गगनसिंह थापा स्मृति कपः एकता र शम्भु सुनन्दा फाइनल प्रवेश

इनेप्लिज २०८० फागुन ३ गते २३:२९ मा प्रकाशित

कैलालीको जानकी गाउँपालिकामा सञ्चालन भइरहेको गगनसिंह थापा स्मृति कप फुटबल प्रतियोगिता २०८० को फाइनलमा एकता युवा क्लब खैरीफाँटा र शम्भु सुनन्दा युवा क्लब प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल जानकी गाउँ समितिको आयोजनामा भइरहेको प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलबाट विजेता एकता र शम्भु सुनन्दा फाइनलमा प्रवेश गरेका हुन् ।

माघ २९ गतेदेखि शुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेकोमा आज सम्पन्न सेमिफाइनलमा आयोजक समूह बीलाई पराजित गर्दै एकता फाइनल प्रवेश गरेको हो ।

त्यस्तै युथ अफ टीकापुरलाई पराजित गर्दै शम्भु सुनन्दाले फाइनलमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक भएका सेमिफाइनलमा दुबै खेल टाइब्रेकरमा पुगेका थिए ।

एकताले आयोजकलाई ४-३ र शम्भु सुनन्दाले टीकापुरलाई ५-४ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएका हुन् ।

नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य एवं वरिष्ठ साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा तरुण दल जानकी गाउँ समितिले प्रतियोगिता आयोजना गरेको हो ।

तरुण दल जानकीका अध्यक्ष निराजन बिक्रम शाहले दिएको जानकारी अनुसार १ लाख १ हजार नगद पुरस्कार रहेको प्रतियोगिताको फाइनल खेल ५ गते सुवणर्पुरमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार पुरस्कार र द्धितीय हुने टिमले ५१ हजार नगद सहित पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक गगन फाउण्डेशन रहेको शाहले जानकारी दिए ।

प्रतिक्रिया