अनमोल र प्रदीपले दिए ‘महाजात्रा’ लाई बधाई

इनेप्लिज २०८० चैत २४ गते १२:५९ मा प्रकाशित

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेर आक्रामक व्यापार गरिरहेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड पन्ध्र लाख ग्रस कलेक्सन गरेको खबर सार्वजनिक भएसँगै यसलाई फिल्मकर्मीले बधाई दिईरहेका छन् । यो वर्ष ‘जारी’ पछि सर्वाधिक कमाउने फिल्मको बनेको ‘महाजात्रा’ लाई अभिनेता अनमोल केसी, प्रदीप खड्का, पल शाह लगायतले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।

अनमोल र प्रदीपले यो समूहसँग कुनै फिल्ममा काम गरेका छैनन् भने पलले निर्देशक प्रदीप भट्टराईसँग ‘शत्रु गते’ मा काम गरेका थिए । अनमोल र प्रदीपसँग निर्देशक भट्टराईको सहकार्यको चर्चा चलेता पनि त्यसले पूर्णता पाउन सकेको छैन । प्राय सामाजिक विषयमा फिल्म तयार गरिरहेका निर्देशक भट्टराईसँग अहिले हरेक अभिनेता काम गर्न तयार छन् ।

फिल्मले पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन गरेको हो । तेस्रो सातामा प्रवेश गरेको फिल्म हेर्न दर्शकको भिडभाड हलमा देखिएको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ ।

भारत बाहेकको फिल्म वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, युरोप अन्तर्गतका देश, क्यानडा, जापान, दक्षिण कोरियामा आयोजित सम्पूर्ण शो सोल्ड आउट भएका छन् । मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया