विविध कार्यक्रमका बीच नेजा स्थापना दिवस सम्पन्न

इनेप्लिज २०८१ वैशाख ११ गते २१:२४ मा प्रकाशित

नेजाको स्थापना दिवसमा बृहत् अन्तरक्रिया

उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना दिवसको अवसरमा ‘प्रवासको पत्रकारिता र नेजाको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नेजाको स्थापना दिवसको अवसरमा अनलाइन माध्यम (जुम) बाट आइतबार गरिएको अन्तरक्रियामा सहभागीहरूले नेपलिज डायस्पोरालाई जोड्न प्रवासको पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा यहाँ रहेका पत्रकारहरूले समयसापेक्ष पत्रकारितामार्फत आफ्नो प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिनुभयो । नेजाले आफ्नो प्रथम अधिवेशनको दिन, सन् २००७ को अप्रिल २१ र २२ गते भर्जिनियाको आर्लिङटन सहरमा भएको अधिवेशन, लाई आधार मान्दै अप्रिल २१ लाई ‘नेजा स्थापना दिवस’को रुपमा मनाउने निर्णय भएसँगै अप्रिल २१ लाई स्थापना दिवसको रुपमा कार्यान्वयन गर्दै स्थापना दिवस अमेरिकाभर विविध कार्यक्रमका साथ मनाएको हो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले उत्तर अमेरिकामा रहेका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्थापनकालदेखि नै नेपाली पत्रकारिताको विकासका लागि महत्त्वपूर्ण भूमिका निभाएको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघसँगको नेजाको सहकार्य निकै सराहनीय रहेको र विभिन्न समयमा अप्ठ्यारोमा परेका पत्रकारहरूलाई सहयोगका लागि आग्रह गर्दा नेजामा आबद्व पत्रकारहरूबाट मिलिरहेको सहयोग निकै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले महासंघ र नेजाबीचको सहकार्यमार्फत धेरै कार्य भइरहेको बताउँदै नेजा ग्रामीण पत्रकारिता पुरस्कार खासगरी नेपालको ग्रामीण क्षेत्रमा सक्रिय पत्रकारहरूका लागि प्राप्त गर्नु अहिलेको ठूलो उपलब्धि बनेको बताउनुभयो ।

महासंघका महासचिव पुरीले अहिले विभिन्न खालका प्रविधि र टुल्समार्फत विश्वमा पत्रकारिता अघि बढिरहेको परिप्रेक्ष्यमा नेपालमा समेत त्यसको प्रयोगलाई प्रभावकारी बनाउन नेजाले काम गर्न सकेमा त्यसबाट नेपालका पत्रकारहरूले लाभ लिन सक्नेमा जोड दिनुभयो । आगामी दिनमा समेत नेजासँगको सहकार्यलाई अझ फराकिलो बनाएर जाने सन्दर्भमा महासंघ सदैव सकारात्मक रहेको बताउँदै सबैमा नेजा स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

नेजाका उपाध्यक्ष सुजन पण्डितको स्वागत मन्तव्य रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाबाट वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले नेपाली डायस्पोराका निम्ति पत्रकारहरूले खेलिरहेको भूमिकाप्रति धन्यवाद दिँदै डायस्पोराभित्रका गलत प्रवृत्तिका विरुद्व अझ बढी कलम चलाउन आग्रहसमेत गर्नुभयो । बरिष्ठ उपाध्यक्ष उप्रेतीले नेजा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका बीचमा विगतदेखि नै सहकार्य रहँदै आएको बताउँदै थप सहकार्यका सम्भावनाको खोजी गरी अघि बढ्न सकिने उल्लेख गर्नुभयो ।

नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले संस्था स्थापनाका दिनहरू सम्झँदै सन् २००१ देखि यहाँ नेपाली पत्रकारहरूको सक्रियता रहे पनि सन् २००७ सालमा आएर सबै पत्रकार संगठित हुन सकिएको बताउनुभयो । नेजा स्थापनाको समयमा संस्थापकहरू समेतको सहभागिता रहेको अन्तरक्रियामा बोल्नुहुँदै संस्थापक अध्यक्ष पोखरेलले संघ स्थापना भएयताको यो अवधिमा नेपाली समुदायमा नेजाले राम्रो छाप छोड्न सकेको र अहिले नेपाली समुदायले नेजालाई निकै सम्मानित रुपबाट हेर्दा यसबाट आफूलाई राम्रै गरिएछ भन्ने लागेको बताउनुभयो । उहाँले हामी सबै मिलेर नेजाको साखलाई अझ बढाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।

