नेपाली कांग्रेसलाई पढाउन मन छ नौ मिनेट १८ सेकेन्ड गृहमन्त्री लामिछाने

बेद प्रसाद घिमिरे २०८० चैत २ गते २३:३३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सदनमा मौका पाउनेबित्तिकै आफूमाथि उठाइएको प्रश्नसहित ‘कांग्रेसलाई नौ मिनेट १८ सकेन्ड पढाउने इच्छा’ रहेको बता उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनका पक्षमा काम गर्दै जाने उल्लेख गरे । त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको ‘म्यान्डेट’को शक्तिमा काम गरिरहने उनले बताए ।

उनले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही गरिने र त्यसको प्रक्रिया आजैदेखि सुरु गरिएको पनि बताए ।

भित्र त संसद् बैठक कांग्रेसले अवरुद्ध गरेजस्तो देखिएको थियो । यहाँ आइपुग्दा हामीले गरेजस्तो देखियो । हामीले गरेनौँ । यो उहाँहरूलाई लागेको हो । केही छैन उहाँहरूले भन्नुभयो । संसद्‌मा विधेयक नै प्रस्तुत गर्न नदिने, कानुन नै बनाउन नदिने भने त के गर्न सकिन्छ र । जवाफ दिनका लागि तयार नै छु । जवाफ सुनेपछि उहाँहरू बेहोस हुने हो कि थाहा छैन । कानुन बनाउने प्रक्रिया त रोक्नु भएन नि । कुन कुरा सडकमा गर्ने, कुन कुरा सदनमा गर्ने भन्ने कुरा नेपाली कांग्रेसजस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ ? हामी पढाउँदैनौँ । कांग्रेसले आफैँ पढोस् । डेढ वर्षअघि आएको पार्टीले यो सिकियो । हामीले सदन चल्न दियौँ । प्रश्न सोध्यौँ, प्रश्नको जवाफ चाहिन्छ भन्यौँ । हामीले आफ्नो काम गर्‍यौँ । हामीले सदन नचलेको दिनमा सदन चल्नुपर्छ भन्यौँ । सदन नचलेको दिनको पैसा लिँदैन भन्यौँ । बिर्सिनुभयो र तपाईंहरूले यति चाँडै ? रास्वपाले भनेको मुद्दाहरू अहिले उठाइएको छ । विश्वविद्यालयमा राजनीतिक हुनु हुँदैन भनेर भन्थ्यौँ । उहाँहरू त्यही भन्न थाल्नुभयो । अब मेरिटको आधारमा हुनुपर्छ भन्यौँ, त्यही भन्न थाल्नुभयो । चुनावमा टिकट खल्तीबाट बाँड्ने होइन, प्राइमरी गर्नुपर्छ भन्यौँ । प्राइमरी भन्न थाल्नुभयो । सबै त रास्वपाको भन्न थाल्नुभएको छ । यसमा मैले जवाफ दिन पाऊँ भनेको छु । सभामुखले रुलिङ गर्नुभयो भने गृहमन्त्रीका रूपमा ममाथि उठेका प्रश्नहरूको जवाफ दिने त होला नि सदनमा त । बन्द गर्ने, चल्न नदिने भन्ने त्यो कसैको अधिकारको कुरा पनि होला । म त्यो अधिकारको सम्मान पनि गर्छु । लोकतन्त्रमा, संसदीय अभ्यासमा त्यो पनि एउटा अधिकार हो । तर, कानुन नै पास गर्न नदिने भन्ने तहको कुराचाहिँ राम्रो होइन । अब प्रधानमन्त्रीले जवाफ दिने भन्ने तय भएको छ । सभामुखले रुलिङ गरिसक्नुभएको छ । ६ गते प्रधानमन्त्रीले जवाफ दिँदै हुनुहुन्छ । अब मलाई सभामुखले रुलिङ भएको एक छिनमा, नौ मिनेट १८ सेकेन्डमा यो सबै कुरा क्लियर गरिदिन्छु । यो अवरुद्ध पार्ने काम गलत हो । कानुन पास गर्नुपर्छ भन्ने कुरा हो । मलाई लाग्छ, एउता कुरामा अडिरहनु हुँदैन । त्यसका लागि प्रक्रिया छ नि त । जवाफ दिन तयार छु । सभामुखको रुलिङको प्रतीक्षा गरिरहेको छु । प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गरिसक्नुभएको छ । अब यत्रा चिजहरू छन । यही एउटा चिज मात्र कांग्रेसले पाएको भए कांग्रेसलाई गफ गर्ने चिजहरू आज बेलुकाबाट पनि आउँछ । सुन तस्करीको विषयमा प्रतिपक्षमा हँुँदाखेरिदेखि नै उठाएको विषय यहाँहरूलाई अवगत नै छ । यो त्यतिखेर बनेको एउटा आयोग हो । त्यो आयोगले प्रतिवेदन बुझाएको छ । बुझाएको प्रतिवेदनमा मेरो हात पर्र्नेबित्तिकै त्यसलाई अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाएर र प्रधानमन्त्रीले गो अ हेड जे छ त्यही भनिसकेपछि त्यससम्बन्धी कुरा अगाडि बढेको छ । कहीँ कतै कसैसँग कुनै कम्प्रमाइज हुँदैन । आयोगले दिएको प्रतिवेदनमा भएका विषयवस्तुमा टेकेर रिइन्भेस्टिगेसन हुन्छ । जजसलाई उन्मुक्ति दिन खोजिएको छ, उन्मुक्ति दिनेहरूमाथि पनि कारबाही हुन्छ । उन्मुक्ति पाएकाहरूले केही समय रमाए होलान् । कोही रमाउन पाउँदैन । कोही छुट्दैन । कहीँ कसैले प्रभावित पारेको छ भने त्यसलाई निर्ममतापूर्वक घेरिनेछ । म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन । तर, मेरा लागि आजको दिन अन्तिम दिन हो भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिबद्ध भएर आएको छु, केही गरौँ भनेर, केही राम्रो काम गरौँ भनेर । सुशासनको प्रत्याभूति दिऊँ भनेर आएको हुनाले त्यसमा मलाई केही पनि भन्नु छैन । निर्मम ढंगले प्रतिवेदनले दिएका विषयहरूमा हामी कारबाहीको प्रक्रिया अघि बढाउँछौँ । आजैबाट सुरु हुन्छ । कांग्रेसले जवाफ पाइरहन्छ । हामी सुशासनको पक्षमा बोलिरहन्छौँ । उहाँहरू फेरि गृहमन्त्री राजीनामा दे भन्नुहुन्छ । हामी गृह मन्त्रालयको तर्फबाट राम्रो कामहरू, नागरिकको पक्षमा काम गरिरहन्छौँ । कांग्रेसको नारा फेरि चर्को होला । राजीनामा दे, दे कि दे भन्ने होला । म आफ्नो काम गरिरहन्छु । नेपाली जनताले म्यान्डेट दिएर पठाएका हुन् । मलाई यो शक्ति नेपाली जनताले दिएको हो । मैले प्राप्त गरेको यो शक्ति म नेपाली जनतालाई ब्याजसहित फिर्ता गर्न आएको हो । कति दिन हुन्छु मलाई थाहा छैन । जति दिन हुन्छु, डटेर नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु । अब मैले संसद्‌मा समय पाएपछि नेपाली कांग्रेसले उठाएको कुरा के रहेछ, त्यसको वास्तविकता के रहेछ ? म राम्रोसँग बताइदिन्छु । अनुसन्धानमा कुनै प्रभाव हुन दिन्नँ । कसैसँग सम्झौता हुँदैन । सुशासनको कुरामा यो, ऊ, सानो माछा होस्, भ्यागुता होस्, त्यसमा कुनै पनि किसिमको कम्प्रमाइज हुँदैन । त्यसकारणले हामी त्यसमा लागिपरेका छौँ । बाँकी मलाई विश्वास छ, कांग्रेसजस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत गर्न नदिने भनेजस्तो कुरालाई निरन्तरता दिने छैन । र, के विषय उठाएको छ, त्यसको मेरिट के हो, त्यो कहाँ उठिएको छ, त्यो के हो, कस्तो उजुरी हो ? कसले गराएको हो, कहाँ छ, के छ ? त्यति कुराचाहिँ एकपटक सदनमा मौका पाएँ भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ, नौ मिनेट १८ सेकेन्डमा ।

प्रतिक्रिया