माननीय रामहरी खतिवडाले संसदीय समिति  माग गर्दा  सरकार भागेर हिँडेको आरोप लगाएका छन्

बेद प्रसाद घिमिरे २०८० चैत ७ गते १०:०८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति माग गर्दा सरकार भागेर हिँडेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सरकारले न्युनतम् साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो । विभिन्न आयोग पनि गठन गर्छु भन्ने उल्लेख गरिएको पाइयो । सहकारी ठगीको संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय पर्यो । जनतालाई ढाँट्ने काम नहोस्,’– नेता खतिवडाले भने ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि सरकारको गियर परिवर्तन गरेको भनी अभिव्यक्ति दिएको संसद्लाई स्मरण गराए । नेता खतिवडाले सरकारको एक्सिलेटर र इन्जिन नै काम नलाग्ने भइसकेको दाबी गर्दै गियर परिवर्तनले केही परिवर्तन नहुने बताए ।

‘केही दिनअघि प्रधानमन्त्रीज्यूले संसद्मा बोलेको सुनेँ– ‘सरकारको गियर परिवर्तन गर्नुपर्यो’ भन्नुभयो । एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने भएको सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभास हामीलाई भएको छ,’– उनले भने

प्रतिक्रिया