पर्यटकीय सम्भावना बोकेको जिल्ला कन्चनपुरः यात्रा स्मरण

बिनोद पोख्रेल तुल्सिपुर उपमहानगर पालिका -१८ बिजौरी दाङ २०८० फागुन १७ गते १२:३२ मा प्रकाशित

यात्राहरू रोमाञ्चित हुन्छन् तर धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्दा ती यात्राहरू आनन्ददायी बन्छन्। यात्रामा कैयौँ कठिनाइहरू पनि मिसिएका हुन्छन् तर सुन्दर र आकर्षक गन्तव्यहरूमा पुग्दा सबै कठिनाइहरू बिर्सिएर सुखद अनुभूतिहरू मात्र सम्झनामा रहिरहन्छन्। यस्तै छोटो भ्रमणको सन्दर्भमा देशकै पश्चिम किनारा महेन्द्रनगर पुगेर फर्कँदा त्यस क्षेत्रमा रहेका केही आकर्षक क्षेत्रहरूको भ्रमण सधैँ मानस पटलमा ताजा भएर बस्दो रहेछ। जाडोको महिना बिहान भर बाक्लो हुस्सुमा घुमघाम त्यति सहज हुँदैन भन्ने जान्दा जान्दै हामी पाँच दिने भ्रमणमा महेन्द्रनगर निस्केका थियौ। भ्रमण नितान्त पारिवारिक थियो र भेटघाट नै मुख्य उद्देश्य थियो तर हामीले समयको उपयोग गरेर त्यस क्षेत्रका केही धार्मिक, सांस्कृतिक तथा अन्य महत्त्वपूर्ण पर्यटकीय स्थानहरू भ्रमण गर्ने निश्चय गरेका थियौँ।

स्वाभाविक रूपमा धेरै यात्राहरू कठिन हुन्छन् पट्यार लाग्दा पनि हुन्छन्। छोटो बाटो, थोरै समयमा पुगिने दुरी लामो बाटो बाट तय गर्दा झनै असहजता महसुस हुन्छ। यातायात व्याबसायीहरुले यात्रुको सेवालाई भन्दा आफ्नो निजी स्वार्थलाई महत्त्व दिन्छन्। करिब ३१० किमी ६-७ घंन्टामा पुगिने तुल्सिपुर-महेन्द्रनगर यात्रामा घोराही लमही घुमेर जाँदा यात्रु बाहकलाई त केही फाइदा होला तर यात्रुलाई महँगो भाडा र समयको बर्बादी मात्र हो। अहिलेको समय विशेष गरी दाङमा हवाई यातायात नियमित नहुँदा यहाँ बाट बाहिर जाने यात्रुहरूले आवश्यकता हेरेर थप पैसा तिरेर भए पनि सुविधाजनक यात्राको खोजीमा देखिन्छन्। यस तर्फ यातायात व्याबसायीहरुले ध्यान आकृष्ट हुनै पर्छ। हामी पनि दाङ- महेन्द्र नगर यात्रा दाङको बिजौरी देखी घोराही लमही हुँदै करिब ३६० किमीको दुरी करिब ११ घण्टा लगाएर महेन्द्र नगर पुगेको थियौ। यात्रामा दाङ देखि म, मेरो भाउजू गङ्गादेवी थियौ भने काठमाडौँ बाट श्रीमती शिला धनगढी हुँदै महेन्द्रनगर पुगेकी थिइन। हाम्रो वासस्थान महेन्द्रनगर बस्दै गरेकी हाम्री छोरी भावनाको घरमा थियो।

