जसपा उपेन्द्र यादव पक्षले अवैधानिक भनेपनि अशोक राई पक्षको निर्वाचन आयोगमा दल दर्ता भएको छ

बेद प्रसाद घिमिरे २०८१ वैशाख २४ गते २१:२२ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने बताएको छ ।

जसपा, नेपालका प्रवक्ता मनिष कुमार सुमनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र दलको बहुमत केन्द्रीय सदस्य पार्टीप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितीका व्यक्तिहरुले निर्वाचन आयोगमा अवैधानिक निवदेन दिएको आधारमा दल विभाजन हुन नसक्ने बताएको छ ।

जारी विज्ञप्तिमा लेखिएको छ, ‘‘दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितीका व्यक्तिहरु निर्वाचन आयोगमा गइ अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न हुन अनुरोध छ ।’’

निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । निर्वाचन आयोगमा जसपाका सात सांसद सहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो । आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो । सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए । ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित सङ्घीय कानुनका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जसपा) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने’, आयोगको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया