कुनै समय बलियो मित्रताको उदाहरण बनेका दुई नाम हुन्- नायक पल शाह र गायक तथा मोडल दुर्गेश थापा । पल र दुर्गेश साथीभन्दा पनि आफूहरुलाई दाजुभाइ भन्न रुचाउँथे । पलकी बहिनी रोशनी शाहले दुर्गेशलाई तिहारमा भाइटीका लगाइदिन्थिन् ।
अधिकतम ठाउँमा सँगै भेटिने यी दुईको मित्रताको बयान गरी नसक्नु थियो । कसैले यी दुई छुट्छन् भन्ने सायदै कल्पना गरेका थिए होला । तर, पल-समीक्षाको घटनापछि भने माहोल बदलियो । अहिले यी दुई एक अर्काको नजिक नै पर्दैनन् ।
दुर्गेशले समीक्षासँग मिलेर आफूलाई फसाउन खाजेको पलले आरोप लगाएका थिए । बलात्कार मुद्दामा एक वर्ष जेल सजाय कटाएपछि उनले जिल्ला अदालतबाट सफाइ पाए । पल जेलभित्र हुँदा दुर्गेश उनलाई भेट्न गएका पनि थिए । उनीहरुको सो समय राम्रै कुराकानी भएको दुर्गेश बताउँछन् । तर, पल जेलबाट निस्किएपछि आफूलाई ‘इग्नोर’ गर्न खोजेको दुर्गेशको गुनासो छ ।
यसैबीच दुर्गेशले हालै एउटा नमीठो घटना भोगे । स्याङ्जामा चलिरहेको महोत्सवमा प्रस्तुति दिने क्रममा उनीमाथि जुत्ता प्रहार भयो । शनिबार राति २७ वर्षीय युवकले उनलाई जुत्ता प्रहार गरेका थिए । कार्यक्रम सकिएपछि दुईबीच मिलापत्र पनि भयो । मिलापत्र गर्दा ती युवकले दुर्गेशमाथि जानीजानी जुत्ता प्रहार नगरेको दाबी गरेका थिए ।
प्रतिक्रिया