६० वर्ष पुरा हुँदा र नेपालगन्जमा कलेज पढ्दा समेत म कोहलपुर पश्चिमको यात्रा गर्ने अवसर मलाई जुरेको थिएन। यो मेरो सुदूर पश्चिम भ्रमणको पहिलो अवसर थियो र अवसरलाई पूर्ण उपयोग गर्ने मेरो मनसाय थियो। जाडोको समय बिहान हुस्सु लागे पनि हामी हाम्रो भ्रमणको पहिलो गन्तव्य कञ्चनपुर जिल्लामा रहेको बेदकोट ताल रहेको थियो। बेदकोट ताल कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगर देखि करिब २० किलोमिटर टाढा तथा पूर्वपश्चिम महेन्द्र राजमार्गको दैजी चौराहाबाट करिब १३ किलोमिटर उत्तर पूर्व बेदकोट न.पा. वार्ड न. ३ चुरे पहाडमा अवस्थित रहेको छ। कञ्चनपुर जिल्ला कै धार्मिक, पर्यटकीय, पुरातात्त्विक हिसाबले ऐतिहासिक धरोहरको रूपमा रहेको बेदकोट क्षेत्र प्राकृतिक रूपले सौन्दर्य सम्पन्न भए पनि राज्य को दृष्टि नपुगी ओझेल मा परेको देखिन्छ। समुद्र सतह देखि झन्डै ३ सय मिटर उचाइमा रहेको यो ताल को क्षेत्रफल ५८० मिटर लम्बाई र २६० मिटर चौडाइ र तालको गहिराइ ५२ फिट रहेको छ , बेदकोट ताल सुदूरपश्चिम कै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा परिचित रहेको छ।

प्राकृतिक सौन्दर्ययताले भरिपूर्ण, मनमोहक, रमणीय, अलौकिक शक्ति बोकेको बेतकोट तालको महिमा ऐतिहासिक मात्र नभएर पौराणिक कालसँगै जोडिएको छ। परापूर्व कालमा पाँच पाण्डवको एक बर्से गुप्त बासको क्रममा पाण्डवले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको र गुप्त बासको क्रममा पाण्डवहरूले आफूले पानी पिउनको लागी पोखरी निर्माण गरेको र सोही पोखरी पछि ताल बन्न गएको भन्ने किम्बदन्ती रहेको छ। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा परिचित बेदकोट तालको विशेषता अन्य ताल भन्दा फरक छ । तालको वरपर रुखै रुख छन्, तर तालमा अहिलेसम्म कहिल्यै पात झरेको देखिदैन् । देवी देउताको शक्तिले तालमा पात नपरेको स्थानीयहरूको विश्वास छ ।

यो क्षेत्र प्राचीनकामा ऋषिमुनिको तपो भूमिको रूपमा रहेको मानिन्छ। यहाँ पुरातात्त्विक अवस्थाका वैद्यनाथ र सिद्धनाथ स्तम्भ पनि देख्न सकिन्छ। तालमा अनेक प्रकार का माछा भएता पनि ताल को माछा कसैले पनि मार्ने गरेका छैनन् र यहाँ नौका बिहार पनि गर्ने गरिँदैन। बेदकोट क्षेत्र सहरको कोलाहलबाट टाढा रहेकाले एकान्तमा आनन्दमय समय बिताउन चाहनेका लागि गतिलो गन्तव्यका रूपमा विकसित हुँदै गएको देखिन्छ। यहाँ कञ्चनपुरको महेन्द्रनगर, धनगढी, नेपालगन्ज, कोहलपुर, बर्दिया, बाँके, पहाडी जिल्ला डडेलधुरा, दार्चुला ,बैतडी, डोटी तथा भारतको सीमावर्ती सहर बनवासा, चम्पावत, असाम, टनकपुर, खटिमा लगायतका सहरबाट बर्सेनि यहाँ हजारौँ स्थानीय पर्यटकहरू भ्रमण देखि छायाँङकन गर्न यहाँ पुग्छन् । राज्यको यस तर्फ ध्यान आकृष्ट भए यो क्षेत्र सुदूर पश्चिमको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र बन्न सक्ने हामीले महसुस गर्‍यौ।