यसैगरी, नेजाका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले नेजाले स्थापनादेखि नै नेपाली समुदाय, उत्तर अमेरिकामा सामुदायिक पत्रकारिता विकास र नेपालमा समेत पत्रकारिताको प्रवर्धनमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । पूर्वअध्यक्ष शेर्पाले आफू अध्यक्ष रहेको समयमा नेपाल पत्रकार महासंघसँग औपचारिक सम्झौतामार्फत महासंघ र नेजाका बीचमा सहकार्यलाई संस्थागत गरिएको स्मरण गर्नुहुँदै नेजा र महासंघबीचको सम्बन्ध निकै सुमधुर रहँदै आएको उल्लेख गर्नुभयो । पूर्वअध्यक्ष शेर्पाले नेजा र महासंघबीच विगतदेखि गरिँदै आइएको कार्यलाई निरन्तरता दिँदै थप कार्यक्रमका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै, नेजाका पूर्वअध्यक्ष भोला आचार्यले नेपाल अमेरिका पत्रकार संघ (नेजा) उत्तर अमेरिकी नेपलिज डायस्पोराको अभिन्न अंग जस्तै बनेको बताउँदै नेजाले गरेको योगदान र भूमिकालाई यहाँको समुदायले सकारात्मक ढंगबाट लिँदै आएको बताउनुभयो । पूर्वअध्यक्ष आचार्यले हामीले यहाँ गरिरहेको पत्रकारिता समुदायको हितका निम्ति महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै अब बिस्तारै सामुदायिक पत्रकारिता हुँदै व्यावसायिकतातर्फ पनि उन्मुख गराउनुपर्नेमा जोड दिनुभयो । नेपालमा विभिन्न समयमा अप्ठ्यारोमा पर्नुभएका पत्रकारहरूलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्दै जानुपर्ने उल्लेख गर्नुहुँदै आचार्यले विभिन्न समयमा सहयोग गरेका पत्रकार र उहाँका परिवारलाई भेटेर नेजाले उहाँहरूबाट प्रतिक्रिया लिनुपर्ने बताउनुभयो ।

यसैगरी नेजाका सल्लाहकार सञ्जय घिमिरेले हामीले अहिले गरिरहेको पत्रकारिताको मूल अर्थ ‘सेयर न्युज, केयर सोसाइटी’ भएकाले यसलाई जीवन्त राख्दै समयसँगै नेपलिज डायस्पोरा सक्षम हुँदै गएकाले खोजी पत्रकारिता, गुणात्मक पत्रकारिता र व्यावसायिक अनि मूलधारमा हाम्रो सहभागितालाई अगाडि बढाउन जोड दिनुपर्ने बताउनुभयो । यस्तै, नेजाकी सल्लाहकार मच्छेदेवी गुरुङले उत्तर अमेरिकामा रहेका पत्रकारहरूलाई संगठित गर्न र यहाँ पत्रकारितामार्फत नेपाली समुदायलाई योगदान गर्न नेजा सफल भएको बताउँदै आगामी दिनमा अझ हामीबीचको सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल सरकारका पर्यटन प्रवर्धकसमेत रहनुभएका नेजाका पूर्वक्षेत्रीय संयोजक गोकुल श्रेष्ठले नेपाल र नेपालीका लागि नेजा सम्बद्व पत्रकारहरूले खेलेको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा नेजाले अझ बढी रचनात्मक काम गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । यसैगरी, नेजा अनुशासन समिति संयोजक तथा एनआरएनए अमेरिकाका मिडिया संयोजक सतीश चापागाईंले शुभकामना मन्तव्यका क्रममा नेजा र एनआरएनएबीचको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउन पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका संस्थापक तथा पूर्वपदाधिकारीहरु किरण सिटौला, शिव विष्ट, शेखर ढुंगेल, चन्द्र खतिवडा, बिमल नेपाल, अंकुश नेपाल, विश्व थापा, सुशील न्यौपाने, कार्यसमितिका कोषाध्यक्ष जानु पंगेनी, क्षेत्रीय संयोजकहरू सिर्जना काफ्ले, शंकर थापा, सुपेन्द्र बस्नेत, रोशन अधिकारी, सदस्यहरू जीवन्त वाग्ले, रजेन्द्र केसीलगायतले बोल्नुहुँदै उत्तर अमेरिकामा रहनुभएका पत्रकारहरूको साझा संस्था नेजाले सबैलाई समेट्दै नेपाली डायस्पोराका लागि पत्रकारितामार्फत थप योगदान दिँदै जानुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, अप्रिल २१ आइतबार टेक्सासको डालस फोर्टवर्थ क्षेत्र वरपर रहेका पत्रकार/सञ्चारकर्मीहरूले भौतिक रुपमा शुभकामना आदान-प्रदान तथा अन्तरक्रिया गरी मनाएका छन् । संघका क्षेत्रीय संयोजक शंकर थापाको संयोजनमा अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भेला भएका पत्रकार तथा सञ्चारकर्मीहरूले गरिरहेको पत्रकारिता र अबको बाटोको सन्दर्भमा धारणा राख्नुभएको थियो । सो अवसरमा नेजाका सल्लाहकार सञ्जय घिमिरेले सामुदायिक पत्रकारिता र समाजको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी, संघका अध्यक्ष सुरज भण्डारीले सामुदायिक पत्रकारितामार्फत समुदायमा पत्रकारहरूले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो ।

