छन् । त्यस्तै’ आर्मेनिया, साउदी अरेबिया, टर्की र युरोपियन संघले पनि सामाजिक संजाल एक्स मार्फत उद्धार कार्यमा सहयोग प्रदान गर्न प्रस्ताव गरेका छन ।

तर टर्की र रुसले खोजी कार्यमा सघाउन विमान पठाएको बताएका छन् । रुसले दुर्घटनाग्रस्त भएको स्थानमा विशेष विमान र ५० पेशेवर पहाड उद्धारकर्ता पठाउने योजना बनाएको इरानी सरकारी समाचार सँस्था इर्नाले जनाएको छ।

उद्धार टोलीले दुर्घटनास्थल पत्ता लगाउन नसकेको इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिर-होसेन कुलिभान्डले इरानी सरकारी दूरदर्शन (टिभी) लाई बताए।

यसअघि एक सैन्य नेतृत्वले उदग्रबिमान बाट आएको सङ्केत र चालक दलका सदस्यको दूरसंचार घुम्तीयन्त्र (मोबाइल फोन)बाट विमानको सही स्थान पत्ता लागेको सरकारी समाचार एजेन्सी इर्नाले बताएको थियो।

विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियान पनि बोकेको विमान देशको पूर्वी अजरबैजान प्रान्तमा खसेको थियो । कुहिरोको कारण आपतकालीन टोलीहरू त्यहाँ सम्म पुग्न नसकिएको इर्नाले जनाएको थियो ।

आइतबार दुर्घटनाग्रस्त भएको क्षेत्रमा २० उद्धार टोली र मानव रहित यान (ड्रोन)पठाइएको थियो ।

प्रतिक्रिया