दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्डको फारम खुल्यो  

इनेप्लिज २०८० फागुन ३० गते २१:५२ मा प्रकाशित

काठमाडौं, ३० फागुन

‘दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८१’ हुने भएको छ । पहिलो अवार्डको सफलतापछि यो दोश्रो सिजनको अवार्ड आयोजना गर्न लागिएको हो । आयोजक टिमले यो अवार्डको तयारी सुरु भएको जनाएको छ ।

अवार्डको लागि बुधबारबाटै फारम खुला गरिएको छ । यो अवार्डको लागि आयोजक पक्षसँग सम्पर्क गरेर फारम लिने सकिने छ । एउटा फारमको शुल्क १ हजार रुपैयाँ लाग्ने छ । यो अवार्डका लागि आदिबासी जनजाति तथा गैर आदिबासीसमेतले तयार गरेको गीत संगीत तथा चलचित्रले आवेदन दिन सक्ने छ । तर सम्बन्धित चलचित्र तथा गीत संगीतले आदिबासी जनजातिको संस्कृति समेटेको हुनुपर्नेछ । अवार्डको आयोजना आगामी जेठको पहिलो साता आयोजना गरिने भएको छ ।

यो अवार्डमा २०७९ चैत देखि २०८० चैत मसान्तसम्म प्रकाशित गीत–संगीत तथा चलचित्रका कलाकार, प्राविधिक र सम्बन्धित विधाले यो अवार्डमा सहभागी हुन पाउने पनि अध्यक्ष गुरुङले बताएका छन् । बिगत झैं यसपटक पनि आदिबासी जनजाति गीत संगीत र चलचित्रलाई लक्षित गरेर यो अवार्ड आयोजना गर्न लागिएको आयोजक टिमका अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

यो अवार्डका लागि सहभागी हुन चाहनेहरुका लागि बुधबारबाटै फारम खुला गरिएको पनि आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् । अध्यक्ष गुरुङका अनुसार गीत–सङ्गीत तथा चलचित्र दुबैतर्फ गुरुङ, मगर, थकाली, थारु, नेवारी, तामाङ, दुरा, राई÷सुनुवार, मैथिली, लिम्बू, भोजपुरी, अवधी लगायतका आदिबासी–जनजातिहरुले आफ्नो मातृभाषा तथा सम्बन्धि जातको संस्कृति समेटिएर नेपाली भाषामा रेकर्ड भएका गीत–सङ्गीतबाट र उल्लेखित भाषामा निर्माण भएका चलचित्रबाट आ–आफ्नो विधामा फारम भर्न सक्ने छन् ।

यसैगरी यो अवार्डका लागि गीत–सङ्गीततर्फ गीत, गायक, गायिका, नव गायक÷गायिका, गीतकार, संगीत संयोजक, सङ्गीतकार, म्युजिक भिडियो निर्देशक, नव मोडल पुरुष÷महिला, छायाकार, सम्पादक, शृङ्गार, भेषभूषा, मिक्सिङ र वाद्यवादनलगायतका विविध विधा एवं चलचित्रतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, सङ्गीत संयोजक, सङ्गीतकार, गीतकार, गायक/गायिका, छायाकार, सम्पादक, पाश्र्व संगीतकार, सृँगार, भेषभूषा, रँग सँयोजन जस्ता विधाका सर्जक, कलाकार र प्राविधिकहरुले अवार्ड प्रतिस्पर्धाका लागि फारम भर्न सक्ने छन् ।

प्रतिक्रिया