संघका महासचिव बाबुराम दाहालको सञ्चालन, क्षेत्रीय संयोजक शंकर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपाध्यक्ष सुजन पण्डितले नेजा स्थापना दिवसको सन्दर्भमा धारणा राख्नुभएको थियो । कार्यक्रममा खोज पत्रकार प्रमोद आचार्य, प्रभात दीक्षित,नेजाका संस्थापक तारा रावल, अग्रज पत्रकार टीकाराम नेती, विमल बराल, भगवान खड्का, किसन रेग्मी, लेखनाथ गौतम, हरि सुवेदी, सन्तोषी अधिकारी, ओम आचार्य, दीपेन्द्र पोखरेल, अर्जुन न्यौपाने, गुन्जन भण्डारी, आशुतोष नेपाललगायतको सहभागिता रहेको थियो ।

यसैगरी, नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतको संयोजनमा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा त्यहाँ रहनुभएका पत्रकार एवं सामाजिक व्यक्तित्वबीच शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

नेजा स्थापना दिवसमा वृक्षरोपण

यसैगरी, अप्रिल २२ सोमबार टेक्सास राज्यको अर्भिङ सहरमा अवस्थित जेफरसन पार्कमा वृक्षरोपण गरिएको छ । अप्रिल २२, सोमबार पृथ्वी दिवसको दिन वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट टु-एक्सवान, डालस एभरेस्ट लायन्स क्लबसँगको सहकार्यमा टेक्सासको डालस फोर्टवर्थ क्षेत्रमा रहेका अन्य ९ ओटा क्लबले वृक्षरोपणमा सहकार्य गर्नुभएको थियो । वृक्षरोपणमा नेजाका सदस्यहरू र लायन्स क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।

डालस एभरेस्ट लायन्स क्लब नेपालीहरू संलग्न अमेरिकाको पहिलो क्लबसमेत हो । यस क्लबले बर्सेनी वृक्षरोपण गर्दै आएको छ । नेजाको स्थापना दिवसको अवसरमा नेजासँग सहकार्य गरेर वृक्षरोपण गरिएको क्लबका अध्यक्ष सूर्यनाथ भण्डारीले बताउनुभयो । सो अवसरमा सहभागी लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट टु-एक्सवानका इलेक्ट गर्भनर राधाकृष्ण काफ्लेले पत्रकारितामार्फत समुदायमा योगदान पुर्‍याइरहनुभएका पत्रकारहरूको साझा संस्था नेजासँगको सहकार्यमा लायन्सको सेवाको एउटा क्षेत्रभित्र पर्ने वातावरण र सरसफाइमध्ये पृथ्वी दिवसको दिन वृक्षरोपण गर्दा निकै खुसी लागेको बताउनुभयो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले वृक्षरोपण जस्तो रचनात्मक कार्यमा सहकार्य गर्नु र नेजाकै स्थापना दिवसको वृक्ष रोप्न पाउनुलाई सकारात्मक रुपमा लिँदै यस कार्यमा सहभागी हुँदै गर्दा पार्कमा हुर्किने वृक्षहरूले भविष्यमा उक्त पार्कमा जाँदा अपनत्वको समेत अनुभूति दिलाउने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा नेजा महासचिव बाबुराम दाहाल, नेजा मध्यक्षेत्रीय संयोजक शंकर थापा, नेजा पूर्व क्षेत्रीय संयोजक किसन रेग्मी, डालस बुद्व लायन्स, डालस डेन्टन नेपलिज लायन्स, डालस एभरेस्ट लियो क्लब, डालस हेल्थ लायन्स क्लब, डालस लुम्बिनी लायन्स, डालस पोखरा लायन्स, अर्भिङ एभरेस्ट सेन्टेनियल लायन्स, अर्भिङ आइएनडीपी लायन्स क्लब र प्लानो कोलिन्स लायन्स क्लबको सहभागिता रहेको थियो ।

प्रतिक्रिया