मध्य गाजामा रहेको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा ३५ जनाको मृत्यु , दक्षिणी गाजामाको भिडन्तमा दुई इजरायली सैनिकको मृत्यु

इनेप्लिज २०८१ जेठ ६ गते १२:१८ मा प्रकाशित

मध्य गाजामा रहेको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा ३५ जनाको मृत्यु भएको छ । आइतबार बिहान मध्य गाजामा भएको हवाई आक्रमणमा सात बालबालिका र नौ महिलासहित ३५ जनाको मृत्यु भएको अल अक्सा शहिद अस्पतालले जनाएको छ ।

अस्पतालले नुसीराट शिविरमा आक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढेको बताएको छ । अस्पतालका अनुसार धेरै शवहरू त्यहाँ ल्याइएको छ। यो क्षेत्रमा धेरै घरहरू भत्किएका कारण मृत्यु भएको र श्रब्यदृश्य (भिडियो)मा नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषबाट शवहरू निकालिरहेको देखाइएको छ।

उम मोहम्मद ताहा नामक महिलाले आइतबार उनकी पाँचवटा घरहरू भत्किएको र बहिनी सहित धेरै बच्चाहरू समेत भग्नावशेषमुनि दबिएको बताइन ।

“सात महिना अघि मेरो परिवारमा यस्तै भएको थियो,” उनले भनिन । आक्रमणले आफ्नी ६५ वर्षीया आमा र परिवारका अन्य सदस्यको ज्यान गएको उनले बताइन ।

“म घाइते छु, मेरो घर गयो, हामी बाँचेका छैनौं, हामी बिस्तारै मरिरहेका छौं, न्याय कहाँ छ?” उम मोहम्मद तबाले आक्रोश व्यक्त गरिन ।

त्यस्तै महमुद अबु बिलालले आक्रमण बिहान करिब ३ बजे भएको र चार वा पाँच परिवारका करिब २५ शव भग्नावशेषबाट निकालिएको सिएनएनलाई बताए । त्यस्तै गरि इजरायलको रक्षा बलले शनिबार दक्षिणी गाजामा भएको भिडन्तमा दुई इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।

रफाह क्षेत्रमा भएको विस्फोटमा दुई सैनिकको मृत्यु भएको छ भने एक अधिकारी र दुई अन्य सैनिकहरू गम्भीर घाइते भएका छन् ।

मारिएका सैनिकको नाम नाचमन मीर हाइम वाकनिन र नोआम बटान भएको आईडिएफले जनाएको छ । गाजामा हमास विरुद्धको भूमिगत आक्रमण र सीमामा सञ्चालन सुरु भएदेखि हालैको मृत्युले इजरायली सैनिकहरूको संख्या २ सय ८२ पुगेको छ।

प्रतिक्रिया