हाम्रो दोस्रो गन्तव्य थियो लिङ्गाधाम। पूर्वपश्चिम महेन्द्रराजमार्गको बेदकोट नगरपालिकाको दैजी चौराहाबाट करिब ९-१० किलोमिटर उत्तर जाँदा लिङ्गाधाम पुग्न सकिन्छ। यहाँ विशेष गरी चुरे पर्वतको फेदी तथा खोला किनारामा बनेका सुन्दर आकृतिहरूलाई हेर्न पर्यटकहरू यहाँ आउने गर्दछन्। शिवलिंगको स्वरूप जस्तै देखिने पहाडका डाँडा भएकोले यसलाई लिङ्गा भनिएको हो। भगवानको स्वरूप जस्तो देखिने यी शिवलिंग आकृतिहरूलाई शिवको स्वरूप मानेर पूजा आजा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू यहाँ आउने गरेका छन्। यहाँ सिद्धि शिव लिङ्ग बाबाको मन्दिर समेत रहेको छ जहाँ विगत बाह्र वर्ष देखि अखण्ड धुनी जली रहेको छ। यहाँ असोजमा नवरात्रीको दिनमा मेला लाग्ने र मन्दिरमा झनै भिड लाग्ने रहेछ।बनजंगलको बिचमा रहेको यो लिङ्गे धाममा राज्यको नजर पुगे एउटा राम्रो पर्यटकीय स्थलको रूपमा विकास हुन सक्ने सम्भावना देखिन्छ।

हाम्रो तेस्रो गन्तव्यको रूपमा रहेको थियो नेपालको राजनैतिक रूपमा निकै चर्चित टनकपुर बाध तथा ब्रह्मदेव क्षेत्रको भ्रमण। कञ्चनपुर जिल्ला महेन्द्रनगर बजारबाट करिब २०किमी उत्तर तर्फको दुरीमा रहेको ब्रह्मदेव क्षेत्र धार्मिक क्षेत्रको रूपमा मानिन्छ। यहाँ सिद्धनाथ बाबाको मन्दिर समेत रहेको छ। नजिकै रहेको भारतको पुर्णागिरी मन्दिरको दर्शन गरे पछि यहाँ रहेको सिद्धनाथ बाबाको दर्शन गर्नु पर्ने धार्मिक मान्यता अनुरूप पुर्णागिरी जाने अधिकांश धार्मिक पर्यटकहरू यहाँ दर्शनार्थ आउने गर्छन्।यस क्षेत्रमै नेपालको राजनैतिक ऐतिहासिक महत्त्व बोकेको टनकपुर बाध पनि रहेको छ। यस क्षेत्रमा रहेको टनकपुर बाधको बाटो खुल्ला गरेर महेन्द्र नगर देखि यहाँ सम्म राम्रो सडक सञ्जाल निर्माण गरी बजार व्यवस्थित गरे यहाँ पनि भारतीय धार्मिक तथा अन्य पर्यटकहरूको आकर्षण बढ्ने देखिन्छ। चैते दसैँमा यहाँ विशेष मेला लाग्ने गर्दछ। पटक पटक विवाद भइरहने टनकपुर बाँध तथा सो भन्दा केही भाग पूर्व नदी वारी समेत भारतले आफ्नो भनेर नेपाल भारत सीमा स्तम्भ (नं ८०७) गाडिएको भ्रमणको क्रममा देखियो। यस क्षेत्रमा महाकाली नदी नै भारत तर्फ पर्ने रहेछ। यस नाकालाई धार्मिक नाकाको रूपमा विकास गर्न सकिने स्थानीयहरूको भनाई रहेको छ।

