मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोकेको छैन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा

बेद प्रसाद घिमिरे २०८१ वैशाख १० गते २१:४४ मा प्रकाशित

वैशाख १० गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै सभापति देउवाले प्रश्न गर्नुभयो । मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ छ ।

उहाँले मदन भण्डारी आफूहरूको पनि नेता भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “हत्यारा पत्ता लगाउने काम किन गरिएन ?”

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको बताउनुभयो । सभापति देउवाले त्यसमा कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘कांग्रेसलाई गाली गर्नुभन्दा मदन भण्डारीको हत्यारा पत्ता लगाउनेतर्फ लाग्नुस् ।”

सभापति देउवाले नेपाली कांग्रेस सधैँभर देशको महत्त्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबिच संवाद, सहमति र सहकार्यको नीति लिँदैआएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउनुभयो । उहाँले संसदमा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरूलाई आग्रह गर्नुभयो

प्रतिक्रिया