‘महाजात्रा’ को बम्पर सुरुआत : नेपालसँगै विदेशमा हाउसफुल

इनेप्लिज २०८० चैत १० गते १०:२३ मा प्रकाशित

काठमाडौँ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकाँस शो हाउसफुल भएका छन् भने विदेशमा पनि सोही अवस्था छ । अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ ।

फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले पनि हेर्नुभएको छ । शुक्रबार बेलुकी काठमाडौँस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी हुँदै उहाँले फिल्म हेर्नुभएको हो । फिल्म हेरेपछि उहाँले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिनुभयो । पूर्व रानी शाहले संक्षिप्त प्रतिक्रिया दिदै भन्नुभयो,‘फिल्म रमाइलो बनेको छ । एकदम मनप¥यो । हामी सबैले रमाइलो ग¥यौ ।’
शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पुगेका थिए ।

दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको अभिनेता आचार्यले बताए । ‘हामी शनिवार पनि दर्शकसँग भेटिरहेका छौँ । प्रिमियर झैँ प्रतिक्रिया प्राप्त भईरहेका छन् । मनोरञ्जनसँगै हामीले दिएको संदेशलाई दर्शकले ग्रहण गर्नुभएको छ । हामी कृतज्ञ छौँ’, अभिनेता आचार्यले भने ।

निर्देशक भट्टराईले पहिलोदिन प्राप्त गरेको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘महाजात्रा नेपाल मात्र नभई विदेशमा पनि हाउसफुल भइरहेको छ । हामीलाई गर्नुभएको माया र विश्वासलाई हामीले जति धन्यवाद दिए पनि अपुग हुन्छ । हामीलाई दर्शकको विश्वासमा अडिग रहने चुनौती थियो । आज विश्वभरबाट प्राप्त प्रतिक्रियाले हाम्रो टिम नै उत्साहित छ’, निर्देशक भट्टराईले भने ।

कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले काठमाडौँ मात्र नभई दर्शकसँग भेटघाट गर्न मोफसल पनि पुग्ने जानकारी दिए । ‘हामीले पहिलो चरणमा काठमाडौँमा प्रचारप्रसार गरिरहेका छौँ । हामी छिट्टै नै मोफसलका दर्शकसँग पनि भेटघाट गर्दैछौँ’, अभिनेता बानियाँले भने ।

अभिनेता विपिन कार्कीले दर्शकले फिल्मका पात्रको सुखदुःखलाई पर्दा बाहिर पनि महसुश गरेको बताए । उनले भने,‘मसँगै जोएश र मुन्नाको सुखदुःखमा दर्शक पनि उस्तै भावमा पाएँ । पात्रसँग दर्शकलाई जोड्न सक्नु हाम्रो सफलता हो । मलाई मुख्य अभिनेता बनाउने जात्रा शृङ्खला मेरा लागि सधैँ खास छ । यो फिल्म हेर्दा समय र पैसाको सदुपयोग हुन्छ भन्नेमा विश्वस्त हुन् दर्शकलाई आग्रह गर्दछु’, अभिनेता कार्कीले भने ।

फिल्म युनिट शनिवार विहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको छ । दर्शकको चाँप हलमा बढेपछि प्रदर्शकले शो सङ्ख्या बढाएका छन् । शनिवारका अधिकाँस शो हाउसफुल भइसकेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले प्रदर्शक, वितरक, मिडियाले फिल्म प्रति गरेको विश्वास सफल भएको प्रतिक्रिया दिए ।

‘हामीले पाइरहेको माया र हामी माथि गर्नुभएको विश्वासलाई हामीले घट्न दिएनौँ । हलमा हामीले दर्शकको रुपमा परिवारलाई नै भेटेका छौँ’, निर्माता खत्रीले भने । यस्तै, ‘महाजात्रा’ टिमले आइतबार दरबारमार्गमा होली समेत खेल्दैछ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यस्तो छ शो समय

मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ७२ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ६ शो , सिभिल मलमा ६ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ८ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ शो, वुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, विर्तामोडमा ७ शो, विरगंजमा २, इटहरीमा ५ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ८ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ९ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ८ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ८ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ९ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा ५ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ७ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ८ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ९ शो र कालिमाटीमा ७ शो दिएको छ । यस्तै, बागबजारमा रहेको सिटी म्याक्स सिनेमाजमा ४ शो, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ८ शो, बानेश्वरमा रहेको आइएनआईमा ८ शो र बुटवलमा रहेको आइएनआइमा ८ शो दिएको छ ।

यस्तै, चितवनमा रहेको सिनेप्लेक्समा ६ शो, पोखरामा रहेको सिनेप्लेक्समा ७ शो, पोखरामा रहेको मिडटाउनमा ६ शो, सिमरामा रहेको केएसआर मुभिजमा ४ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा ३ शो, बुटवलमा रहेको भिउ सिनेमाजमा ६ शो, विराटनगरमा रहेको सिटी सिनेमामा ६ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा ४ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा ५ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा ३ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा ४ शो, बनेपामा रहेको शुभकामना हलमा ४ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा ५ शो, हेटौडामा रहेको एनएस सिनेमाजमा ३ शो, हेटौडामा रहेको ओम्याक्स सिनेमाजमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको कमल विनायक सिनेमाजमा ३ शो, पोखराको लामाचौरमा रहेको हिमाज सिनेमाजमा ३ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा ५ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ९ शो प्राप्त भएको छ । यस्तै, फिल्म विदेशका ४० देशको दुईसय ५० सहरमा चैत ९ देखि नै प्रदर्शन हुँदैछ ।

देशभर प्राप्त शो आफूहरू माथिको विश्वास रहेको निर्देशक तथा लेखक भट्टराईले बताए । उनले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । यसपटक हामीले मनोरञ्जनसँगै दर्शकलाई नेशनल इस्युलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।

प्रतिक्रिया