हाम्रो चौथो गन्तव्य महाकाली पारीको गाउँ भने चिनिने कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनी जाने नयाँ पक्की पुल तथा झोलुङ्गे रहेको थियो।महेन्द्र नगर बजार देखि १४-१५ किमीको दुरीमा रहेको दोधारा चाँदनी पुल पारि गएरै दृश्यावलोकन गर्ने हाम्रो चाहना थियो। हामी त्यसै गरी गड्ढा चौकी देखी भर्खरै बनेको नयाँ सडक जसलाई भाइरल रोड भनिने रहेछ, हुँदै हामी महाकाली नदिमा निर्मित नयाँ पुल पार गरेर दोधारा चाँदनी क्षेत्र पुगेका थियौ। करिब डेड किमी लामो दोधारा चाँदनी झोलुङ्गे पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो। यो पुलले कञ्चनपुर जिल्लाको दोधारा चाँदनी र भीमदत्त नगरपालिका लाई जोडेको छ । दक्षिण एसियाकै दोस्रो लामो पुलको रूपमा चिनिने यस पुलले महाकाली पारी रहेको नगरपालिका लाई महेन्द्रनगर बजार सँग जोडने काम गर्नुका साथै यस क्षेत्रको सौन्दर्य बढाएको छ। बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यो पुल जिल्ला भरिकै पर्यटकीय आकर्षण केन्द्रको रूपमा रहँदै आएको छ। बाहिरबाट आउने पर्यटकहरूका लागि उचित बसोबासका लागि राम्रा होटेलहरू तथा मनोरञ्जन गर्ने स्थान अभावको कारण अपेक्षा गरिए अनुसार पर्यटकहरू त्यहाँसम्म पुग्न सकिरहेका छैनन्।

हामी समयाभावले पुग्न नसके पनि कञ्चनपुर जिल्लाको एउटा आकर्षक पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, बाह्रसिङ्गे, हात्ती, गैँडा लगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा भित्र आधा दर्जन बढी तालहरू छन्। १० हेक्टर क्षेत्रफलमा फैलिएको तारा ताल चरा सँगै मगर गोहीको वासस्थान पनि हो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष जङ्गल सफारीका लागि उत्कृष्ट गन्तव्य स्थल हो । यस बाहेक महेन्द्र नगर बजारमा रहेको सिद्ध बाबाको मन्दिरमा पूर्णा गिरीको दर्श नगरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुइँचो लाग्ने देखियो। यसै गरी यहाँ हेर्नै पर्ने स्थानमा मद्ये तिलमिलिया ताल, विष्णु मन्दिर, बजैनाथ मन्दिर, कलपटे मन्दिर, भम्केनी धाम लगायतका पर्यटकको मनै लोभ्याउने ठाउँहरू कञ्चनपुरमा रहेका छन्।

नेपालको सुदूर पश्चिमको जिल्ला भए पनि यहाँ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थानहरू प्रशस्त रहेका छन्। यहाँका स्थानीय व्यक्तिहरूले पनि धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरूलाई विश्वासका साथ अझै बढी महत्त्व दिएको हामीले भ्रमणको क्रममा महसुस गर्‍यौ।अन्तमा हाम्रो यो छोटो भ्रमणमा साथ तथा सत्कार दिने छोरी भावना दाहाल, जुवाइँ टिका दहाल, नातिनी रक्षा दहाल, भाउजू गङ्गादेवी मजगैंया, तथा मेरी श्रीमती शिला पोख्रेल पनि धन्यवाद दिन चाहन्छु। यात्रा संस्मरण एउटा यात्रा फेहरिस्त विवरण मात्र होइन यो एउटा पर्यटकीय गन्तव्यहरूको जानकारी तथा प्रवर्धन पनि हो र सन्ततिको लागी एउटा इतिहास पनि हो। हरेकले आफ्ना स्मरण योग्य यात्रालाई शब्दमा सङ्ग्रह गरेर राख्न सुझाव समेत दिन चाहन्छु ।

( उल्लेखित तत्थ्यहरु अध्ययन, प्रत्यक्ष अवलोकन तथा विभिन्न पत्रिकाबाट साभार गरिएको हो)

प्रतिक्रिया