उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदीय छानबिन समिति बनाउन नपर्ने बताए

बेद प्रसाद घिमिरे २०८१ वैशाख २५ गते २१:३४ मा प्रकाशित

वैशाख २५ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले जिम्मेवार भएर प्रमुख प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताउनुभएको छ।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेतासँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो।

उहाँले देशमा धेरै बेथिति विसङ्गति रहेको भन्दै अब त्यसलाई अन्त्य गर्नका लागि सबै दलहरू मिल्नुपर्ने बताउनुभयो। उहाँले सरकार सहकारीको समस्या समाधान गर्न कटिबद्ध रहेको बताउनुभयो।

सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा बचतकर्ताको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता दिने निर्णय गरिसकेको बताउनुभयो।

उहाँले आगामी संसद्को बैठकमा सो निर्णयलाई प्रस्तावको रूपमा लैजाने तयारी रहेको बताउनुभयो। उहाँले सहकारीको रकम हिनामिनामा आफ्नो विरुद्ध कतैपनि मुद्दा दर्ता समेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए र राजीनामा दिने हो भने आफू तयार रहेको बताउनुभयो। उहाँले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गर्नुभयो।

गृहमन्त्री लामिछानेले उजुरी गयो भन्दैमा संसदमा हङ्गामा गर्न आवश्यक नरहेको पनि बताउनुभयो।

प्रतिक्रिया